• २०७८ कार्तिक ९, मङ्लबार
  • |
  • Tuesday 26th October 2021
  • डेटिङ्ग र लैङ्गिक सम्बन्ध

    ८ चैत्र २०७३, मंगलवार १५:२३

    -कमलतारा बज्राचार्य

    किशोरावस्था शुरुभएदेखि विपरित लिङ्ग प्रति आकर्षण बढ्नु, नजिक हुनु र एकअर्काले मन पराएमा प्रेम सम्बन्ध कायम राख्नु स्वभाविकै हो । त्यसैको कारणले उनीहरु बीच यौन क्रियाकलाप गर्ने इच्छा जाग्रित हुनुलाई पनि सामान्य मान्नुपर्दछ । प्रेमका अनेकौं भावनाहरु अभिव्यक्त गर्न र आपसमा मनोरञ्जनका लागि समय विताउन तथा घुम्न जानेगरेको देखिन्छ । यसरी गरिने भेटघाट वा घुमघामलाई अहिलेको प्रचलित शब्दमा डेटिङ्ग भन्ने गरिएको हो ।

    के हुन्छ डेटिमा ?

    राम्रा विचारका मानिसहरुका लागि डेटिङमा धेरै रमाइलो आनन्दको हुन्छ । तर, हाम्रो समाज पुरुष प्रधान भएको कारणले पनि महिलाहरुको लागि डेटिङ्ग बढी जोखिम हुनेगरेकोछ । परिवारले छोरीको लागि डेटिङ्ग जान बर्जित गरिदिएको हुन्छ । अभिभावकको लागि मात्रै होइन दाजुभाइहरु पनि आफु कोहि केटीसाथीसँग डेटिङ्गमा जान्छन तर आफ्नो दिदीबहिनीहरु चाहिं डेटिङ्गमा जाने कुरा मनपराउँदैनन । गएमा तनाव खप्नुपरेको हुन्छ ।

    युवाकिशोरकिशोरीहरु बीच साथी बनाउँनु र डेटिङ्गमा जानु सामान्य बन्दैआएको भएतापनि डेटिङ्ग प्रति नकारात्मक धारणा राख्नेहरु नै समाजमा धेरै छन । जस्तैस् कोहि केटी आफ्नो दाजुभाईसँग वा केटा कोहि दिदीबहिनी अथवा नातेदारसँग हिँडेका नै किन नहाउन देख्नेहरु डेटिङ्गमा गएको शंका गर्ने वा चर्चा गर्नेहरु प्रसस्तै हुन्छन । केटालाइ भन्दा केटीलाइ बढी दोषि देख्ने गर्दछन । डेटिङ्गको दौरानमा यदि कुनै घटना पनि भइहाल्यो भने त्यस उपर पनि केटीलाइ नै बढि दोषी देख्ने र नराम्रो व्यवहार गर्ने समाजको सोचाइ अझै देखिदैअएको छ । यसरी परिवार, आफन्त र समाजले दोष लगाउँने वा अनावश्यक चियोचर्चो गर्ने हुनाले युवाकिशोरकिशोरीहरु मायाँ प्रितीको अभिव्यक्तिका खातिर डेटिङ्गमा जाँदा आफन्तबाट सुरक्षित हुन एकान्त र टढाको असुरक्षित ठाउँमा पुगेका हुन्छन । त्यहि कारण कसै कसैका लागि कुनैपनि बेला आफुले विश्वास गरेको केटा साथीबाट नै असुक्षित भएको कैयौ घटनाहरु बाहिर आएका छन र बाहिर नआएका घटनाहरु त कैयौ हुनसक्दछन । केटा साथीहरुबाट नै केटी साथीहरु माथि बढी हिंसाहरु भएको प्रशस्त घटनाहरु विगतमा घटेका छन । त्यसैका कारण कतिपयको ज्यानै पनि गएको समाचार बनेको छ ।

    डेटिङमा यौनसम्पर्क

    यौनसम्पर्क आपसी समझ्दारी र दोहोरो जवाफदेहिता सहित हुनुपर्दछ । अर्थात यसमा कुनै एकपक्षाको असहमती र अर्को पक्षको दवाव भएमा त्यो यौन हिंसा हुनजान्छ । डेटिङमा यौनसम्पर्कका लागि दवाव दिने यदाकदाको घटनामा महिला भएपनि अधिकांश घटनाहरुमा पुरुषहरुले नै गरेका हुन्छन । त्यस्तै यौनसम्पर्कको अधिकांश दुर्घटनाहरु डेटिङ्गको मौकामा र एकान्तमा पारेर भएका हुन्छन । यदि प्रेमिकाले यौनसम्पर्कको लागि अस्विाकार गरेमा केटाले घुर्की लगाउँने, मायाँमा विश्वास नगरेको जस्ता आक्षेपहरु लगाउने, डर देखाउँने र बेइज्जत गरिदिने जस्ता धम्की समेत पनि दिएर अनिच्छित र कतिपयले असुरक्षित तरिकाले यौनसम्पर्क गर्न बाध्य पारेएका हुन्छन । कतिपय पुरुषहरुले महिलाको संवेदनशिल अङ्ग सहितको फोटो खिच्ने र कसैकसैले त यौनसम्पर्कको समेतको भिडियो बनाएर जीवनभर ‘व्याक्मेलिङ्’ गरेका हुन्छन ।

    डेटिङको फेसन र लैङ्गिक हिंसा

    डेटिङ्गकै क्रममा प्रेमी वा प्रेमिकाको कम्जोरीका कारणले पनि हिंसामा परिरहेका हुन्छ । जस्तैः महंगा किसिमका बस्तुहरु खासगरी कपडाहरु उपाहार माग्नु र महँगा होटल वा रेष्टुरेण्टहरुमा जानुपर्ने दवाव दिनु आदि व्यवहारले आर्थिक समस्या हुने र त्यसका कारण अधिकांश प्रेमीहरु र केहि प्रेमिकाहरु मानसिक तनाबमा परिरहेका हुन्छन् । कतिपयले त्यहि उपहार बापत यौन सम्पर्कका लागि परिवन्धमा पारेका हुन्छन ।
    कतिपय अवस्थामा प्रेमीकालाइ प्रेमीहरुको इच्छा अनुसार लुगा लगाउन दवाव दिने गर्दछन । प्रेमी र प्रेमीका आपसमा बाहेक अरुसँग बोलेको, हिँडेको, खानपिन गरेको आदि मन पराउँदैनन र विशेष गरी प्रेमिकाका लागि प्रमीहरुले त्यस सम्बन्धमा नियन्त्रण गर्न चाहन्छन । यसरी व्यक्तिको स्वतन्त्रताको अधिकार समेत हनन गर्ने कार्यहरु हुनेगरेको छ ।

    स्वस्थ र यौनिक डेटिङ

    यौन र यौनिकता नितान्त व्यक्तिगत र प्रकृतिक विषय र व्यवहार हो । यौन क्रियाकलापको इच्छा जसरी पुरुषहरुमा हुन्छ महिलाहरुमा पनि उस्तै हुन्छ । अझ प्रेममा परिसकेपछि डेटिङमा जानु, आफ्ना सम्पूर्ण कुराहरु अर्कोलाई सुम्पिनु र एक आपसमा विश्वासको विकास हुनु, आपसी साथसहयोग हुनु, आत्मिय हुनु र आवश्यक मात्रामा गोपनीयता अपनाउनु, सहमती र आपसी इच्छामा व्यवहार गर्नु र दुबै पक्षले त्यसको सम्मान गर्नु सफल प्रेमको कसी हो ।

    हरेक व्यक्तिले यौन अधिकारको उपभोग स्वस्फुर्त रुपमा गर्न पाउँदछन । यौन अधिकारको व्याख्या अनुसार बाहेक गरिने यौन क्रियाकलाप आफ्नो इच्छामा गर्न पाईन्छ न कि कसैको करकापमा । यौन क्रियाकलाप कुनै गलत अभिप्रायले वा कसैले कसैलाइ फसाउने गरी, बदलाको भावमा, करकापमा वा प्रलोभन, डर, धम्कीका आधारमा गरेमा अपराध मानिन्छ । त्यसैले डेटिङ्ग गर्नु र यौन क्रियाकलाप गर्नु कुनै अपराध हैन तापनि यो दुबै पक्षका स्वीकार्य र सुरक्षित हुनु आवश्यक छ । अनिच्छित तथा असुरक्षित यौनसम्पर्कले धेरै नकारात्मक परिणमहरु आउँन सक्दछ । जस्तै अनिच्छित गर्भाधान, यौन संक्रमण आदि हुने सम्भावनाका साथै पढाई बिग्रने, मानसिक तनाव बढ्दै जाने, आर्थीक भार व्यहोर्नुपर्ने, सानै उमेरमा विवाह हुने अवस्था हुनसक्दछ । जसको परिणाम जीवनको सुन्दर सपना बर्बद हुनपुग्दछ । प्रजनन स्वास्थ्यमा जीवन भरका लागि नकारात्मक असर पर्दछ ।

    डेटिङ्बाट हुने नकरात्मक असर समग्रमा पुरुषहरु भन्दा महिलाहरुले नै भोगेका हुन्छन । डेटिङमा पनि पित्तृसत्तात्मक सोचको प्रभाव परेको छ । त्यसैले किशोरावस्था डेटिङमा जानेहरुले त अझै बढी होसियारी अपनाउँन पर्दछ । डेटिङमा हुने यौन व्यवहारलाई अरु मानिस वा फिल्ममा देखिएको जस्तै देखासिको गर्नुहुदैन । आवेगमा नभै सुझबुझका साथ सही ज्ञान र जीवनोपयोगी सीपको आधारमा डेटिङ्लाइ व्यवस्थापन गर्नु पर्दछ । सबैले के बुझ्न जरुरी छ भने, माया अभिव्यक्त गर्न, माया प्रमाणित गर्न सम्भोग वा यौन सम्पर्क नै राख्नुपर्दछ भन्ने धारणा गलत हो । प्रेममा कसैको र कुनै पनि प्रकारको करकाप हुनु प्रेम नभएर हिंसा हुनसक्दछ । प्रेमी वा प्रेमिकाले एकअर्काका बारेमा बुझ्ने र निर्णय गर्नु पहिला के ठीक र के बेठीक भनी समालोचनात्मक र सिर्जनात्मक तरिकाले सोच्नु आवश्यक छ । दुबैले सही निर्णय लिनसकेमा डेटिङ् र प्रेम सुखद र आनन्दको हुन्छ । सुखि जीवनको आधार पनि यहि हुन्छ ।

    तपाइको मत
  • भिडियो सामाग्री