• २०७८ कार्तिक ९, मङ्लबार
  • |
  • Tuesday 26th October 2021
  • डेटिङ

    २१ चैत्र २०७३, सोमबार १७:१७

    रामकृष्ण पराजुली:-

    डेटिङ्को नयाँ गन्तब्य चन्द्रागिरी जाने कि पुरानै ठाउँ गोदावरी वा दक्षिणकाली तिर ? लामो वा छोटो दुरीमा, एकाध घण्टा दखि कति दिनसम्मको ? , महङ्गो वा साधारण खर्चमा काम चलाउँने रु यी कुराहरुको तजविज मिलाएर डेटिङ्वालाहरुले मायाप्रितीको नयाँ अनुभूति गर्दै आ (आफ्ना भावनाहरु अभिव्यक्त गरेका हुन्छन । त्यहि अनुसार डेटिङ्मा पुगेका जोडी वा समूहहरु विभिन्न अवस्थामा पाइन्छन । जस्तै कोहि सामान्य अवस्थामा बसेका, कोहि अङ्गालोमा बाँधिएका, कोहि चुम्बनमा मस्त त कतै गम्भिर तनावको अवस्थामा पनि देखिएका हुन्छन ।

    के हो डेटिङ् ?

    खर्च र अक्किल अनुसार भेटघाटको योजना बनाउनु, मनका कुराहरु साटासाट गर्नु र रमाइलो गर्नु डेटिङको उद्देश्य हो । त्यसैले पूर्व योजना सहित गरिने भेटघाट्लाई नै डेटिङ भनिएको हो । यो पुरानै चलन पनि हो किनकि गाउँघरमा त्यसलाइ डेटिङ् नभनिएको भएपनि घाँस–दाउराका लागि जङ्गल जाँदा, मेलो–पात, मेला वा जात्रा–मात्रामा जाँदा केटा र केटी बीच पूर्वतयारी अनुसार भेट्घाट गर्ने चलन पहिले दखि नै थियो र अझै पनि छ ।

    को को जान्छन डेटिङ् ?

    डेटिङमा जानेहरुमा अधिकांश युवाकिशोरकिशोरीहरु नै हुने भएतापनि बयस्कहरु पनि यदाकदा डेटिङ् तिर चम्किएका देखिन्छन किनकि डेटिङ्का लागि कुनै उमेर र लैङ्गिक बन्देज हुदैन । त्यसैले जो पनि जान सक्छन डेटिङ । कतिपय किशोरकिशोरीहरु त स्कूल वा कलेजको पोशाक मै डेटिङमा भेटिन्छ । त्रि.वि.महाराजगञ्ज क्याम्पसमा जनस्वास्थ्य स्नातकोत्तर अध्ययनरत डा. शिवराम खतिवडा भन्नुहुनछ, “यौनका सम्बन्धमा समाज संकिर्णताबाट केहि खुकुलो हुँदै गएको कारण शहरीया युवाकिशोकिशोरीहरु बीच आजभोलि डेटिङ् क्रेज बढेदै गएकोछ । सार्वजनिक विदा परेको दिन त पार्क, सिनेमा घर, रिसोर्ट वा रेष्टुरेण्टहरु आदि ठाउँहरुमा धेरै नै देखिन्छन ।” डा. खतिवडा अगाडि भन्छन, “फुर्सद मिलाएर श्रीमान श्रीमतिको पनि चल्छ डेट ।”
    सूचना प्रविधिको पहुँचमा बृद्धि भएसँगै आजकल अनलाइन इन्टरनेट पनि व्यापक बन्दै गएकोछ । युवाकिशोरकिशोरीहरुको मात्रै के कुरा, हातमा स्पार्टफोन हुनेहरु वा साइबर क्याफेमा छिर्नेहरु मध्ये पाका उमेरका मान्छेहरु पनि हौसिएर डेटिङमा घण्टौं समय विताइरहेको देख्न सकिन्छ ।

    डेटिङ्को इतिहाँसः

    डेटिङ पुराणकाल देखि नै चल्दै आएको हो । पुराणका कथाहरुमा प्रसस्तै पढ्न पाइन्छ डेटिङ्का प्रशंगहरु । तर ‘डेटिङ’को नामले यसको इतिहास धेरै पुरानो छैन । पुँजीबादको विकाससँगै डेटिङ् पनि जोडिएर आएकोछ । राजनीतिक तथा सामाजिक–आर्थिक क्रान्तिका आधारहरुसँग जोडिएर आएको छ । लोइड स्याक्स्टनद्वारा लिखित ‘द इन्डिभिजुअल, म्यारिज एण्ड फ्यामेली’ पुस्तकमा यसको इतिहास उल्लेख गरिएको छ । औद्योगिक विकासले बस्तुको उत्पादन र वितरणमा भएको प्रतिस्पर्धाका कारण पूँजिबादले साम्राज्यबाद उदय गरायो । परिणाम स्वरुप त्यसले पहिलो र दोश्रो विश्व युद्ध निम्त्यायो । युद्धका लागि अधिकांश युवाहरू सेनामा भर्ती भएका हुनाले उद्योगहरुमा मजदुरको अभाव हुँदा किशोरीहरूलाई पनि उद्योगमा काम लगाउन थालियो । त्यस अगाडि केटीहरुलाई कारखानामा काम गर्न बन्देज थियो । ती मजदुर किशोरीहरू पनि अधिकांश सर्वहारा तथा मजदुर वर्गका नै हुनाले उनीहरु पनि मजदुर आन्दोलनमा संगठित हुने र फुर्सदको समयमा डेटिङको पनि चाँजोपाँजो मिलाउथे । मनोरञ्जनको राम्रो उपाय त्यही भएकोले विशेषतः अविवाहितहरू बीच यो निकै लोकप्रिय बन्दैगयो । मजदुर आन्दोलनका लागि सञ्चार गर्ने वा संगठन गर्ने भरपर्दो आधार डेटिङ् पनि बनेको थियो । अझ टेलिफोनको विस्तारले त डेटिङ विद्यालय तथा कलेजहरूमा पनि जम्न थाल्यो । डेटिङमा मजदुरहरु जानेहुनाले पूँजिपतिहरू आफ्ना छोरीहरूलाई डेटिङमा जान प्रतिबन्ध लगाउँदथे । त्यसकारणले पनि डेटिङ सर्वहाराबादी मजदुरहरूमा लोकप्रिय बन्दैगयो ।

    युरोपको क्रान्तिकारी मजदुर नेताहरूले जीवन साथीको चयन डेटिङबाट नै सुरु गरेको पाइन्छ । त्यो परिवेश नेपालका पनि केहि नेताहरूसँग मेल खान्छ । विडम्बना, तर विडम्बना नेपाल मात्रै नभएर दक्षिण एसियाका अधिकांश प्रगतिशील भनिएका मानिसहरुको दृष्टिकोणमा भने डेटिङ ‘पूँजिबादको नक्कल’ हुन पुग्यो । त्यसलाइ अनुशासनको दायरामा राखेर हेरिन थालियो ।

    परिवर्तित अवस्थामा डेटिङ्ः

    संसारले धेरै ठूलो काँचुली फेरीसक्यो तर पनि यहाँका परिवार, सामाजिक संस्था तथा राजनीतिक संगठनहरुमा भने डेटिङप्रतिको धारणामा परिवर्तन आउन सकेको छैन । अर्थात अझै लुकिछिपी गर्नुपरेको छ । नयाँ बानेश्वरका एक जुत्ता व्यापारी युवा अजय श्रेष्ठ भन्छन् “डेटिङको बारेमा साँच्चै चिन्तित हुने हो भने त्यसलाई प्रतिबन्ध होइन बरू क्रान्तिको उर्जाको रूपमा प्रयोग गर्ने क्षमता प्रगतिशिल संगठनहरुसँग हुनुपर्दछ ।” उनि भन्छन “डेटिङ असल भावाना र विचारको आदान प्रदान गर्ने असाध्यै उपयुक्त अवसर पनि हो तर डेटिङ भित्रका विकृतिहरुलाई भने गम्भिर ढङ्गले लिनुपर्छ । डेटिङलाई विकृतिरहित बनाउन युवाहरूलाई सचेत गराउनुपर्छ तर जबरजस्ती होइन । यसको लागि युवाकिशोरकिशोरीहरुलाइ डेटिङ सम्बन्धी शिक्षाको आवश्यक छ ।”

    डेटिङ कुनै राजनैतिक विचारमा आधारित हुने कुरै होइन । बरु राजनीतिक, सामाजिक तथा पेशागत विषयको विचार मन्थन गर्ने आधार चाहिँ डेटिङ्मा हुनसक्दछ । अनि, यो समाजका सबै पक्षका बारेमा मनोगत तथा बस्तुगत अवस्थाको अध्ययन गर्ने राम्रो तरिका हुनसक्छ । यसबारे मनो—सामाजिक परामर्शकर्ता विमला थापा भन्नुहुन्छ “डेटिङमा जानेहरूको धारणा र व्यवहार चाहिं सबै भन्दा महत्वपूर्ण कुरा हो, त्यो विश्वासनीय हुनुपर्छ ।” उहाँले भने जस्तै डेटिङ् गर्नेहरू सबैले राम्रा क्रियाकलाप मात्र गर्छन् भन्ने छैन । खासगरी केटाहरूले नै डेटिङको बढी दुरुपयोग गरेको पाइन्छ । उनीहरूबाट यौनहैरानी, यौनशोषण र कहिलेकाहीँ बलात्कार र हत्याका घटनाहरू भएको विगतमा सञ्चार क्षेत्रमा आएका थिए । यस्ता घटनाहरूको रिपोर्ट प्रहरी कार्यालयहरुमा प्राय परेका हुदैनन । यस्तो हुनुमा पिडितहुने केटीहरु नै हुने र उनीहरुले त्यसरी उजुरी गर्दा आफ्नो व्यक्तित्वमा अझ नराम्रो प्रभाव पर्ने ठानेका हुनाले उजुरी नगरेका बताउँनुहुन्छ परामर्शकर्ता थापा । उहँका अनुसार पिडित हुनपुगेका किशोरी तथा जो कोहि महिलाले प्रहरीलाइ मात्र होइन आफ्नो परिवार वा साथीहरुलाइ पनि भन्ने आँट गरेका हुदैनन ।

    यौन शिक्षाः

    बर्षौं देखिको लगातार बहस र पैरवी पछि विद्यालय स्तरमा यौनशिक्षा त समाबेश भएको छ तर विद्यार्थीलाई सुरक्षित यौन व्यवहारका जीवनोपयोगी सीप सिकाउने प्रभावकारी शिक्षणको व्यवस्था गर्न नसकिएको स्वीकार गर्नुहुन्छ त्रि।वि।का प्राध्यापक डा। रामकृष्ण महर्जन । जसको कारण यौन शिक्षा प्रभावकारी हुन नसकेको हुनाले यौनशोषण÷यौन हैरानीमा पनि कमी आउँन नसकेको कुरा यस क्षेत्रमा काम गर्दै आएका धेरै संघ संस्थाहरूले गरेको अध्ययनहरुले पनि बताएको छ ।

    विद्यालयमा दिइने शिक्षा बाहेक किशोरकिशोरीहरुका लागि यौन शिक्षा परिवार र समाजमा त झन कुनै सम्भावना छैन । किनकि समाजमा यौन प्रति नकारात्मक धारणा व्यापक हुनेहुनाले पनि युवाकिशोरकिशोरीहरुमा यौन र यौनिकता प्रति व्यापक भ्रमहरु हुनु स्वभाविकै देखिन्छ । यसै सन्दर्भमा लैङ्गिक विकास सम्बन्धी लामोसमय देखि अनुसन्धान गर्दैआउँनु भएका मिन बस्नेत भन्नुहुन्छ “हाम्रो समाज पुरूष प्रधान भएर होला डेटिङको बेला यौनसम्पर्कको लागि दवाव दिने केटाहरू नै हुन्छन् तर कहिलेकाहिं केटीहरूले पनि दिन सक्छन् । यौनोत्तेजक पत्रपत्रिका र फिल्मको प्रभावले पनि डेटिङमा यौनसम्पर्कको लागि दौतरी दवाव बढेको हुनसक्छ ।” विद्यालयमा दिइने यौन शिक्षाले सुरक्षित यौन व्यवहारका बारेमा डेटिङ्को सम्बन्ध जोडिको छैन । यस विषयमा किशारकिशोरीहरूका लागि कक्षामा जीवनोपयोगी सीपमा आधारित यौनशिक्षा बालमैत्री वातावरणमा उपलब्ध गराउँनु आवश्यक रहेको एक छलफलको क्रममा प्राध्यापक डा। रामकृष्ण महर्जनले बताउनुभयो ।
    विद्यालय अथवा परिवारमा किशोरकिशोरीहरुका लागि यौनशिक्षाका सम्बन्धमा सिकाइने जीवनोपयोगी सीपले डेटिङ जाने वा नजाने, कस्तो ठाउँमा जाने, कस्तो स्वभावको मानिससँग जान सकिन्छ र डेटिङ्को समयमा आइपर्ने समस्यालाई कसरी राम्रो तरिकाले समाधन गर्न सकिन्छ भन्ने कुरा देखि पीडित भएमा कानुनी उपचारका लागि जाने सम्मको क्षमताको विकास हुन्छ । जीवनोपयोगी सीपले किशोरकिशोरीहरुमा आफ्नो केटा वा केटी साथी र उसँगको सम्बन्धका बारेमा पनि अभिभावकसँग कुराकानी गर्न सक्षम बनाउँछ ।

    डेटिङका बारेमा विभिन्न पक्षहरूबाट आएका कुराहरू उपर ध्यानदिँदा यसलाई जीवन उपयोगी कुराहरूको साटासाट गर्ने, एकले अर्काको मनका केरा बुझ्ने, प्रगतिका राम्रा योजनाहरू बनाउने, तिनीहरूको कार्यानवयन गर्ने प्रतिबद्धता व्यक्त गर्ने, भएगरेका कामहरूको समीक्षा गर्ने र बाँकि कामलाई राम्रो बनाउने योजना बनाउने थलो डेटिङलाइ बनाउन सकिन्छ । साचो प्रेमले चाहेको जस्तो उपलब्धी प्राप्त गर्ने थप बल प्रदान गर्दछ, डेटिङ्ले त्यसको अनुकुल वातावरण बनाउँन सक्दछ ।

    परिवारिक तथा समाजिक दायित्वः

    प्रायः सबै कुरामा किशोरकिशोरीहरूले मात्रै विचार पु¥याउन नसक्ने हुनाले परिवार र समाजका अगुवाहरुले पनि यौन शोषणबाट बच्ने आत्मारक्षाका जीवनोपयोगी सीपहरू सिकाउनु पर्दछ । तर, डेटिङमा नै प्रतिबन्ध लगाउदैमा चाहिँ यौन सम्बन्धमा नियन्त्रण हुनसक्दैन । अति नियन्त्रणको परिणाम अति डरलाग्दो हुनपनि हुनसक्छ । नमूना योग्य व्यक्ति कसरी बन्ने भन्ने बौद्धिक विकासका अन्य विषयसँगै डेटिङका बारेमा किशोरकिशोरीहरूसँग छलफल चलाउन आवश्यक छ । किनकि डेटिङबाट कसरी सुरक्षित हुन सकिन्छ भन्ने कुरा मात्र नभएर यौन÷यौनिकता गर्लफ्रेण्ड वा ब्वाइप्रेण्डको सम्बन्धमा पनि उनिहरुमा निकै भ्रमहरु रहेको हुनसक्दछ । जसको कारण डेटिङको क्रममा विभिन्न किसिमका जोखिममा परेका हुनसक्दछन । त्यसबाट बचाउँन सिकाउँने उनिहरुका अभिभावक र विद्यालयका शिक्षकहरु नै पहिलो पक्ष हुन भने समाजका अगुवाहरुको पनि राम्रो प्रभाव पर्नसक्दछ ।

    डेटिङमा हुनसक्ने हिंसाबाट सुरक्षित हुने उपायहरु

    • जीवनोपयोगी सीप सम्बन्धी किताब, पत्रपत्रिका तथा अन्य श्रव्य–दृष्य सामग्रीको निरन्तर अध्ययन गर्नेरगराउँने ।
    • एकान्त वा मानिसहरूको आवतजावत नहुने ठाउँमा डेटिङ गर्दा कहिलेकाहीं प्रत्योत्पादक अवस्था अउँन सक्दछ । त्यसैले मानिसहरूको आवतजावत भइरहने ठाउँमा नै डेटिङ गर्नु राम्रो हुन्छ ।
    • आपत पर्दा सहयोगको अभाव हुनसक्दछ । त्यसैले डेटिङ जानु अगाडीबाटै आफ्नो साथीको स्वभाव र व्यवहार राम्रोसँग बुझ्न पर्दछ ।
    • डेटिङको समयमा साथीसँग भइरहँदा पनि साथीको बोलीचालीका तरिका र सबै क्रियाकलापहरुको होसियारीपूर्वक ख्याल गरिरहनुपर्छ ।
    • मौका पारेर साथीले यौनसम्पर्कको प्रस्ताव राख्न पनि सक्छ । यस्तो भएमा नडराईकन आफ्नो विचार स्पष्ट बुझिने भाषामा राख्नु पर्छ । साथीसँगको सम्बन्ध नविग्रिने गरी नाइँ भन्न सक्नुपर्छ । डेटिङमा यौनसम्पर्क गर्नु राम्रो कुरा होइन ।
    • यदि पहिलो पटकको डेटिङमा शंका लाग्यो भने अर्के पटकदेखिको डेटिङलाई नै रद्द गरिदिनु पर्दछ ।
    • डेटिङ लुकेर गरिने काम होइन, स्वस्थ ब्यवहारको डेटिङमा कसैसंग लुक्न आवश्यक छैन । जसको कारण आउँन सक्ने जोखिमको सामना गर्नसकिन्छ ।

     

    तपाइको मत
  • भिडियो सामाग्री