• २०७९ चैत्र ८, बुधबार
  • |
  • Wednesday 22nd March 2023
  • महिलालाई महिनावारी बिदा दिने पहिलो पश्चिमा मुलुक बन्दै इटाली

    २३ चैत्र २०७३, बुधबार १५:०२

    रोम—इटाली छिटै कामकाजी महिलालाई आधिकारिक रुपमै महिनावारी विदा दिने पहिलो पश्चिमा मुलुक बन्दैछ। इटालीको तल्लो सदनमा यससम्बन्धी विधेयक दर्ता भएको छ। सो विधेयक पारित भए इटाली सरकार तथा निजी कम्पनीले महिला कामदारलाई महिनावारीको गाह्रो अवस्थाका लागि तीन दिन तलबी विदा दिनुपर्नेछ।

    इटाली सरकारले कामकाजी महिलाले महिनावारीको समयमा शारीरिक तथा मानसिक पीडा पाउने भन्दै आरामका लागि तीन दिन विदा दिनेगरी विधेयक तयार पारेको जनाएको छ। सरकारले ल्याएको यो महिलामैत्री कानुनको प्रस्तावलाई इटालीका व्यवासयिक एवं कामकाजी महिलाका संघसंस्थाहरुले स्वागत गरेका छन्। स्थानीय सञ्चार माध्यमहरुले सरकारको कदमको प्रशंसा गरेका छन्।

    मेरी क्लियर महिला म्यागेजिनले सरकारको निर्णयको प्रशंसा गर्दै सामाजिक विकास तथा स्थायित्वको दिशामा महत्वपूर्ण कदम भनेको छ। विधेयकप्रति केही मिडियाहरुले भने आलोचना गरेका छन्। सरकारको नियमका कारण रोजगारदाता कम्पनीहरुले महिलालाई भन्दा पुरुषलाई प्रोत्साहन गर्नसक्ने भन्दै उनीहरुले आलोचना गरेका हुन्।

    लोककल्याणकारी शासन व्यवस्था भएका विश्वका धेरै मुलुकहरुले महिलालाई ६ महिना सुत्केरी विदा दिँदै आएका छन्। इटालीले भने त्यो भन्दा एक कदम अगाडि बढ्दै महिनावारी विदाको कानुन ल्याउन लागेको हो। इटालीको वर्तमान कानुनअनुसार सुत्केरी बिदामा बस्दा तलबको ८० प्रतिशत रकम पाउँछन्। पत्नी सुत्केरी भएका पतिले पनि ३ महिनाको सुत्केरी स्यहार विदा पाउँछन्।

    युरोपका अरु देशको तुलनामा इटालियन महिलाहरुले रोजगारीका लागि संघर्ष गर्दै आएका छन्। इटालीमा महिलाको कुल जनसंख्याको ६१ प्रतिशत जागिरमा छन्। अन्य विकसित देशहरुमा यो ७१ प्रतिशतसम्म छ। बच्चा जन्मिएपछि महिलालाई रोजगारीमा न्यून अवसर प्रदान गर्ने प्रथाका कारण महिला सहभागिता थोरै भएको अनुमान गरिएको छ।

    महिनावारी बिदाले महिलाहरुलाई रोजगार दाता कम्पनीले पहिलो प्राथमिकतामा नराख्ने हुन् कि भन्ने अर्थविद्हरुले आशंका गरिहँदा महिलावादी संघसंस्थाहरुले भने यसको खुलेर स्वागत गरेका छन्। अर्थविद्हरुले यो व्यवस्थाले महिला र पुरुषमा विभेदको डिग्री अझ बढाउने र पारिश्रमिकमा समेत विभेद हुनसक्ने खतरा औंल्याएका छन्।

    मार्च १३ मा सत्तारुढ डेमोक्रेटिक पार्टीका महिला सांसदहरुले संसदमा दर्ता गराएको सो विधेयक आगामी महिना पारित हुने सम्भाना बलियो छ।

    चीनका केही प्रान्त, जापान, दक्षिण कोरिया तथा नाइक कम्पनीले यसअघि नै अाफ्ना महिला कामदारका लागि महिनावारी विदाको व्यवस्था गरिसकेका छन्। अर्थविद्हरु भने श्रमको विषय अर्थतन्त्रसँग जोडिने भन्दै महिनावारी विदाको विपक्षमा उभिदै आएका छन्।

     

    साभार Nagariknews.com

    http://www.nagariknews.com/news/17306/

     

    तपाइको मत
  • भिडियो सामाग्री