– रामकृष्ण पराजुली,
मानिसको जीवनको महत्वपूर्ण निर्णायक घडी उसको किशोरावस्था नै हो । यहि किशोरावस्था देखि मानिसको शारीरिक, मानिसक तथा सामाजिक पक्षहरुमा ठुलाठुला परिवर्तनहरु द्रुत गतिमा देखा पर्न शुरु हुन्छ । किनकी किशोरावस्था भनेको बालापन र युवा जोसको बीचको अवस्थाबाट अगाडि बढिरहेको हुन्छ । उनीहरुमा भइरहेको द्रुत गतिको परिवर्तन र विकासका कारण अनेकौं प्रकारको मनोबैज्ञानिक द्वन्द्वहरु भइरहे आफैले महशुश गरिरहेको हुन्छन । “म को हुँ” भन्ने मानसिक खुल्दुली भइनै रहेको हुन्छ जसको कारण समाज, आफ्नो समूह र परिवारमा समेत किशोरकिशोरीहरुले आफ्नो पहिचान खोजि गरिरहेका हुन्छन । यसै सन्दर्भमा आफ्नो व्यक्तित्व विकासका लागि उनीहरुले अनेकौं विषयगत योग्यता वा कुशलताहरु प्रस्तुत गरिरहेको हुन्छन । यी गतिविधिहरु किशोरकिशोरीहरुले पारिवार प्रतिको परनिर्भरताबाट आत्मा निर्भर हरनका लागि निरन्तर रुपमा गरेका कोशिशहरु हुन ।
के गर्नु पर्यो अभिभावकहरुले ?
अभिभावकहरुले छोराछोरीहरु किशोरावस्थामा प्रबेश गर्नु पूर्व अवस्थादेखि नै सामान्य देखि क्रमश: स्वावलम्बन हुनका लागि पृष्ठभूमि निर्माण गरिदिनु पर्दछ र खासखास कठिन अवस्थाहरुमा सहयोग पनि गरिदनु पर्दछ तर स्वावलम्बन गराउँने अभिप्रयले दबाव सिर्जना गरिदिनु हुदैन किनकि दबावले नकारात्मक परिणाम निस्कन पनि सक्दछ । जुन परिवारमा बालबालिका तथा किशोरकिशोरीहरुले अभिभावकहरुबाट मैत्रीपूर्ण व्यवहारको अनुभव गरेको हुन्छ उनीहरुले पनि विस्तारै परिवार प्रति आफु पनि जिम्मेवार भएको महशुश गर्दैगएका हुन्छन । सामाजिक उत्तरदायित्व बहन गर्ने प्रेरणा बढ्दै गएको हुन्छ । जसको कारण उनीहरुमा कहिल्यै पनि हिनता पैदा भएको हुदैन । अभिभावकहरुले गर्ने मैत्रीपूर्ण ब्यवहारका कारण साथीहरुसँगको सम्बन्धमा पनि राम्रो सम्बन्ध विकास हुँदैगएको हुन्छ । लागुऔषध प्रतिको कुलत, सामाजिक अपराध तथा जोखिमपूर्ण यौन व्यवहारबाट बच्न मद्दत मिल्दछ ।
किशोरावस्थामा आत्मा विश्वासको विकास गराउँनु अत्यान्त आवश्यक छ । यसको मनोबैज्ञानिक प्रभाव जीवन पर्यन्त रहने कुरामा मनोविज्ञहरुको पनि मत छ । यसको लागि उनीहरुमा भएको क्षमताको कदर गर्ने र अरु थप क्षमता र योग्यताको विकास गराउँन आत्मा विश्वास बढाउँनु आवश्यक छ । उनीहरुसँग भएको क्षमता र योग्यता प्रति अभिभावकले अवमुल्यन गर्दा उनीहरुमा हिनताको विकास हुन्छ वा प्रतिशोधको भावना बढ्न थाल्दछ । उनीहरुको व्यक्तित्व विकासको लागि यी दुबै कुरा नकारात्मक हुन ।
किशोरावस्थामा प्रवेश गरेपछि कयौं नयाँ परिस्थितिसँग घुलमिल हुन र समन्वय गर्नुपरिरहेको हुन्छ । त्यसका लागि उनीहरु स्वयंमले मानसिक र शारीरिक रुपमा कति धेरै तयारीहरु गर्नुपरिरहेको हुन्छ ? नयाँ परिस्थितिसँग सामना र समन्वय गर्न कति धेरै मानसिक तयारीहरु गर्नु पर्दछ ? भावनात्मक अन्तरद्वन्द्वमा कति रुपलिन परेको हुन्छ ? यस्ता कुरामा अभिभावकहरुले गम्भिर भएर ख्याल गर्नु आवश्यक छ । यो अवस्थामा अभिभावकबाट हुने सकारात्मक र नकारात्मक व्यवहार तथा बोलिचालीले धेरै ठुलो प्रभाव पारेको हुन्छ ।
सामाजिक तथा भावनात्मक दृष्टिकोणले किशोरकिशोरीहरुले आफुमा निकै परिवर्तन आएको महशुस गरिरहेका हुन्छन । बाल्यअबस्थामा जस्तोगरी अभिभावकसँग अनेकौ जिज्ञाशाहरु सोध्न विस्तारै छाड्दै जान्छन र किशोरावस्थाको अन्तिम अवस्थामा पुग्दा कतिपय किशोरकिशोरीहरु आफ्ना अभिभावकहरुसँग निकै कम बोल्दछन । किनकि उनीहरु आफ्ना साथीहरुसँग निकै घुलमिल हुनथालिसकेका हुन्छन । साथीहरु आपसमा गोपनीयताका कुराहरु आदानप्रदान गर्न थालिसकेका हुन्छन ।
किशोरावस्थाको एउटा महत्वपूर्ण विशेषता हो भावनात्मक रुपमा उत्तेजित हुनु । जसको कारण कतिपय किशोरकशोरीहरुमा क्रोध, निराशा या भयको सिर्जना हुक्दछ । यस्तो अस्थिर अवस्था सिर्जना भएको अवस्थमा उनीहरुले आफ्नो भावना व्यक्त गर्न नसक्दा सामाजिक तथा पारिवारिक प्रचलन भन्दा फरक र अस्वभाविक तरिकाले व्यवहार प्रस्तुत गर्दछन । स्वभाविक रुपमा किशोरकिशोरीहरुको भावनामा उतारचढवा भइरहने हुनाले अनियन्त्रित हुने सम्भावना धेरै हुन्छ । मनोविद्हरुको मत अनुसार किशोरावस्थाको चरण सामाजिक स्वाधिनता प्राप्तिको अनुभव गर्ने पहिलो खुड्किलो पनि हो । जो किशोरकिशोरीहरुले यसकका बारेमा राम्रो अनुभूति प्राप्त गरेका हुन्छन, प्राय उनीहरुको भविश्य सुनिश्चित हुन्छ । अभिभावकहरुले छोराछोरीहरु प्रति जति अपेक्षा राखेका हुन्छन, त्यस्तै अनेकौं अपेक्षा उनीहरुले पनि अभिभावकहरु प्रति राखेका हुन्छन । त्यसैले यसलाइ सन्तुलित बनाउँन किशोरावस्थामा अभिभावक तथा आफन्तहरुको जति सहयोगी भूमिका हुन्छ त्यति उनिहरुमा व्यक्तित्व विवकासमा सहयोग पुग्दछ ।
शंकाले पुग्ने हानी
हाम्रो समाजमा अधिकांश अभिभावकहरुले आफ्ना छोराछोरीहरु प्रति आाश्यकता भन्दा बढी अनेकौं शंकाको दृष्टिकोण हेरिरहेका हुन्छ । जस्तै पैसाको दुरुपयोग, असुरक्षित यौनसम्बन्ध, लागु औषधि तथा अन्य सुर्तिजन्य पदार्थको प्रयोग आदि । कशोरकिशोरीहरुले अनावश्यक रुपमा शंका गरेको मन नपराउँने मात्र होइन, उनीहरु अभभावकहरुबाट आफु सधैं शंकाको घेरामा परिरहेको महशुस गरिरहे भने त्यस प्रतिको जिज्ञाषा पनि बढ्न जान्छ र अभिभावककै त्यस किसिमको व्यवहारका कारण कुनै पनि सानोतिनो तनाव पैदा भइरहेको हुन्छ । कालान्तरमा कतिपय किशोरकिशोरीहरुले लुकिछिपी त्यहि बाटो अपनाउन थालेका धेरै अध्ययनहरुले बताएको छ । त्यसकारण उनीहरुलाई शंका गर्ने होइन विश्वास दिलाउँन आवश्यक छ । उनीहरु पनि समाज र परिवार प्रति उत्तरदायी छन भन्ने अनुभूति गराउँनु आवश्यक छ । यसो गर्दा मात्र उनीहरुले अनुशासनको अनुभूति गरिरहेका हुन्छन । कुनै धर्म वा धार्मिक दर्शन प्रति असाध्यै लगाव भएको परिवारमा त शान्ति र नैतिक आचरणको व्यवहार अपनाउँन अभ्यस्त गराउँदा नै उनीहरुलाइ जोखिम पूर्ण काम गर्नबाट रोक्न सकिन्छ । त्यस बाहेकको सामान्य परिवारमा पनि किशोरकिशोरीहरुलाइ आफुलाई अनुभुति भएका कुराहरु वा असहमतिका कुराहरु अभिभावकहरुसँग निर्धक्कसँग भन्न सक्ने बानीको विकास गराएको छ भने अभिभावक र छोराछोरीहरु बीच शंका रहिरहदैन ।
किशोरकिशोरीहरुले कसरी पत्याउँछन ?
अभिभावक तथा परिवारका अन्य सदस्यहरु, आफन्त र विद्यालयका शिक्षकहरु नै हुन बालबालिका तथा किशवरकिशोरीहरुको लागि ज्ञान र सीपका स्रोत व्यक्तिहरु । अभिभावकका देखाउँने र अपनाउँने दोहोरो भूमिका देखाएको थाहा पाएपछि किशोरकिशोरीहरुले कसैका कुरामा पनि विश्वास गर्दैनन र उनीहरुले पनि विस्तारै त्यहि सिको गर्ने सम्भावना धेरै हुन्छ । छोराछेरी सुधार्न अभिभावक, समाजका अगुवा, लगयत सबै सरोकारवालाहरुको आचरण छेपारे पाराको हुनुहन्न अन्यथा किशोरकिशोरीहरु वयस्कहरु प्रति सधै भ्रममा हुन्छन र विस्तारै आफुले पनि त्यहि व्यवहार अपनाउँन सक्दछन ।