महिनावारी हुँदा प्रसस्त आराम गर्नुपर्ने, परिवारका सदस्यहरु तथा अभिभावकहरुले अरुबेला भन्दा धेरै मायाँ गर्नुपर्ने, अरु बेला भन्दा बढी पोषिलो खाना खानुपर्ने, घर बाहिरको शारीरिक श्रमको सट्टा घरभित्रको हलुका काम चाहिं गर्नुपपर्ने, शारीरिक सरसफाईमा धेरै ध्यान पुर्याउनुपर्नेमा हाम्रो समाजका अधिकांश किशोरी तथा बयस्क महिलाहरु यसको ठीक विपरित अवस्था अझै पनि छन ।
सरसफाई
सरसफाईको कमीले महिनावारी भएको बेला प्रजनन् अङ्गमा सङ्क्रमण हुने संभावना हुन्छ । साबुनको प्रयोग गरी प्रत्येक दिन नुहाउने र योनीलाई राम्रोसँग पानीले पखाल्ने गर्नाले संक्रमणबाट धेरै हदसम्म बच्न सकिन्छ । महिनावारी हुँदा बग्ने रगत सोस्नलाई स्यानिटेरी प्याड वा घरमै बनाइएको सफा र नरम सुतिका कपडाको प्याडको पनि प्रयोग गर्न सकिन्छ ।
महिनावारीको अवस्था अनुसार प्रति दिन दुईदेखि तीन पटकसम्म पनि नयाँ प्याड फेर्नुपर्ने हुनसक्दछ । घरमा बनाइने प्याडको कपडा सुतीको नै हुनु आवश्यक छ । किनकि सुतीबाहेक अरु कपडाले योनीबाट बग्ने रगतलाई राम्रोसंग सोस्न सक्दैन र अन्य किसिमका कपडा प्रयोग गरेकै कारणले योनीमा गन्ध आउनसक्छ । प्याड बनाइने कपडा सकेसम्म सेतो वा फिका रङको हुँदा योनीबाट रगत मात्रै आइरहेको छ कि अन्य वस्तु आएको छ भन्ने कुरा थाहा पाउन सकिन्छ । महिनावारी भए जस्तै अनुभूति हुनेगरी कहिलेकही गर्भपतन भएको पनि हुनसक्छ ।
पुरानो प्याडलाई फेरि प्रयोग गर्नुपरेमा साबुन पानीले राम्रोसँग धोएर घाममा राम्ररी सुकाए पछि मात्रै प्रयोग गर्नुपर्छ । घाममा प्रत्यक्ष रुपमा राम्रोसँग सुकाएको खण्डमा योनीमा संक्रमण गर्न सक्ने किटाणुहरू नष्ट हुन्छन् ।
प्याडको प्रयोग गर्दा दुबै तिघ्राको काछमा रगतले नभिज्नेगरी लगाउँनु पर्छ, अन्यथा काछ लागेर छाला पाछिन सक्छ । संभव भएमा काछमा पाउडर लगाउदा राम्रो हुन्छ ।
महिनावरी भएको वेला आउने रगत संक्रण गर्ने किटाणुहरूको लागि अनुकुल हुनेहुनाले परिणामत: किटाणुहरूको वृद्धि विकास भई त्यसले सक्रमण गराउन सक्दछ । राम्रो सँग सफा गरे किटाणुहरूको लागि यो अवसर मिल्दैन ।
कब्जियत भएको बेलामा महिनावारी हुँदा असजिलोपनको अनुभुती बढ्छ । त्यस्तो बेलामा प्रसस्त मात्रामा पानी पिउने, हरियो सागपात तथा फलफूल खाएमा कब्जियतलाई कम गर्न मद्दत मिदल्छ ।
महिनावारी सम्बन्धी केहि अन्धविश्वासहरू
- योनीबाट बग्ने रगत फोहोर हुन्छ ।
- महिनावारी भएको बेला पुरुषहरुलाइ छुनु हुँदैन
- महिनावारी भएको अवधिमा पूजा गर्न वा मन्दिर जानु हुँदैन
- खाना पकाउन र अरुले खाने खाना छुनु हुँदैन
- गाई भैंसी बाँध्ने गोठ वा छाउ गोठमा सुत्नुपर्छ
- बाक्लो लुगा लगाउनु पर्छ
- फलफूलको बोट छुनु हुँदैन
- यौनसम्पर्क गर्न हुदैन, आदि ।
माथि उल्लेखित बुँदाहरु लगायत समाज अनुसार यी बाहेक अरु पनि थुप्रै भ्रमहरु प्रचलनमा छन, जसको कुनै वैज्ञानिक तथ्यहरू छैनन र मानव अधिकार विपरित छन ।
कसरी हटाउन सकिन्छ अन्धविश्वास ?
समाजमा प्रतिष्ठित व्यक्तिहरू, धार्मिक तथा अन्य सामाजिक संघसंस्थाहरु, विद्यालयहरु आदिको सहयोग र सहकार्यबाट महिनावारी सम्बन्धि भ्रमहरु न्युनिकरण गर्दैजान सकिन्छ । सबै भन्दा महत्वपूर्ण कुरा त यौन स्वास्थ्य शिक्षाको दृष्टिकोणले मात्रै पनि महिनावारी हुँदा महिलाहरूमाथि हुने यस्ता असंख्य दुर्व्यवहारहरूमा परिवर्तन गर्न सकिन्छ ।
महिनावारी हुँदा आउने रगत फोहर नै हो त ?
यो प्रश्न धेरै मानिसहरुले गरिरहेका हुन्छन् । फोहोर भनेको शरीरलाई हानी गर्ने वस्तु भनेर मान्ने हो भने महिनावारीको रगत फोहोर होइन । उक्त रगत शरीरमा बग्ने जस्तै रगत होइन । यस्तो रगतमा पाठेघरको भित्ताको झिल्लीहरू लगायत अनेकन तन्तुहरू पनि मिसिएका हुन्छन् । ती वस्तुहरूले शारीरलाई केही हानी नोक्सानी गर्दैनन् । त्यसैले महिनावरीको समयमा आउँने रगतलाई फोहोर रगतको रुपमा लिनु हुदैन ।