
लेखक: दुर्गा सापकोटा
एक साँझ मैले हिन्दी फिल्म बेगम जान हेर्दै थिएँ । फिल्मको कुनै भागमा पुग्दा बिद्या वालनको एउटा वाक्यले चसक्क घोँच्यो । “ हमे महिने गिन्ना आता हे साप, हर वार साला ’लाल’ करके जाता हे ।“ यो वाक्य मेरो जिन्दगी थियो ।
मैले सानोमा स्कुल पढ्दै गर्दा, सुदुर पश्चिमको छाउपडी प्रथाको बारेमा धेरैपल्ट सुने र पढेँ । तर शहर र विकसित भनिने नेपालको अन्य भागमा पनि सुदुर पश्चिमको छाउपडी प्रथा कै झल्को दिने गरी महिनावारीसँग जोडिएको कु–प्रथा छ भनेर बुझ्न किशोरी हुँदै गर्दा म आफैले भोग्नु र्पयो ।
म पहिलो पल्ट महिनावारी हुँदाको पिडा र त्यो भन्दा धेरै डर सम्झिएर म अझै पनि निसास्सिन्छु । मलाई याद छ, पहिलो पल्ट महिनावारी हुँदा म आफ्नै घरमा बस्न पाईन । भोली पल्ट परिक्षा थियो । महिनावारी भएको थाहा भएपछी मध्यरातमै घरबाट निस्कनु र्पयो । मैले आफ्नो घरको धुरी र बुवा एवं दाईको अनुहार हेर्नु हुँदैन थियो । यदी हेरेँ भने, मेरो घर, परिवार र समाजको आँखामा त्यो सबैभन्दा ठूलो पाप थियो । त्यो पापको परिभाषा मैले अहिले सम्म बुझ्न सकेकी छैन । एउटा किशोरी मनमा यती नराम्रोसँग त्यो कुरालाई गाढियो कि त्यो डरको चँगुलबाट बाहिर निस्किन मलाई बर्षौँ कुर्नु र्पयो ।
जव म नर्सिङ पढ्न सुरु गरेँ, मैले बल्ल आफूलाई बिश्वास दिलाउन सकेँ कि महिनावारी प्राकृतिक कारण हो । यो कुनै पाप र सँस्कारसँग जोडिएको कुरा होईन । पहिले महिनावारिको समय छलेर घरमा आउने गर्थेँ, ता कि महिनावारीबाट आफूलाई छल्न पाईयोस । तर विस्तारै बिद्रोह गर्दै गएँ ।
मैले भोगेको समाजमा समस्या हामी नारी भित्रै छ । मेरो बुवालाई भन्दा समस्या मेरो आमाहरुलाई थियो । शायद उहाँले मैले भन्दा सयौँ गुँणा कठोर जिन्दगी जिउनु भएको थियो । तर त्यो पिडाले उहाँहरुलाई बिद्रोह र परिवर्तनको चेतना भन्दा पनि दिमागमा अन्धबिस्वासलाई अझ नमेटिने गरी गाडी दियो । एउटा युग सकियो । परिवर्तन त आयो तर जती आउनु पर्ने थियो त्यो आउन सकेन ।
मैले अझै पहिलेदेखी आफूलाई पापको भ्रमबाट मुक्त गर्न सक्थेँ होला, यदी पहिले देखी नै यसको बारेमा जानकारी पाएकी हुन्थेँ । मलाई बर्षौँ कुर्नु पर्थेन आफूलाई ’पापको’ चँगुलबाट मुक्त गर्न । अहिले सबैको सहयोग छ । मैले आफुलाई कतै रोक्नु पर्दैन । भान्छाकोठा ,पूजाकोठा, आफ्नो दैनिक जिन्दगी सबै । मलाई धर्म र संस्कार सिकाउने समाज भन्दा अगाडी मलाई सहयोग र साथ दिने परिवार र जिवनसाथी छ । अझ सबैभन्दा अगाडी मेरो आफ्नो आत्मबिस्वास छ । मेरो नजरमा महिनावारीको बेला शारिरीक, मानसिक र सामजिक हिसाबले जुन यातना दिइन्छ त्यो नै पाप हो ।
महिनावारी र महिला स्वास्थको कुरालाई स्कुल शिक्षाबाटै अझ प्रभावकारी बनाउन आवस्यक छ । कमसेकम स्कुलमा हामिले यसको बिषयमा खुलेर बहस गर्न सक्ने अवस्था आएको भए, आँखामा त्राश बोकेर स्कुलको बेन्चको कुनामा च्याँपिएर बस्नु पर्ने थिएन । पछील्लो समय बहसमा आएको ’स्कुल नर्स’ पनि यसको लागी एउटा महत्वपूर्ण समाधानको बाटो बन्न सक्छ ।
मैले कती धेरै पढेको र महिला स्वास्थमा बहस गर्ने शिक्षित दिदिहरु देखेको छु । जसले आफ्नो घरमा महिनावारी बार्नु हुन्छ । मैले वहाँहरुलाई यसबारे सोद्धा,’ हामी धेरै बार्दैनौँ,अलिअली मात्रै बार्छौँ भन्नु हुन्छ ।’ तर बिडम्वना मैले त्यो ’अलिअलिको’ परिभाषा आजसम्म बुझ्न सकेकी छैन, न त वहाँहरुले नै बुझाउन सक्नु भएको छ ।
मैले कती धेरै साथिहरु देखेकी छु, जो नेपाल बाहिर बस्छन । बाहिर उनिहरु महिनावारी बार्दैनन । उनिहरु यो प्राकृतिक बिषय हो भन्ने कुरामा बिश्वसत छन । तर बिडम्वना नेपाल फर्किएको बेला उनिहरु भित्र लुकेको ’पाप’को चिन्ता फेरी फर्किएर आउँछ र महिनावारी बार्न थाल्छन । कमसेकम घरमा बहस गर्नु र परिवर्तन गराउनु । होईन भने किन आफूले बारेर भर्खर हुर्किँदै गरेका किशोरीहरुको दिमागमा गलत नजिर किन स्थापित गर्नु ?
अन्त्यमा महिनावारी भएर ऋषी पंचमिमा आफूलाई शुद्ध गराउने गरी हामिले कुनै पाप गरेका छैनौँ । पहिले आफूसँग बिद्रोह गरौँ, त्यस पछी आफ्नो परिवारसँग । समाज परिवर्तनसिल छ,किनकी हामी आफै समाजको हिस्सा हौँ ।