रामकृष्ण पराजुली —
स्वभावैले शिशोरकिशोरीहरु सानै कुराले पनि कुनै वेला साह्रै खुशी र रमाइलो बनाउँछ । मन असाध्यै चञ्चल हुन्छ । सक्रिय भएर आफ्नो काम गर्न मनलाग्छ । बोलिरहन वा रमाइला गफ गरिरहन मनलाग्छ । फेरि छिनभरमै मनमा उथल पुथल आउँछ, जसले निराशा र दुखित मात्रै बनाउँछ । बिनाकारण केही काम नगर्दा पनि थकाईको महशुस हुन्छ, निद्रा र भोक कम लाग्छ, जिन्दगीलाई बेकार सम्झेर रून मनलाग्छ । एउटै मान्छेलाई घरी घरी किन हुन्छ <
विशेषतः यस्तो स्थिति बाल्यावस्था र किशोरावस्थामा चाहिं अलि बढी हुन्छ । यसलाई भावना वा संवेगको नियमिततामा आउने गडबढी अर्थात मुड डिसअर्डर भनिन्छ । धैरै खुशी हुने वा सक्रिय हुने अवस्थालाई मेनिया भनिन्छ भने मनमा आउने चरम गिरावट वा निराश हुने अवस्थालाई डेप्रेशन भनिन्छ । मुड डिसअर्डर यी दुवै अवस्थाको मिश्रण हो ।
विभिन्न अनुसन्धानहरूमा पाइएअनुसार यसको लागि वंशानुगत कारण प्रमूख मानिन्छ । बावु आमा दुवैलाई यस्तो भएमा सन्तानमा पनि यो समस्या देखिने सम्भावना धेरै हुन्छ । त्यसैगरी अन्य कारणहरूमा भावनात्मक तनावले विशेषगरी अभाव वा गरिवी, बावु–आमा बीच बढी झै–झगडा, साथीभाईको असहयोग आदिले पनि किशोर–किशोरीहरूमा निराशा वा असाधारण खुशीको अवस्था आउने गर्छ । विद्यालय तथा समाजको वातावरणको कारण पनि यस्ता समस्याहरु देखिन सक्छन् ।
मनोविद्हरुका अनुसार मुड डिसअर्डरको अर्को महत्वपूर्ण पक्ष, हो पुरूषहरुमा भन्दा महिलाहरुको संख्यामा बढी भेटिएको छ । मुड डिसअर्डर भएका महिलाहरू बढी निराश हुनेको संख्या बढी हुनेगरेको छ । मुड डिस्अर्डर हुनुमा विशेष गरी सामाजिक, सांस्कृतिक तथा आर्थिक कारण नै मुख्य रुपमा परेको वज्ञहरुको भनाइ छ । त्यसका अलावा परिवारमा अभिभावकबाट छोरा र छोरी बीच गरिने लैङ्गिक विभेदका व्यवहार पनि प्रमूख रुपमा जिम्मेवार छ । पारिवारिक तथा सामाजिक नियन्त्रण, परिवार र बच्चा प्रतिको उत्तरदायित्व, र सानै उमेरमा विवाह हुनाले कतिपय किशारीहरूले पारिवारिक जिम्मेवारीको बोझ बोक्नु पर्दा निराशा बढ्न गई मानसिक समस्याको रूप लिन सक्छन् ।
मुड डिसअर्डरको उपचार गर्न सकिन्छ । यस्तो समस्या आएमा सहयोगको लागि नहिचकिचाइकन अभिभावक वा परिवारमा सबै भन्दा नजिकको व्यक्तिलालाई भन्नुपर्छ । मुड डिसअर्डरबाट हुने दुवै खाले समस्या (मेनिया र डिप्रेशन) को प्रभावकारी उपचार पाउँन सिकन्छ । मनोचिकित्सक र चिकित्सा मनोविद्सँग सम्पर्क गरेर उपचार गर्नु राम्रो हुन्छ ।
मुड डिस्अर्डरको रोकथाम पनि सम्भव छ । जसमा सबैभन्दा महत्वपूर्ण कुरा हो, पारिवारिक मेलमिलाप, आपसी सहयोगको भावना र व्यवहारले यस्ता समस्या आउनबाट रोक्न सकिन्छ र समस्या आउन थालेको भए पनि घटाउन मद्दत गर्दछ । अभिभावक तथा शिक्षकहरूले आफ्ना बालबालिका तथा किशोरकिशोरीहरुको भावना र व्यवहार बुझ्न सक्छन् । त्यसैले आफ्ना बच्चाहरूमा आएको व्यवहारिक परिवर्तन जस्तै एक्लै बस्ने, कम बोल्ने, नखाने, विनाकारण झर्को मान्ने वा बढी नै खुशी देखिने आदि देखिएमा उनीहरूसँग नजिकिएर समस्या बुझ्नु राम्रो हुन्छ र ती समस्याहरूका कारण अनुसारको सहयोग गरेमा आफै समस्या कम भएर जान्छ ।
बालबालिका तथा किशोरकिशोरीको मनमा आउने समस्या विशेष गरेर मनोसामाजिक कारणले नै हुने भएकोले उपचारमा पनि मनोसामाजिक पद्धति नै बढी प्रभावकारी हुन्छ । यसमा यस्ता तालिम प्राप्त मनोपरामर्शकर्ता वा चिकित्सा मनोविद्ले उनीहरूको समस्या बुझ्ने र त्यसको समाधानमा सहयोग गर्न सक्छन् । परिवारका अभिभावक तथा विद्यालयका शिक्षकहरूलाई पनि समस्याको स्वरुप अनुसार संलग्न गराएर मनोपरामर्श दिनुपर्ने पनि हुन्छ ।