• २०७७ मंसिर २०, शनिबार
  • |
  • Saturday 5th December 2020
  • चिनीरोग र यौनजीवन

    ९ असार २०७४, शुक्रबार १४:१४
    • डा खेम कार्की /

    यौन सम्पर्क गर्ने इच्छा त थियो नि तर के गर्नु लिङ्ग उत्तेजित नै हुदैंन ।’

    यस्तो समस्यासँग बाँचिरहेका मानिसहरूको जीवनलाई सम्झौँ त ! कति पीडा होला । यस्तो किन हुन्छ ?

    अहिले विश्वका हरेक मुलुकहरूमा यौन सम्पर्क गर्न नसक्ने व्यक्तिहरूको संख्या दिनप्रतिदिन बढ्दैछ । नेपालमा पनि यो संख्या बढेकै छ ।

    लिङ्ग उत्तेजित नै  नहुने वा उत्तेजित भएपनि यौन सम्पर्क गर्न नसक्ने गरी लुलो हुने समस्यालाई यौन दुर्वलता पनि भनिन्छ । यस्तो यौन दुर्वलता महिलामा पनि हुन सक्छ । उनीहरूमा यौन दुर्वलता भनेको यौन सम्पर्क गर्दा योनीमा यथेष्ठ रूपमा चिप्लो पदार्थ नआउनु जसका कारण लिङ्गको घर्षण हुँदा दुख्छ ।

    यौन दुर्वलता गराउने थुप्रै कारणहरू छन् । शारीरिक, मानसिक, सामाजिक, मनोवैज्ञानिक आदि आदि ।

    यौन दुर्वलताका थुप्रै कारणहरू मध्ये चिनीरोग (मधुमेह) अग्रपंक्तिमा आउँछ । जसरी मधुमेह रोग संसारभरी खासगरी विकासशील मुलुकहरूमा बढिरहेको छ त्यसरी नै यौन दुर्वलताको समस्या हुनेहरू पनि बढेका छन् । कतिपय मधुमेहका रोगीहरू त यौन दुर्वलताको उपचार गराउन आउँदा पत्ता लागेका छन् ।

    बेलायती चिकित्सकहरूको अनुभवमा  चिनीरोग (मधुमेह) भएका महिलाहरूमध्ये २५ प्रतिशत र पुरूषहरूमध्ये ५० प्रतिशतले यस्तो प्रकृतिको यौनजन्य समस्या भोगेका छन् ।

    लिङ्ग उत्तेजित किन हुँदैन त मधुमेहका रोगीहरूमा ? यसका तीनवटा व्याख्याहरू छन् । पहिलो, लिङ्गलाई उत्तेजित बनाउन आवश्यक रक्तसंचार र स्नायु प्रणालीमा आउने खराबी हो । दोस्रो, रगतमा अनियन्त्रित रूपमा चिनीको मात्रा बढ्नु हो । तेस्रो, लिङ्ग उत्तेजित हुंदैन भन्ने मनोवैज्ञानिक कारण उत्पन्न चिन्ताले लिङ्ग दरो राखिराख्न नसक्नु हो ।

    लिङ्ग उत्तेजित र दरो हुन लिङ्गमा राम्रो रक्तसञ्चार हुनुपर्छ । त्यसका लागि लिङ्गबाट उत्तेजनाका लागि संवेग (Stimulation) आउनुपर्छ । संवेग ल्याउने र लाने काम त स्नायुप्रणालीले गर्छ । रगतमा चिनीको मात्रा अत्यधिक बढेपछि लिङ्गको वरिपरि रहेका स्नायु तन्तुहरूलाई रक्तसञ्चार गर्ने रक्तकेशिकाहरू बिग्रन्छन् । जसका कारण स्नायु तन्तुहरू पनि खराब हुन्छन् । त्यसो भएपछि लिङ्गबाट जानुपर्ने उत्तेजनाको सन्देश जाँदैन । फलस्वरूप लिङ्गमा रक्तसञ्चार बढ्दैन । लिङ्ग उत्तेजित भएर दरो हुन १६ गुणा बढी रक्तसञ्चार भएको हुनुपर्छ ।

    त्यसैगरी रगतमा चिनीको मात्रा अत्यधिक हुने बित्तिकै लिङ्ग उत्तेजित बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अथवा रक्तनली र केशिकाहरूलाई ठूलो बनाउन र रक्तप्रवाह बढाउन लिङ्गमा गैसकेको रगतलाई फर्कन नदिने आदि काम गर्न आवश्यक रासायनिक तत्व नाइट्रिक अक्साइडको उत्पादनमा गडबडी हुन्छ । अथवा कम उत्पादन हुन्छ । जसले लिङ्ग उत्तेजनाको सम्पूर्ण प्रक्रियालाई नै  प्रभाव पार्दछ ।

    र अन्तिम तर अत्यन्तै महत्वपूर्ण कारण भनेको चिन्ता नै हो । चिनी रोग आफैलाई चिन्तित बनाउँछ, त्यसमाथि लिङ्ग उत्तेजना नै नहुने हो कि भन्ने अर्को चिन्ता थपिन्छ । फलस्वरूप, लिङ्ग उत्तेजित नहुने वा भइहाले पनि दरो भैनरहने अवस्था सिर्जना हुन्छ ।

    अर्को प्रश्न आउन सक्छ, महिलाहरूमा चाँहि के हुन्छ ?

    महिलाहरूमा पनि समस्या त हुन्छ नै । योनी संक्रमण भै रह्यो भन्दै चिकित्सककहाँ आउने महिलाहरूलाई रगत जाँच्दा मात्रै चिनी रोग भएको पत्ता लागेका थुप्रै घटनाहरू छन् । योनीको संक्रमण भैरहने, पिसाब थैलीको संक्रमण हुने आदि समस्याहरू भैरहन्छन् । त्यसैगरी यौन सम्पर्कका बेला आउनुपर्ने योनीरस यथेष्ठ मात्रामा आउँदैन । त्यसैले यौन सम्पर्क पीडादायी हुन्छ । यौन सम्पर्क गर्दा दुख्छ भन्ने समस्या लिएर स्वास्थ्य संस्थामा जँचाउँन जाने महिलाहरुमा चिनी रोग भएको पनि हुनसक्छ ।

    यी सबै समस्याहरू हुदाँहुदै विस्तारै यौन चाहना घट्दै जानसक्छ । यौन चाहना घट्ने धेरै कारणहरू हुनसक्छन् । त्यसमध्ये एक हो, चिनीरोग वा मधुमेह ।

    यस्तो डरलाग्दो  समस्याको समाधान छैन त ?  पक्कै छ । पहिलो कुरा त चिनी रोग हुन नै दिनु भएन । त्यसको लागि खानपीनमा ध्यान दिनुपर्छ । चिनी र चिल्लो धेरै भएका खानेकुरा नखाने, नमोटाउने, निरन्तर शारीरिक अभ्यास गरिरहने र हरियो सागसब्जी र फलपूmल प्रशस्त मात्रामा सेवन गर्ने गरे मात्रै चिनी रोग लगायत मुटुसम्बन्धी रोग, क्यान्सर आदि रोगहरूबाट बच्न सकिन्छ । अर्को कुरा मदिरा सेवनले पनि चिनी रोग लगायतका दीर्घरोग गराउँछ । त्यसैले मदिराको सेवन गर्नै पनर्ने भएपनि व्यवस्थित र थोरै  मात्रामा मात्र गर्नुपर्छ ।

    यति गर्दागर्दै पनि कसैलाई चिनीरोग भइहाल्यो भने तुरून्तै औषधीको सेवन  गरिहाल्ने र रगतमा चिनीको मात्रा अत्यधिक हुन दिनुहुँदैन । औषधिसँगसँगै शारीरिक अभ्यास गर्ने, हरियो सागसब्जी र फलफूल प्रशस्त खाने, मदिरा, सुर्तीजन्य पदार्थ सेवान नगर्ने र औषधीको सेवन निरन्तर हुनुपर्छ ।

    त्यसैले आत्तिहाल्नु पर्ने त होइन, तर कसरी चिनीरोग हुन नदिने भन्ने कुरामा सचेत रहनुपदर्छ ।

    (डा कार्की त्रि वि चिकित्सा शास्त्र अध्ययन संस्था महाराजगञ्जमा प्राध्यापन पेशामा संलग्न हुनुहुन्छ)

     

    तपाइको मत