[REQ_ERR: 404] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. यौनिकतासम्बन्धी भ्रम र वास्तविकता | Yaunik Media
  • २०८१ फाल्गुन १, बिहिबार
  • |
  • Thursday 13th February 2025
  • यौनिकतासम्बन्धी भ्रम र वास्तविकता

    २९ असार २०७४, बिहीबार १६:४६
    • प्राध्यापक डा. रामकृष्ण महर्जन/

    शिक्षकशिक्षा कार्यक्रममा यौनिकता शिक्षाको अध्यापन सुरु भएको करीब चार दशक भइसक्दा पनि यससम्बन्धी भ्रमहरू यथावत छन् । वि. सं. २०४१ मा शिक्षाशास्त्र सङ्कायअन्तर्गत स्नातकोत्तरमा स्वास्थ्यशिक्षा समावेश भएबाट नेपालमा शिक्षकशिक्षामा यौनिकता शिक्षाको पठनपाठन भएको हो । त्यसपछि क्रमशः स्नातक, प्रवीणता प्रमाणपत्र तह, उच्च मा. वि. तह र विद्यालय तहमा यसको पठनपाठन भएको देखिन्छ । सन् १९९४ मा इजिप्टको राजधानी कायरोमा भएको जनसङ्ख्या तथा विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनपश्चात यसलाई प्रजनन स्वास्थ्यसँग गाभेर अध्यापन गर्न थालिएको छ ।

    क्याम्पस तथा विद्यालयमा यो विषय समावेश हुन थालेपछि यस विषयको शिक्षक तयार गर्ने क्रममा संयुक्त राष्ट्र जनसङ्ख्या कोषको आर्थिक सहयोगमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिए । शिक्षकहरूको लागि अध्ययन सामग्री, स्रोत सामग्री, तालिम सामग्री, विद्यार्थीको लागि स्वाध्ययन सामग्री, तालिम पुस्तिका, शिक्षण सामग्री, सूचना, शिक्षा र सञ्चारसम्बन्धी सामग्री, आदि निर्माण लगायत शिक्षक तालिमहरू सञ्चालन गरिए । यस दौरानमा अभिव्यक्त गरिएका यौनिकतासम्बन्धी विभिन्न भ्रमहरूलाई यहाँ प्रस्तुत गर्न खोजिएको छ ।

    बाल्यावस्थादेखि प्रौढावस्थासम्मको विकास क्रमलाई झल्काउने नाङ्गो चित्रहरू शिक्षक निर्देशिकामा देख्नासाथ पाठ्यक्रम विकास केन्द्रका तात्कालिक महानिर्देशक भन्नुहुन्थ्यो, “छिछि यस्ता अश्लील चित्रहरू पनि पुस्तकमा छापेर जाने र ?”

    यौन शिक्षासम्बन्धी विश्वविद्यालयका प्राध्यापकहरूलाई तालिम दिने क्रममा कोहीकोही प्राध्यापकहरूले सम्बन्धित प्रशिक्षकलाई “छाडा शिक्षक” को उपाधि दिए ।

    कक्षा नौको स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षाको पुस्तक लेख्ने क्रममा पाठ्यक्रम विकास केन्द्रका तात्कालिक पाठ्यक्रम निर्देशकले आफ्ना बिचार यसरी अगाडि सार्नुभयो ।

    “मैले कुनै एउटा पत्रिकामा पढेको थिएँ कि रजस्वला भएको दिनलाई आधार मानेर जोर दिनमा यौन सम्पर्क राख्यो भने छोरा हुने र बिजोर दिनमा यौनसम्पर्क राख्यो भने छोरी हुने रहेछ ।” के यी कुराहरू पुस्तकमा राख्न सकिन्छ ?”

    सोही पुस्तक छाप्नको लागि प्रेसमा पठाउने क्रममा पाठ्यक्रम विकास केन्द्रका तत्कालीन महानिर्देशक प्रजनन प्रणालीसम्बन्धी चित्रहरू पाठ्यपुस्तकमा राख्न राजी हुनुभएन । धेरै लामो बहसपछि चित्रविनाको प्रजनन प्रणालीसम्बन्धी विवरण मात्र पाठ्यपुस्तकमा आयो । यसले गर्दा शिक्षक र विद्यार्थीहरूले धेरै समस्याहरू झेल्नु प¥यो ।

    यौनशिक्षासम्बन्धी शिक्षक तालिमको दौरानमा केही वरिष्ठ प्रधानाध्यापकहरूले उक्त शिक्षा अत्यन्त आवश्यक भएको तर अध्यापन कार्यमा महिला शिक्षकले छात्राहरूलाई र पुरुष शिक्षकले छात्रहरूलाई मात्र सिकाउनुपर्ने बलियो तर्क अगाडि सारे । हालै मात्र बृहत यौनिकता शिक्षासम्बन्धी साहित्यको पुनरावलोकन गर्ने क्रममा एक जना अनुसान्धाताले केही मुलुकको उदाहरण दिएर सोही कुरामा जोड दिनु भयो ।

    कक्षा नौको स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा परिमार्जन गर्ने क्रममा पाठ्यक्रम विकास केन्द्रका तात्कालिक महानिर्देशकको “हस्तमैथुन एउटा सामान्य प्रक्रिया हो यसले स्वास्थ्यमा कुनै हानी गर्दैन” भन्ने कथनसँग आपत्ती रह्यो र वहाँले “हस्तमैथुनले त हर्निया हुन्छ भनी मैले पढेको थिएँ ।” भनी आफ्नो जिद्दी छोड्नु भएन ।

    शिक्षक तालिमकै दौरानमा एक जना सहभागीले बङ्गुरको एकपटकको स्खलनमा आधा लिटर वीर्य निस्कन्छ भनेर आफ्नो जिद्दीपन छोडेनन् । साथै अर्को सहभागी तात्कालिक कामु जिल्ला शिक्षा अधिकारीले “यौन प्रसारित सङ्क्रमण÷रोग सार्ने व्यक्तिलाई फाँसी दिनुपर्ने” तर्क समेत अगाडि सारे ।

    यी त भए देशका कर्णधारहरूलाई शिक्षा दिन बसेका उच्च पदस्त व्यक्तिहरूका भनाइहरू । उपर्युक्त भनाइहरूमा वास्तविकता के छ भनी विश्लेषण नगरी प्रस्तुत लेख पूरा नहुने भएको हुँदा यहाँ ती भनाइहरूलाई बुँदागत रूपमा विश्लेषण गर्ने प्रयास गरिएको छ ।

    पुस्तकमा नाङ्गो चित्र राख्दा अश्लील देखिने र चित्र नराख्दा श्लील देखिने भनाइ गलत छ । विषयवस्तुको प्रस्तुति र सन्दर्भले चित्रको श्लीलपन देखाउने भएको हुँदा चित्रलाई मात्र दोष लगाउनु उचित नहुन सक्छ । कुनैकुनै पुस्तकमा सोही चित्रलाई कट्टु लगाएर प्रस्तुत गरिएको पनि देखिन्छ जुन चित्र आपैm हाँस्यास्पद देखिन्छ । किशोरावस्थामा प्रवेश गरेपछि केटीहरूमा स्तन बढ्ने, केटाहरूको लिङ्ग र अण्डकोषको आकार बढ्ने र प्रजनन अङ्ग वरिपरि रौंहरू देखापर्ने परिवर्तन देखाउन प्रयोग गरिएको चित्रमा कट्टु नै लगाएर देखाउनु छ त कुनै पनि विद्यालयमा त्यस उमेरका विद्यार्थीहरू छैनन् त भनी प्रश्न उठ्नु स्वाभाविक हो ।

    यौनसम्बन्धी अध्यापन गर्ने शिक्षक छाडा हुन्छ भन्ने कुरा सरासर गलत छ । जुन प्रक्रियाबारे आम शिक्षकलाई थाहा नै छैन र त्यस्तो विषयवस्तु अध्यापन गर्ने शिक्षक कसरी छाडा हुन सक्छ । छाडा त कसैको सोच र व्यवहारले बनाउँछ । विद्यालयमा प्रजनन स्वास्थ्यको व्यापक पठनपाठन हुनु र आम सञ्चारमा यसले महŒवपूर्ण अंश ओगट्नुबाट यस्ता भ्रम अहिले हटिरहेको छ ।

    गर्भे शिशुको लिङ्ग निर्धारणमा जोरबिजोर दिनमा यौनसम्पर्कले कुनै भूमिका खेल्दैन । लिङ्ग निर्धारणको कार्य डिम्व निशेचन हुने बेला पुरुषको शुक्रकीटमा भएको Y या X क्रोमोजममा भरपर्दछ । यदि स्त्रीको डिम्बमा Y त्रोमोजमयुक्त शुक्रकीटले निशेचन गराएको छ भने छोरा हुन्छ र डिम्बलाई X क्रोमोजमयुक्त शुक्रकीटले निशेचन गराएको छ भने छोरी हुन्छ । गर्भे शिशु छोरा या छोरी हुने भन्ने एउटा संयोग मात्र हुन् । तैपनि पहिलो स्वास्नीबाट छोरा जन्मिएन भनी दोस्रो विवाह गर्ने, महिलालाई हेला गर्ने परिपाटी अझैसम्म हाम्रो समुदायमा भेटिन्छन् ।

    पुस्तकमा प्रजनन प्रणालीको चित्रविना विद्यार्थी तथा शिक्षकहरूले कसरी बुझ्न सक्छन् भन्ने कुरा वास्तै नगरी उक्त चित्रहरू हटाइयो । यसले सम्बन्धित विषय अध्ययन नगरेका शिक्षकहरूलाई बढी मर्का पर्यो । राष्ट्रिय शिक्षा पद्धतिको योजना, २०२८ र परिमार्जित पाठ्यक्रम, २०३८ अनुसार तयार गरिएका पाठ्यपुस्तकमा प्रजननप्रणालीका चित्रहरू राख्दा अश्लील नहुने, त्यस्तै २०५५ सालमा कक्षा आठको अनिवार्य स्वास्थ्य तथा शारीरिक शिक्षा पुस्तकमा उक्त चित्र राख्दा अश्लील नहुने तर २०५६ सालमा आएर कक्षा नौमा उक्त चित्र राख्दा अश्लील देख्ने जस्ता अभिव्यक्ति चिन्तनयोग्य देखिन्छ । यो समस्यालाई दोस्रो संस्करणमै सुधार गरी चित्रसहितको पाठ्यपुस्तक बजारमा ल्याइयो ।

    यौनिक शिक्षा वास्तवमा संवेदनशील विषय हो । त्यसो भन्दैमा छात्राहरूलाई महिला शिक्षकले र छात्रहरूलाई पुरुष शिक्षकहरूले सिकाउनु पर्ने बिचार व्यावहारिक देखिँदैन । हुनत कुनैकुनै मुद्दाहरू समान लिङ्गीसँग छलफल गर्न पाएमा सजिलो हुन्छ । प्रजनन तथा यौनशिक्षाका सबै अनुभवहरू शिक्षकले मात्र दिन नसक्ने भएकोले नै साथी शिक्षा (Peer Education) बाट दिइने गरेको पाइन्छ । त्यति मात्र नभई केटाकेटीले सँगै बसेर सिकेको खण्डमा मात्र एकअर्काका समस्या बुझ्न सजिलो हुन्छ ।

    हस्तमैथुन युवावस्थामा प्रवेश गरेपछि यौन चाहना पूरा गर्ने बैकल्पिक सामान्य यौन व्यवहार हो । यसले स्वास्थ्यमा कुनै नकारात्मक असर गर्दैन भने कुरा धेरै अध्ययनले देखाइसकेको छ । तर आफ्नो नियमित कामै छोडी हस्तमैथुनकै लतमा फस्नु आफ्नो व्यक्तित्व विकासको लागि हानीकारक हुनसक्छ ।

    एक पटकको स्खलनमा आधा लिटर वीर्य निस्कने तर्क दिने सहभागीलाई वहाँले पढ्नु भएको साहित्य लिएर आओस र हामी पनि हेर्छौं भनी प्रस्ताव राख्दा उक्त सहभागी तालिममै आउन छोडे । त्यस्तै यौन प्रसारित सङ्क्रमण÷रोग सार्ने व्यक्तिलाई फाँसी दिनुपर्छ भनाइमा लामो छलफल भयो । हामीले विभिन्न तर्क अगाडि सारेर यस्ता सङ्क्रमण अज्ञानताको कारणले पनि सर्न सक्छ र त्यस्तो बेला सबै अज्ञानीलाई फाँसी दिनु त भनी त्यही तर्क राख्ने सहभागीलाई प्रश्न तेस्र्याइ दिँदा आफु पनि अज्ञानी भएको महसुस गरी आम रूपमा माफी मागे ।

    समयको अन्तरालसँगै यौनिकताप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन देखिन थालेको छ । यौनिकतासम्बन्धी पहिले गलत धारणा पाल्ने सहभागीहरू आजभोलि यौनिक तथा प्रजनन स्वास्थ्यको प्रशिक्षकमा कार्यरत छन् । धेरैजसो विद्यालयका विद्यार्थीहरूले आफ्ना यौनिक समस्या शिक्षकसामु खुलेर राख्न सक्ने भएका छन् । शिक्षकहरूले पहिलेभन्दा सहज तरिकाले अध्यापन गर्न थालेका छन् । यही गतिले यौनिकता शिक्षामा विस्तार हुने हो भने विद्यार्थीहरूमार्फत सामाजिक कुरीतिमा अल्झेका समुदायका सदस्यहरूमा पनि सकारात्मक दृष्टिकोण सम्प्रेषण हुने कुरामा विश्वास लिन सकिन्छ ।

    तपाइको मत
  • भिडियो सामाग्री