• २०८१ बैशाख १४, शुक्रबार
  • |
  • Friday 26th April 2024
  • किन हामी हाम्रा छोराछोरी वा विद्यालयमा नानीहरुलाइ यौन शिक्षा दिन हिच्किचाउँछौ ?

    ३ श्रावण २०७४, मंगलवार ०६:४५

    किन आवश्यक छ किशोरावस्थामा यौन शिक्षा ?

    यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा आफ्नो बालबालिकाहरूलाई कुन उमेरमा जानकारी दिँदा उपयुक्त हुन्छ भन्ने पक्षलाई आजका अभिभावकहरूले प्राथमिकीकरण गर्न आवश्यक भएको छ । बालबालिकाहरूलाई किशोरावस्थामा प्रवेश गर्नु भन्दा अघि वा किशोरावस्थामा प्रवेश गर्नासाथ जति सक्दो चाँडै प्रजनन् स्वास्थ्यका बारेमा जानकारी दिनु पर्ने हुन्छ ।

    किशोरावस्था एउटा संक्रमणकालिन समयावधि हो । यो समयमा बालबालिकाको भविष्य कस्तो हुन्छ भन्ने कुरा निर्धारण हुन्छ । त्यसैले किशोरावस्थाको जीज्ञासाहरूलाई समझदारीपुर्वक पुरा गर्न जरुरी हुन्छ । किशोरावस्थामा बालबालिकाको प्रजनन् अंगहरू पनि बढ्दछ । उनीहरूमा शारीरिक परिवर्तन मात्र नभएर मानसिक र भावनात्मक परिवर्तनहरू पनि आएका हुन्छन् । आफ्नो प्रजनन् अंगको वृद्धिसँगै भावनात्मक संवेगहरूले पनि उनीहरूलाई थप जागरूक बनाइ रहेको हुन्छ ।

    किशोरावस्थामा विशेष गरी केही नँया खोज गर्ने, अनौठो महसुश गर्ने भइरहेको हुन्छ । यो अवस्थामा आफ्नो शारीरिक मानसिक र भावनात्मक परिवर्तनसँगै आफु वरपरका वातावरण, परिवारले आफु प्रति गर्ने व्यवहारमा पनि फरक महसुश भइरहेको हुन्छ । जसले गर्दा उनीहरूको मनमा अनेकौ जीज्ञासाहरू आइरहेको हुन्छ । यो जीज्ञासाहरूलाई समयमा नै पुरा गर्न सकियो भने युवायुवतीहरूले आफ्नो भविष्यलाई कुन गतिमा लाने भन्ने कुरा पनि बुझ्छन् ।

    हाम्रो समाजले यौनको कुरा गर्ने वित्तिकै निकै पुरातनवादी सोच राखेर यसलाई खुल्ला रुपमा बहस गर्न खोज्दैन । यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी केवल विवाहित दम्पत्तिहरू बीच मात्र कुराकानी गर्न मिल्ने व्यवहारको विकास गरेको छ । तर किशोरकिशोरीहरूको मनमा यौनका बारेमा अनेकौ जिज्ञाशाहरू आइरहेका हुन्छन् । अभिभावकहरूको यस्तो परम्परावादी सोँचकै कारणले पनि आज भोली किशोरावस्थामा रहेका बालबालिकाहरू कुलतमा लाग्ने, कुसंगतका कारणले गर्दा आफ्नो बानि बिगार्ने गरिरहेका हुन्छन् । अझ असुरक्षित यौन गतिविधिहरूमा पनि संलग्न हुने गर्छन् । किशोरावस्थामा यौन सम्बन्धी जिज्ञाशाहरू पुरा भएन् भने किशोरकिशोरीहरुले कम उमेरमा नै असुरक्षित यौनसम्बन्ध राख्ने सम्भावना बढी हुन्छ जसले गर्दा अनईच्छित गर्भधारण, एच आई भि जस्ता यौन संक्रमण बढ्न सक्छ ।

    आफ्नो बालबालिकाहरूले सही बाटोमा हिडेर भविष्य उज्वल बनाओस् भन्ने हरेक बाबुआमाको चाहना हुन्छ । बढ्दो उमेरमा रहेका बालबालिकाहरूले आफूमा बढ्दै गएको यौन जिज्ञाशाका बारेमा कसलाई सोध्ने भन्ने बारेमा अलमलमा छन् । आफ्नो अभिभावकलाई सोध्दा नराम्रो व्यवहार गर्ने गरेको पाइन्छ वा यस्तो कुरा गर्न हुँदैन भन्ने सोचको विकास गराइन्छ ।

    प्रजनन् स्वास्थ्य भनेको प्रजनन् प्रणली, यसको कार्य र प्रजनन प्रक्रियाको सन्दर्भमा निरोगी रहनु वा बिरामी नहुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक दृष्टिकोणबाट समेत पुर्ण रुपमा स्वस्थ रहनु हो ।

    अभिभावकले आफ्नो बालबालिकामा आइरहेको परिवर्तनको बारेमा विशेष ध्यान दिएर उनीहरूको मनमा उब्जिएका जिज्ञाशाहरूलाई बुझेर त्यसको समाधान गर्नुपर्दछ । उचित तरिकाले समयमा नै बालबालिकाको मनमा लागेको यौन जिज्ञाशाका बारेमा जानकारी दिन आवश्यक हुन्छ ।

    यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा किशोरकिशोरीहरूलाई जानकारी प्रदान गर्नका लागि नेपालमा पनि कानुनी व्यवस्था रहेको छ । आर्थीक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी अन्तराष्ट्रिय प्रतिज्ञापत्र १९९६मा स्वास्थ्य सेवा पाउने अधिकार छ भनिएको छ । जसमा प्रजनन् स्वास्थ्य सम्बन्धी सेवा पनि पर्दछ । त्यस्तै मानव अधिकारमा आधारित  यौन तथा प्रजनन् अधिकारहरु रहेका छन् । जस्तै; बाँच्न पाउने अधिकार, व्यक्तिगत स्वतन्त्रता र सुरक्षको अधिकार, समानताको अधिकार, सबै प्रकारका भेदभाव देखि मुक्त हुने अधिकार, गोपनीयताको अधिकार, विवाह गर्ने नगर्ने अथवा परिवार बसाउने नबसाउने सम्बन्धी अधिकार, बच्चा जन्माउने नजन्माउने वा कहिले जन्माउने भन्ने विषयको निर्णय गर्ने अधिकार आदि ।

    त्यसैले किशोर किशोरीहरूले यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा जानकारी पाउने पुरा अधिकार छ । किशोरकिशोरीहरूले आफ्ना अभिभावकहरूबाट यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा जानकारी पाएनन् भने स्वास्थ्यकर्मिहरूबाट जानकारी प्राप्त गर्न सकन्छन् । किशोरकिशोरीहरूलाई स्वास्थ्य सम्बन्धी सेवा मैत्रीपुर्ण व्यवहारमा दिनु पर्छ भनेर स्वास्थ्य मन्त्रालय, परिवार स्वास्थ्य महाशाखाको किशोर-किशोरीहरूको स्वास्थ्य तथा विकास रणनीतिमा पनि उल्लेख गरेको छ । त्यसैले आफ्नो नजिकको स्वास्थ्य संस्थामा गएर यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा आफुलाई लागेको जीज्ञासाहरू राख्न सकिन्छ ।

     

     

    तपाइको मत
  • भिडियो सामाग्री