• २०७८ कार्तिक ९, मङ्लबार
  • |
  • Tuesday 26th October 2021
  • धत् ! यस्तो लाज हुने कुरा पनि सोध्ने हो र ?

    १५ श्रावण २०७४, आईतवार १३:३२
    • रमा अर्याल /

    म कपिलवस्तुको एउटा गाउँमा जन्मिएर त्यही हुर्किएकी केटी । सानो छँदा अत्यन्त चन्चले स्वभावकी थिएँ । कहिलेकाहिँ मामाघर (दाङमा) गएका बेला म नाचेर नै समसय बिताउने गर्दथेँ । उपद्रो गर्ने र बोलिरहने मेरो स्वभावले मामाघरमा कत्तिलाई दिक्कलाग्दो बनाउँदो हो कुन्नि ! तर अहिले ममा त्यो चन्चलता छैन । किनकि मैले किशोरावस्था पार गरेर अब युवा अवस्थामा आइपुगेकी छु ।

    जब मैले उच्च माविको अध्ययन सिध्याएर बुटवल बहुमुखी क्याम्पसमा स्वास्थ्य शिक्षामा स्नातक तहमा अध्ययन गर्नथालेँ, त्यस अध्ययन अबधिमा पनि मेरा अनुभवहरु मध्ये स्वास्थ्य शिक्षा अन्तर्गत यौन तथा प्रजनन स्वास्थ्य शिक्षा ग्रहण गर्दाको अनुभव पनि स्मरणीय रह्यो ।

    बुटवलमा पढ्न आउनुभन्दा अगाडि माध्यमिक तहमै पढ्दा केही दिनका लागि एकजना म्याडमले हामीलाई प्रजनन स्वास्थ्य शिक्षा पढाउनु भएको थियो । वास्तवमा उहाँ अंग्रेजी विषयको शिशिका हुनुहुन्थ्यो तर उहाँले प्रजनन स्वास्थ्य शिक्षाको तालिम लिएर आउनु भएको हुनाले त्यो पाठ्यांश  मात्र पढाउनु भएको थियो । उहाँले पढाएजस्तो सरल, बुझिने, खुलस्त र स्पष्ट कक्षा बुटवल क्याम्पसमा थिएन ।

    त्यतिबेला मैले बुझ्दा के लाग्यो भने प्रजनन स्वास्थ्य शिक्षा विध्यालय तहमा नै विद्यार्थीलाई राम्रोसँग पढाउँन पर्नेरहेछ । किनकि किशोरावस्थाको सुरुवातसँगै यौन तथा प्रजनन स्वास्थ्यका बारेमा शिक्षा शिक्षा दियो भने मात्रै स्वास्थ्य र जीननपयोगी सीप सम्बन्धी सुरक्षा विधिका बारेमा विद्यार्थीहरू स्पष्ट हुनेरहेछन । किशोरावस्था बितीसकेपछि शिक्षा दिएर त्यो प्रभावकारी नहुने रहेछ भन्ने मैले अनुभव गरेँ  ।

    बुटवलमा बि.एड. पढ्दा म किशोरावस्थामै थिएँ । पढ्ने क्रममा प्रजनन स्वास्थ्य विषयका अनगिन्ती जिज्ञाशाहरु ममा पनि थिए । प्रजनन प्रणाली, जनन्द्रीय अङ्गहरू र त्यसका कार्यहरुका बारेमा पाठ्यपुस्तकमा अनेकौ विषयवस्तु छन् तर ती विषयहरुमा कक्षामा कहिल्यै पनि खुलेर वहस गर्नु त के कुरा राम्रोसँग पनि पढाइएन । हामीलाई स्वास्थ्य शिक्षा विषय पढाउने मुख्य शिक्षक डा. सुरेन्द्र गिरी हुनुहुन्थ्यो र अरु पनि हुनुहुन्थ्यो । साँच्चै भन्ने हो भने प्रजनन स्वास्थ्य विषयका ती पाठ्यांशहरू हामी पढ्नका लागि पढ्थ्यौँ अनि शिक्षकहरू पनि पढाउनका लागि पढाउँने मात्र ।

    कक्षा कोठामा म पनि एक छात्रा । पढाउँने क्रममा जिज्ञाशाहरू पत्रैपत्र आउँथे । जिज्ञाशाहरु राख्ने इच्छा हुँदाहुँदै पनि सोध्ने वातावरण थिएन । सोधिहालियो भने कक्षा सकिएर कक्षा कोठाबाट बाहिर निस्केपछि केटाहरूले जिक्स्याएर हैरान बनाउँछन्, यौन हैरानी गराउँछन भन्ने कुरा निश्चित थियो ।

    शिक्षकले कक्षामा ती विषयहरु बाध्यताले पढाउँथे । हामी भने त्यस विषय पढाउँञ्जेलसम्म घोसे मुन्टो लगाएर वा अनुहार छोपेर सुन्नेगर्दथ्यौ । कहिलेकाँही कुनै केटाहरूले प्रजनन स्वास्थ्यका बारेमा शिक्षकलाई जिज्ञाशा राख्यो भने ‘छि यो केटा त कस्तो लाज पचेको, चुप्प लागेर सुने त भइहाल्यो नि, किन प्रश्न गर्नुपर्यो ?’ भनेर त्यो केटालाइ आँखा तर्ने केटीहरू पनि हामी मध्येकै हुन्थ्यौ । कतिपय अवस्थामा त हामी केटीहरूले नै प्रजनन शिक्षाको कक्षा छोडेर बाहिर निस्किएका पनि थियौ ।

    स्वास्थ्य शिक्षा पढिसकेपछि मात्र मैले थाहा पाएँ की हामीले जतिबेला सिक्न पर्ने समय हो त्यतिबेला धेरै गलत धारणाहरू पालिरहेका हुनेरहेछौँ । ती धारणा अभिभावकको डर र समाजको चलनले सिकाएका हुनेरहेछ । जसले गर्दा यो अवस्था हामी माथि आइलागेका रहेछन ।

    सानो छँदा आमाबुबालाई शारीरिक विकासका बारेमा जिज्ञासा राख्यो भने  यस्तो कुरा पनि सोध्ने हो भनेर अन्तै कुरा लाने चलन थियो, त्यो अहिले पनि छँदैछ । अभिभावकबाट प्रश्नको सही जवाफ नपाएपछि शिक्षकलाई सोध्नुपर्ने हो तर अभिभावकसँग भन्दा पनि बढि डराउँनु परेका शिक्षकहरुसँग कसरी ? त्यसमाथि पनि कक्षामा त केटाहरू पनि छन् । गिल्ला गरेर गलल्ल हाँस्छन् । त्यसलाइ कम्जोरी ठानेर यौन हैरानी गरिहाल्छन ।  यस्तैयस्तै धारणाले गर्दा हामीले कहिल्यै पनि पाउनुपर्ने जानकारी र सञ्चारका सीप सिक्न पाएनौँ । स्वास्थ्य शिक्षाका निश्चित पाठ्यांशहरू स्वध्यायन गरेर नै परीक्षा दिइयो ।

    कक्षा विद्यार्थी मैत्री वातावरण नहुनु यसको एउटा दोष हो भने अर्को दोष हामी छात्राहरूले पनि उही समाज, अभिभावक आदिको डर बोकेर बस्यौँ । अनि दोष शिक्षकको पनि हो । राम्रो तालिम प्राप्त गरेको शिक्षकले विद्यार्थी केन्द्रित प्रणाली अपनाएर शिक्षण गरे त सबै कुरा खुलस्त भइहाल्थ्यो नि । सामूहिक रूपमा अथवा गोपनीयता अपनाएर जिज्ञासाहरू संकलन गर्न सकिने रहेछ तर त्यसो कहिल्यै भएन । प्रजनन शिक्षालाइ सहज रुपमा पढाउँन सकिने अनेकौ विधिहरु हुँनेहरेछन त्यहि शिक्षण विधिहरु उनै शिक्षकहरुले कक्षामा पढाउँदथे । तर किन अपनाएनन ?  अनि शिक्षक नै लाजमा चुर्लुम्म डुबेर सङ्कोचमा विद्यार्थीलाई कसरी पढाउने ? अनि कक्षामा कसरी विद्यार्थीले जिज्ञासा राख्ने आँट गर्छन् ?

     अनि सँधै टाउकोमाथि त्यही प्रश्न घुमिरहन्छ धत् ! यस्तो लाज हुने कुरा पनि सोध्ने हो र ?

    साभार: यौवन स्वास्थ्य पत्रिका

    तपाइको मत
  • भिडियो सामाग्री