– चेतनाथ आचार्य /
खिरिलो शरीर भएका चिनियाँ महिलाहरु मोटाइन्छ कि भनेर चुरोट तान्ने गर्छन्। उनीहरु खाना कम खान्छन् र विभिन्न कसरत गरेर शरीरको तौल घटाउँछन्। शरीर मोटाउँदा चिन्तित बन्ने चिनियाँ महिलाहरु आफ्नो स्तन सानो भएकोमा चाहिँ अघोरै सुर्ता गर्छन्।
चिनियाँ महिलाहरु आफ्नो सानो स्तनका कारण सधैँ हिनताबोधमा बाँचेका हुन्छन् भन्ने कुरा जाइन्ट इन्टरनेट सर्च कम्पनी गुगलले पनि लेखेको छ। सन् २०१२ मा गुगलले चिनियाँ महिलाको व्याख्या गर्दा शारीरिक रुपमा पातला, छरिता, दुब्ला र साना स्तन भएका भनी उल्लेख गरेको थियो। चीनमा बिक्री हुने ब्राको साइज पनि सामान्यतः A साइजको हुने गुगलको रिपोर्टमा उल्लेख छ। A साइजको ब्रा भनेको सबैभन्दा साना स्तन भएका महिलाले लगाउने ब्रा हो।
अधिकांश चिनियाँ महिलाको स्तन सानो हुने भएकाले यदाकदा कुनै चिनियाँ महिलाको स्तन ठूला भएमा कस्तो
दृष्टिकोणबाट हेरिन्छ भन्ने कुराको उदाहरण हुन् वु सियाओयु। चाइना डेलीले दुई वर्ष अगाडि वु सियाओयुको एउटा फिचर नै प्रकाशित गरेको थियो। सन् २००७ मा वु २२ वर्षकी हुँदासम्म उनको स्तन क्रमशः बढिरह्यो। फलस्वरुप उनलाई ३६ D को ब्रा चाहिने भयो। यो चिनियाँ महिलाका लागि सामान्य अवस्था होइन। तसर्थ उनी आफ्ना सहपाठी र अरु चिनियाँको भन्दा ठूला स्तन भएकोमा निकै गर्व गर्थिन्। उनका सहपाठीहरु उनको स्तनको आरिस र डाह गर्दथ्ये। उनी भन्छिन् ‘अरु साथीहरु फोमवाला ब्रा लगाउँथे ताकि उनीहरुको स्तन ठूला र पोटिला देखिउन्। तर म भने पातलो कटनको ब्रा खोज्थेँ।’
सुरु सुरुमा आफ्ना ठूला स्तनप्रति गर्व गर्ने वु त्यही ठूला स्तनले हैरानी बेहोर्न बाध्य भइन्। पहिलो समस्या त उनले आफ्नो स्तनमा ठिक हुने ब्रा चिनियाँ बजारमा पाउन नै गार्हो भयो। यदि कतै पाइहाले पनि आफूले भनेजस्तो रङ, डिजाइन र गुणस्तरमा उनले पाइनन्। कुनै कुनै स्टोरमा उनलाई फिट हुने ब्रा तीनवटा मात्र हुन्थे। उनी ती तीनवटै ब्रा किन्ने गर्दथिन्।
उनले भोगेको अर्को समस्या जब उनी V सेपको टिसर्ट लगाएर कतै हिँड्थिन् त सबैले उनका ठूला स्तन चियाउन थाल्थे। उनी एक किसिमको यौन हैरानीको महशुस गर्थिन्। वुकी काकाकी छोरीको पनि उनको जस्तै ठूला स्तन थिए। उनकी काकीले आफ्नी छोरीलाई स्तन ठूला भएकै कारणले ब्राले कसेर सानो बनाउने सुझाव दिएकी थिइन्। ती युवती कलेज जाँदा अथवा घर बाहिर निस्कदा सधैँ ब्राले स्तन कसेर सानो बनाउने प्रयास गर्थिन्।
सन् २००७ मा स्नातक गरेपछि वु बेलायतमा पढ्न गइन्। बेलायतमा पुग्दा उनलाई ठूलो आश्चर्य लाग्यो। ठूला स्तन हुने महिलाका लागि त बेलायत स्वर्गजस्तै लाग्यो उनलाई। बजारमा उनको साइजभन्दा धेरै ठूला ब्राहरु पनि प्रशस्त पाइन्थे। डबल A देखि E साइजसम्मका ब्राहरु बजारमा फालाफाल थिए। अनि सबैभन्दा आनन्दको कुरा त वुले गला खुलेको V सेपको खुकुलो टिसर्ट लगाएर हिँड्दा पनि कसैले वास्ता गर्दैनथिए।
सन् २०१४ मा वु बेलायतबाट चीनमा फर्किइन्। उनले बिहे गरेर गर्भवती हुँदा स्वाभाविक रुपमा उनका स्तनहरु अझै बढ्न थाले फलस्वरुप उनका लागि अब E साइजको ब्रा चाहिने भयो। चीनमा E साइजको ब्रा प्राप्त गर्नु लगभग असंभव जस्तै हो। उनलाई इन्टरनेट प्रयोग गरेर बेलायतदेखि नै खरिद गर्नुपर्ने वाध्यता भयो। फरक कम्पनीको फरक नाम र डिजाइन हुने हुनाले उनलाई त्यसरी किनेका ब्राले ढाड देख्ने लगायतका स्वास्थ्य पनि समस्या सिर्जना गरिदियो। उनी भन्छिन् ‘मैले चीनमै बस्ने र काम गर्ने योजना बनाएँ तर मलाई ठीक हुने ब्रा पाउनै गार्हो छ। धेरै महिलाहरु गोप्य रुपमा आफ्नो स्तन ठूलो बनाउन चाहन्छन् तर यसबाट चिनियाँ समाजमा केकस्तो समस्या छ भन्ने कुरा उनीहरुलाई थाहा छैन।’
अहिले विश्वव्यापी रुपमा स्तनको साइज बढिरहेको छ। लाइभसाइन्स वेभसाइटले सन् २०१३ मा गरेको रिसर्च अनुसार अमेरिकामा सन् १९९५ मा ब्राको साइज ३४ B बाट ३६ C को बनाइएको थियो। अमेरिकामा विगत दुई दशकमा एभरेज ब्राको साइज पनि ३४ B बाट ३४ E मा वृद्धि भएको देखिन्छ।
विश्वमा आएको परिवर्तनले चीनलाई अछुतो राख्ने कुरै भएन। चीनमा पनि महिलाको स्तनको साइज बढिरहेको छ। सन् २००० को तुलनामा सन् २०१० मा चिनियाँ महिलाहरुको स्तन मात्र बढेको छैन उचाइ पनि बढेको छ। उनीहरुको उचाइनको तुलनामा तौल भने बढेको छैन। चीनमा गरिएको एक अनुसन्धान अनुसार सो एक दशकको अवधिमा २० देखि २४ वर्षका महिलाहरुको स्तनको साइज ८१.५ सेन्टिमिटरबाट ८२ सेन्टिमिटर पुगेको छ भने उचाइ बढेर १५८.६ सेन्टिमिटरबाट १५९ सेन्टिमिटर पुगेको छ। त्यसैगरी २५ देखि २९ वर्षको उमेर समूहमा स्तनको साइज ८२.५ सेन्टिमिटरबाट ८३.४ सेन्टिमिटर पुगेको छ भने उचाइ १५८.२ सेन्टिमिटरबाट १५८.७ सेन्टिमिटर पुगेको छ। चीनमा सन् १९९० को दसकमा सबैभन्दा प्रचलित ब्राको साइज ३४ A र ३४ B थियो। अहिले यो परिवर्तन भएर ३४ B र ३४ C मा वृद्धि भएको छ। ग्राहक संख्या न्युन भएकै कारणले ३४ D का ब्रा उत्पादन चीनमा थोरै हुने गर्दछ। ३४ D भनेको विश्वव्यापी रुपमा सबैभन्दा प्रचलित ब्राको साइज हो।
अन्य देशमा जस्तै चिनियाँ महिलामा पनि डिएनए र खानपानले गर्दा स्तनको साइज बढिरहेको छ। सन् १९७० को दशकमा जन्मिएका महिलाको स्तन पहिलेका महिलाको तुलनामा ठूलो हुनुको मुख्य कारण चिनियाँ रहनसहन र खानपान हो। चीन अहिले गरिब मुलुकबाट मध्यम मुलुकमा विकसित भइसकेको छ। पहिले पौष्टिक खाद्यान्न पुग्दो थिएन। मान्छेले पेट भरि खान पाउँदैन थिए। हिजोआज पौष्टिक र बोसोयुक्त खानेकुराले महिलाको स्तन बढिरहेको छ। यद्यपि चिनियाँ महिलाहरु स्लिम देखिनका लागि डाइटिङ गर्ने र शरीरको वजन घटाउने हुनाले पनि तुलनात्मक रुपमा स्तन सानो हुने गर्छ। शरीरको मोटाइ र वजनसँग स्तनको प्रत्यक्ष सम्बन्ध हुने गर्छ। एकातिर चिनियाँ महिलाहरु प्लास्टिक सर्जरी गरेर स्तन बढाउन चाहन्छन् भने अर्कातिर स्लिम हुनलाई डाइटिङ गर्दछन्। यी दुवै कुराले उनीहरुको स्वास्थ्यमा प्रतिकूल अवस्था सिर्जना गरिरहेको हुन्छ।
प्रशस्त पैसा खर्च गरेर हिजोआज चिनियाँहरुले स्तनको प्लास्टिक सर्जरी गर्दछन्। पैसा अलिक कम हुनेहरु चाहिँ विभिन्न विज्ञापनमा आउने विधि प्रयोग गरेर स्तन बढाउने चाहना राख्छन्। स्तन सानो हुन्छ भन्ने भ्रमकै कारण प्रायजसो चिनियाँ महिलाले आफ्ना शिशुलाई छ महिनाभन्दा बढी स्तनपान गराउँदैनन्।
चिनियाँ महिलाहरुले मोटो प्याड राखेको ब्रा लगाउने गर्छन्। साना स्तनबाट सधैँ हिनताबोध गर्ने चिनियाँ युवतीहरुले मोटो प्याड भएको ब्रा लगाएर छातीलाई आकर्षक र उच्च देखाउने गर्छन्। पश्चिमा देशहरुमा प्याड नराखेको कटनको ब्रा लगाउने चलन छ। ब्राभित्र प्याड अथवा फोम राख्नु भनेकै साना स्तन भएका महिलाले आफ्नो स्तनलाई ठूला देखाउनका लागि हो। चिनियाँ बजारमा प्याड नराखेको ब्रा निकै कम मात्रामा पाइन्छ।
chetnath@ymail.com
(आचार्य चीनको राजधानी बेइजिङस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीआरआई नेपाली सेवामा विदेशी विशेषज्ञका रुपमा कार्यरत छन्।)