• २०७८ भदौ ३१, बिहिबार
  • |
  • Thursday 16th September 2021
  • किन आवश्यक छ युवामैत्री यौन तथा प्रजनन स्वास्थ्य सेवा ?

    २० भाद्र २०७४, मंगलवार २३:००

    रामकृष्ण पराजुली/

    “म जहिले पनि कण्डम लिन स्वास्थ्य चौकीमा जान्थें, पुगेपछि एक छिन उताउता टोल्लिन्थें र साह्रै असजिलो हुन्थ्यो र अन्त्यमा खाली हात फर्कन्थें । पसलमा किन्न त झन डर लाग्थ्यो किनकि सबैले चिनेका हुनाले केहि सोध्ने पो हुनकि भन्ने डर हुन्थ्यो । कण्डम नपाएकै कारण मेरो गर्लफ्र्याण्डको अनिच्छित गर्भधारण भयो । त्यसैको कारणले गर्दा नै मैले १० कक्षा पढ्दापढ्दै बिवाह गर्न पर्यो । परिवारबाट अलग हुनुपर्यो । पढाइ छोडेर आज यसरी मज

    दुरी गर्न पर्यो ।”

    यो कथा होइन । भक्तपुर गठ्ठाघरको एक सिमेण्ट पसलमा कार्यरत दोलखाका कुमार (नाम परिवर्तन)ले भोगेको विगत हो । उनी प्रतिनिधि पात्र मात्र हुन । हाम्रा स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाहरु युवा मैत्री नहुनाका परिणाम भोग्ने कुमार जस्ता धेरै युवा किशोरकिशोरीहरु छन । शिक्षक तालिमको दौरानमा विगत ४/५ बर्ष अगाडि एक शिक्षकले पनि आफ्नो अनुभव सुनाउँदै भनेका थिए – ” एक दिन कक्षा कोठामा एकजना किशोरी डेस्कमा मुणटो अड्याए सुतेकि थिइन मैले पढाएर सक्ने बेलासम्म पनि उनि उठिनन । मैले सोधें उनको बारेमा र उनले टाउको दुख्यो भनेर रुन थालिन । मैले स्कुलमा मिसको सहायता मागेर अफिसमा लैजान भनेँ तर उनी झन रुन थालिन र अफिसमा जन मानिनन् । मिसले शका लागेर सोध्दा थाहा भयो उनलाइ महिनावारीको समस्याले तल्लो पेट दुखेको रहेछ । साथीको व्यवस्था गरेर हेडसरले स्वास्थ्य चौकि पठाइदिनु भयो । स्वास्थ्कमृले सोधेछन के भयो भनेर । उनले त्यहा पनि खुलेर भन्न नसकेर टाउको दुखेको भनिन । स्वास्थ्य कर्मीले सिटामोल दिएर पठाए ।”

    किन यस्तो हुन्छ ?

    स्वास्थ्य सेवा स्वास्थ्य संस्थामा मात्र नभएर स्कुल वा घरमा पनि भएरहेको हुन्छ तर कुनै पनि ठाउँ युवा मैत्री नहुँदा युवा तथा किशोरकिशोरीहरुले जोखिम मोल्नु परेको हुन्छ । यसको एउटै मात्र कारणहो यौन तथा प्रजना स्वास्थ्य शिक्षाको अभाव । त्यस बाहेक हाम्रो समाजमा यौनिकता प्रतिको नकारात्मक धारणा र यौन सम्बन्धी कुराकानीमा बर्जित गरिएको हुनाले हो । लाजको विषय हुनु हो । यौनलाइ इज्जत प्रतिष्ठासँग जोडिएकोले हो ।

    ग्रामिण समाजका प्राय युवाकिशोरकिशोरीहरु र विशेषगरी अविवाहित छन, उनीहरु  स्वास्थ्य संस्थामा कण्डम वा कुनै पनि किसिमको गर्भ निरोधका साधान लिन सक्दैनन । अझ बढी किशोरीहरुका लागि त धेरै नै असहज छ । तथ्यतथ्याङ्कहरुले भने विवाह पुर्व यौन सम्मर्क गर्नेहरुको संख्या क्रमश बढ्दै छ ।

    अविवाहित किशोरीले अनिच्छित गर्भधारण गरिन् भने गर्भ पतन गराउँने निर्णय गरिन भने यहि समाजको कारण गर्भपतनको बारेमा परामर्श लिन जान सक्दैनन । जसका कारइ ठुलाठुला तनावमा परेका हुन्छन । तनाव व्यवस्थापन गर्ने जीवनोपयोगी सीप नहुँदा आत्माहत्या समेत गरेका हुन्छन । जहिले सम्म घर, विद्यालय तथा अन्य सार्वजनिक ठाउँहरु युवा मैत्री हुदैनन र यौनस्वास्थ्य र यौन शिक्षाका बारेमा किशोरावस्था देखि नै सुरु गरिदैन र आफ्ना कुराहरु निर्धक्क भन्ने वातावरण बन्दैन यौन सम्बन्धी जोखिमहरु घट्न सक्दैन । यौन हिंसाहरु घट्न सक्दैन ।

    यौन तथा  प्रजनन स्वास्थ्य सेवा लिन विद्यालयमा पढ्दै गरेका युवाकिशोरकिशोरीहरू लागि पहुँचमा निकै कम हुन्छन, किनकी उनीहरूको स्कुल र अधिकांश कलेजको समय एउटै हुन्छ । अझ स्कुल बन्द हुनु पहिले नै बन्द भैसकेका हुन्छन । विद्यालय र कलेज विदा हुने दिन  ती स्वास्थ्य संस्थाहरुमा पनि विदा हुन्छ ।

    असुरक्षित यौनसम्पर्क भएको कारण यौनजन्य वा एचआईभी संक्रमण भएको शंका लागेमा स्वास्थ्य संस्थामा सम्पर्क गरेर परामर्श लिन तथा रगत परीक्षण गराउन सक्ने युवाकिशोरकिशोरीहरुले ठुलै आँट गर्न पर्ने हुन्छ किनकी यदि उनीहरुको गोपनीयता कतैबाट भङ्ग भएमा वा कसेले देखेमा समाजमा विभिन्न प्रकारका लाञ्छना र अपहेलना खेपिरहनुपर्ने डर मानेका हुन्छन ।

    यौन तथा प्रजनन स्वास्थ्य समस्यामा परेका युवाकिशोरकिशोरीहरू पिरोलिरहेका हुन्छन हुनाले यौनिकता, यौन तथा प्रजनन स्वास्थ्य सेवा तथा परामर्शका लागि युवा किशोरकिशोरीहरु स्वास्थ्य संस्थाहरु वा परामर्मश केन्द्रहरुमा जान चाहन्छन ।  यदि आफुले चाहेको जस्तो युवामैत्री (सुलभ, पहुँच योग्य, विश्वसनीय र गोपनीयता कायम हुने र दक्ष स्वास्थ्यकर्मीहरू तथा सबै सुविधा भएको) स्वास्थ्य संस्थाहरूबाट सेवा तथा कार्यक्रम पाउन सकेमा यौनका विभिन्न जोखिमहरुबाट छुट्कारा पाउँन सक्दछन ।

    तथ्याङ्कहरुले के भन्छ ?

    विश्वमा वर्षेनी १ करोड ५० लाख किशोरीहरू (१५ देखि १९ वर्षका) बच्चा जन्माउँछन् । १६ वर्ष नपुग्दै बच्चा जन्माउने किशोरीहरूको मृत्यु हुने सम्भावना २० वर्षमा बच्चा जन्माउने भन्दा दोब्बर हुन्छ । कम विकसित राष्ट्रका झण्डै ४० लाख युवा किशोरीहरू असुरक्षित गर्भपतन गराउँछन् । संसारभरीका एचआईभी संक्रमितमध्ये आधा २५ वर्षभन्दा कम उमेरका छन् । दसजना यौनजन्य संक्रमितमध्ये सातजना १५ देखि २४ वर्ष उमेर समूहका छन् ।

    यसैगरी नेपालको राष्ट्रिय स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार १५ देखि १९ बर्ष उमेर समूहका किशोरीहरुले पहिलो बच्चाका लागि गर्भ धारण गरेका हुन्छन । त्यसमा २ नं प्रदेशमा सबै भन्दा बढी २७ प्रतिशत र सबै भन्दा कम ३ नं प्रदेशमा १० प्रतिशत छ ।

    एचआईभी संक्रमितहरूको तथ्यांक हेर्दा पनि १० देखि २४ उमेर समूहको संख्या बढ्दो क्रममा देखिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार १० प्रतिशत युवाले असुरक्षित यौन सम्पर्क राख्छन् । कतिपयले कण्डमको प्रयोग गरे पनि सही तरिकाले  प्रयोग गर्ने सीपको अभाव रहेको देखिन्छ ।

    के असर परेको छ त ?

    यी उमेर समूहका अधिकांशले पहिलो देखि दोस्रो बच्चासम्म अनिच्छित गर्भधारण गरेका हुन्छन । यी तथ्याङ्कहरु बिवाहितहरुको हो तर अबिवाहितहरुको अवस्था त झन धेरै चुनौतीपूर्ण हुनु स्वभाविकै छ । त्यसैगरी, महिनावारी हुने उमेर बढ्दैछ भने ढिलो बिवाह गर्नेहरको संख्यामा पनि क्रमश बृध्दि हुँदैछ । यो बीचको अवधिमा युवाहरुले यौनसम्पर्क नगरी बस्न सक्छन भनेर कल्पना गर्न सकिन्न । यो अवस्थामा उनीहरुले सहजै रुपमा अस्थायी साधान पाउन नसक्ने वातावरण हुनुभनेको जोखिम पूर्ण यौन व्यवहार बढ्नु हो । उनीहरूमा यौन तथा प्रजनन् स्वास्थ्य विषयमा सूचना सेवा तथा जीवनोपयोगी सीप एवं ज्ञानको पनि कमी छ । जसले गर्दा उनीहरूले आफ्ना समस्याहरू अभिभावक, शिक्षक तथा समुदायका प्रमुख व्यक्तिहरूसँग खुल्ला रूपमा व्यक्त गर्न सक्दैनन् । न त स्वास्थ्य केन्द्रमा गई स्वास्थ्यकर्मीसँग खुलस्त कुरा राख्न सक्छन् । फलस्वरूप उनीहरूमा यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सही निर्णय गर्ने सामर्थ्य कम्जोर हुन्छ । त्यस्तै, यौनशिक्षाको वा युवा मैत्री स्वास्थ्य सेवाको अभावले युवा किशोरकिशोरीहरूले हस्तमैथुन, डण्डिफोर, स्वप्नदोष, रजस्वला र रक्तश्राव, सेतो पानी बग्ने र अनिच्छित गर्भधारणजस्ता सामान्य खालका स्वास्थ्य समस्यालाई पनि ठूलो समस्याको रूपमा लिइरहेका हुन्छन् र असुरक्षित गर्धारणका साथै लामो समयसम्म मानसिक तनावमा गुज्रिएका हुन्छन ।

    किशोरवस्था लजालु स्वभावको हुन्छ त्यसैले यौनसम्बन्धी समस्याहरु राख्न संकोच मान्छन् । स्वभावैले उनीहरू नयाँ–नयाँ कुराहमा जिज्ञाशु हुनेहुँदा अनुभव गर्न विना सोचबिचार नयाँनयाँ निर्णय गर्छन् । त्यसैले यौनसम्पर्क गर्नु पनि त्यस मध्य एक महत्वपूर्ण हो ।

    के छ विद्यमान अवस्था ?

    स्वास्थ्य सेवा केन्द्रहरूमा अझैपनि कुनैपनि तहको स्वास्थ्य सेवा निकायहरूमा स्वस्थ्य सेवा वा परमर्शलाइ गोपनीयतालाइ मानिसहरुले विश्वासनीय वा गोपनीयता मानेका पाइदैन । त्यसमा पनि युवा मैत्रीका दृष्टिकोणले पर्याप्त भौतिक संरचनाको अभाव छ । एकैठाउँबाट विविध स्वास्थ्य सेवा उपलब्ध गराइएको हुन्छ । त्यसले पनि गोपनीयता माथि शंका छ । अनि ती स्वास्थ्य संस्थाहरु युवाकिशोरकिशोरीहरुलाई पायक पर्ने ठाउँमा छैनन् । स्वास्थ्यकर्मीहरूमा युवा मैत्री सेवा दिने सीप सम्बन्धी तालिमको अवसर कम छ । त्यसैले सेवा केन्द्रहरूमा युवा किशोरकिशोरीहरूको सेवा लिने संख्या न्यून छ ।

    दीर्घकालीन स्वास्थ्यनीति तयार गर्दा लक्षित समूहको प्रतिनिधित्व गराउने अभ्यास ज्यादै न्यून छ । त्यसैकारण विद्यमान राष्ट्रिय तथा जिल्ला स्तरीय सेवा केन्द्रहरूबाट प्रदान गरिने स्वास्थ्य सेवाहरू मैत्रीवत् हुन सकेको छैन ।

    हाम्रो समाज

    अधिकांश अभिभावक, शिक्षक तथा समुदायका अगुवाहरू यौन तथा प्रजनन् स्वास्थ्य शिक्षाका पक्षमा वकालत गर्न हिच्किचाउँछन् । उनीहरूमध्ये कतिपयले यौन तथा प्रजनन् स्वास्थ्यको ज्ञानबाट छोराछोरी कुबाटोमा लाग्ने गलत सोचाइ राख्छन् । किशोरकिशोरीहरूका चाहना भने स्वास्थ्य सेवा केन्द्रबाट प्रदान गरिने सेवाहरू मित्रवत् हुनुपर्ने, स्वास्थ्यकर्मीहरू तालिम प्राप्त हुनुपर्ने, सेवा शुल्क न्यून हुनुपर्ने, सेवा केन्द्र पायक पर्ने ठाउँमा हुनुपर्ने, सेवा केन्द्र उपयुक्त समयमा खोलिनुपर्ने तथा सेवा केन्द्रमा अधिकतम गोपनीयता तथा विश्वसनीयता होस् भन्ने चाहना राख्छन् ।

    युवा किशोरकिशोरीहरू स्वास्थ्य बिग्रनु भनेको राष्ट्रले ठूलो मूल्य चुकाउनु हो । अतः युवा किशोरकिशोरीहरूका चाहनाअनुरूपको समय, स्थान, तथा वातावरणमा न्यूनतम सेवा शुल्क लिई तालिम प्राप्त स्वास्थ्यकर्मीहरूबाट गोपनीयता तथा विश्वसनीयता कायम गरी गुणस्तरीय यौन तथा प्रजनन् स्वास्थ्य सेवा प्रदान गर्नुपर्दछ ।

    सेवा दिने स्वास्थ्यकर्मीहरू कस्तो हुनुपर्छ

    • युवा मैत्री स्वास्थ्य सेवा सम्बन्धी विशेषत तालिम प्राप्त स्वास्थ्यकर्मी
    • युवा किशोरकिशोरीहरूका भाजनालाई सम्मान गर्ने ।
    • युवाकिशोरकिशोरीहरुको गोपनीयता तथा विश्वसनीयता कायम गर्नसक्ने ।
    • सेवा दिने र लिनेबीच अन्तरक्रियाका लागि प्रशस्त समय भएको ।
    • संस्थामा एउटै उमेर समूहका परामर्शकर्ताको व्वस्था ।

    कस्तो हुनुपर्छ स्वास्थ्य संस्था ?

    • बस्तीहरु देखि छुट्टै स्थान र युवाकिशोरकिशोरीहरुको समय मिल्ने व्यवस्था भएको वा समय तोकिएको ।
    • पायक पर्ने स्थान
    • छलफल वा परामर्श र खेलकुदकझ लागि प्रशस्त ठाउँ भएको
    • वरिपरिको वातावरण पनि अनुकुल र सौम्य भएको ।

    कार्यक्रम तथा सेवासुविधा कस्तो हुनुपर्छ ?

    • कार्यक्रम तथा सेवा सुविधासम्बन्धी योजना बनाउँदा युवा किशोरकिशोरीहरूको सहभागी हुनुपर्ने ।
    • निरन्तर रूपमा उनीहरूको सल्लाह र सुझावलाई ध्यान दिइनुपर्ने ।
    • धेरै भीडभाड हुनुनहुने र धेरै समय कुर्नु नपर्ने ।
    • उपयुक्त शुल्क
    • सबैले बुझ्नेगरी सेवाका सूचना तथा जानकारी भएको
    • सबै प्रकारका स्वास्थ्य सेवाहरू भएको
    • आवश्यक सम्प्रेषण सुविधा भएको ।
    तपाइको मत
  • भिडियो सामाग्री