• २०७८ कार्तिक ६, शनिबार
  • |
  • Saturday 23rd October 2021
  • यौनदुवर्लताका कारक तत्वहरू

    २५ भाद्र २०७४, आईतवार ०६:३७

    – डा. खेम ब. कार्की /

    पुरुषहरुमा हुने यौन दर्बलताका सन्दर्भमा, लिङ्ग राम्रोसँग उत्तेजित नहुनु वा यौनसम्पर्कको समयावधिमै पनि लिङ्ग पुराअवधि उत्तेजित अवस्थामा रहन नसक्नु, जसको कारण यौनसम्पर्क राम्रोसँग गर्न नसक्नु र यौन जोडीलाई यौन सन्तुष्टि प्राप्त नहुनुलाई सामन्यतया यौनदुर्वलता भनिन्छ ।

    यौनदुर्वलताको अनगन्ती कारणहरूलाई दुई भागमा बाँड्न सकिन्छ । मनोवैज्ञानिक र शारीरिक । नेपालीहरूको यौनदुर्वलताको अवस्थाको बारेमा अहिलेसम्म वैज्ञानिक अनुसन्धान नै भएको छैन । तर स्वास्थ्य संस्थामा यौनदुवर्लताका विरामीहरू प्रशस्तै आउन थालेका छन् । यौनदुवर्लता गराउने शारीरिक कारणहरू अर्थात् शारीरिक प्रक्रियामा आएको गडबढीले गर्ने यौनदुवर्लताका पनि थुप्रै कारक तत्वहरू छन् । ती मध्ये सुर्तीजन्य पदार्थ, अत्यधिक रूपमा मदिराको सेवन, मोटोपन, रगतमा वोसो र चिनीको बढी मात्रा, उच्चरक्तचाप, पाको उमेर प्रमुख कारक तत्वहरू हुन् । पाको हुँदै गएको उमेर बाहेक अरू कारक तत्वहरू परिवर्तन गर्न सकिने खालका छन् । यौनदुर्वलता विश्वव्यापी रूपमा बढ्दै गएको स्वास्थ्य समस्या हो । यसले मान्छेको ज्यानै त लिँदैन तर यस्तो समस्या भएका मानिसहरूमा चिन्ता बढी हुने र जीवनमा आनन्द प्राप्त गर्न सक्दैनन् ।

    अमेरिकाको वोस्टन विश्वविद्यालयले सन् १९८७ देखि ८९ सम्म गरेको अनुसन्धानअनुसार ४० वर्ष नाघेका करीव ३९ प्रतिशतले यौनदुवर्लता भएको महसुस गर्छन् भने ७० वर्ष नाघेकाहरूमा दुई तिहाईले यस्तो समस्य भोग्छन् ।

    मधुमेह, मुटुको रोग, क्यान्सर जस्ता दीर्घ प्रकृतिका नसर्ने रोगहरूका कारक तत्वहरू नै यौनदुवर्लताका पनि कारक तत्वहरू हुन् ।

    अर्का अमेरिकी अनुसन्धान (webmd) ले करिव ५२ प्रतिशत मधुमेह रोगीलाई कुनै न कुनै प्रकारको यौनदुवर्लता हुने कुरा बताएको छ भने त्यही अनुसन्धानले ३९ प्रतिशत मुटुरोगीहरूमा पनि यो समस्या हुन्छ भनेर ठोकुवा गरेको छ । अझ मुटुरोगीले सुर्तीजन्य पदार्थ वा चुरोटको सेवन गरिरह्यो भने यौन दुवर्लताको प्रतिशत ५६ पुग्ने प्रमाणित गरेको छ । उच्चरक्तचाप भएका र औषधि सेवन गरिरहेकाहरूमध्ये २० प्रतिशतलाई यौनदुवर्लता भएको कुरा बताइएको छ ।

    सुर्तीजन्य पदार्थ, मदिरा, उच्चरक्तचाप वा वोसो र चिनीको मात्रा बढ्दा शरीरमा आउने खराबीमध्ये रक्तनलीहरू साँगुरिने वा कडा हुने कुरा नै यौनदुर्वलतासँग बढी सम्वन्धित छ । रक्तनलीहरू खासगरी मुटुबाट सुद्ध रगत शरीर भरी फैलाउने धमनीहरूमा उल्लिखित कारक तत्वहरूको कारण वोसो जमेर साँगुरो हुने वा नली कडा हुने हुँदा लिङ्गलाई रगत आपूर्ति गर्ने नलीमा पनि यस्तो अवस्था आँउछ । जसको कारण लिङ्गउत्तेजित हुन आवश्यक रगत लिङ्ग भित्र जान सक्दैन । फलतः लिङ्ग दरो हुँदैन वा दरो भइरहन सक्दैन । लिङ्ग उत्तेजित हुनु भनेको नै लिङ्गको मांशपेशीहरूमा सामान्य अवस्थाको भन्दा १६ गुणा बढी रगत संचार हुनु हो । त्यसैले रक्तनली साँगुरो भएर मुटु वा मस्तिष्कमा रगत नपुग्दा त मान्छे मर्ने संभावना नै भइहाल्छ तर लिङ्गमा पनि एथेष्ट रक्तसंचार भएन भने यौनजीवन त लथालिङ्ग हुन सक्ने त भयो नि ।

    त्यसैले नसर्ने रोगका कारक तत्वहरू नै यौन दुवर्लताका कारणहरू हुन् । ती कारक तत्वहरू हटाउन सकियो भने मुटुरोग, मधुमेह, क्यान्सर मात्र नलाग्ने होइन कि यौनजीवन पनि सुमधुर राख्न सकिन्छ । यौनजीवन सफल रहनु भनेको नै आनन्द प्राप्त गर्नु हो । त्यसैले चुरोट, मदिरा जस्ता शरीरलाई प्रतिकूल असर पर्ने पदार्थको सेवन नगरौँ र नसर्ने रोग यौनदुर्वलता जस्ता दीर्घ प्रकृतिका रोग र समस्याबाट बचौँ ।

    तपाइको मत
  • भिडियो सामाग्री