यौन सम्पर्कको कुरा गर्दा पुरुषले योनीको बारेमा र महिलाले लिङ्गको बारेमा सोचेका हुन्छन् । यो स्वाभाविकै हो किनकी प्राकृतिक रूपमा एक आपसलाई एक अर्काको यौनाङ्गबाट नै आनन्द लिएको हुन्छन् । एक अध्ययन अनुसार योनीका बारेमा जति महिला चिन्तित हुन्छन्, त्यो भन्दा धेरै लिङ्गको बारेमा पुरुषहरूले चिन्ता गरेका हुन्छन् । चिकित्सकहरू वा अरू मनोपरामर्शकर्तासँग आफ्नो जिज्ञासाका बारेमा बताउन नसक्नेहरू त आफ्नै लिङ्गको बारेमा झन् धेरै कौतूहलमा परेका हुन्छन् । हस्तमैथुन गर्नेहरू कतिपय पुरुषहरू विभिन्न किसिमका भ्रमहरूका कारण मानसिक बिमारी अवस्थामा पुगेका हुन्छन् । उनीसँग कसैले लिङ्गका कुरा गरेमा यसका बारेमा जान्न धेरै उत्सुक हुन्छन् ।
उमेर बढ्दै र शरीर पनि बढ्दै जाने क्रममा लिङ्ग पनि बढ्दै जान्छ । किशोरावस्थामा प्रवेश गरेपछि यसको आकारमा निकै वृद्धि भइसकेको हुन्छ । अण्डकोषले निकाल्ने यौन हर्मोनको प्रभावले लिङ्ग निकै उत्तेजित हुन थाल्छ । युवा अवस्थासम्म स्वस्थ मानिसको लिङ्गको सक्रियतामा कुनै कमी आउँदैन । वयस्क अवस्थामा पुग्दा पुरुषहरूको यौन शक्ति पनि घट्दै जान्छ । किनकी यौन हर्मोनको उत्पादनमा कमी आउने हुनाले यौन चाहना र उत्तेजना पनि घट्दै जानु स्वाभाविकै हो । यसलाई मानिसले चिन्ताको रूपमा लिइनु हुँदैन । यौन सम्पर्क गर्ने चाहना भए पनि वयस्क अवस्था पार गर्दै गर्दा लिङ्ग उत्तेजित निकै समय लाग्छ र यौन सम्पर्क गरेपछि चरम आनन्दको चरण (वीर्य स्लखनको चरण) मा पुग्न पनि निकै समय लाग्न सक्छ । यस्तो अवस्थामा महिलाहरूमा विस्तारै योनी टट्टाएर दुख्न थाल्दछ । वयस्क उमेर पार गर्ने उमेरका कतिपय पुरुषहरूको वीर्य स्खलन हुनअगाडि नै लिङ्ग शिथिल भइ यौन असन्तुष्टि सहित यौन सम्पर्कको काम स्थगित गर्न बाध्य हुन्छन् । बेला-बेला यस्तो भइ रहयो भने कतिपय पुरुषहरू मानसिक चिन्तामा परेका हुन्छन् भने महिला (श्रीमती हो भने) ले पुरुष प्रति अनेकौँ शङ्का गर्न थालेका हुन्छन् । वयस्क अवस्था पार गर्ने उमेरसँगै उनीहरूको वीर्यको मात्रा र शुक्रकीटको गुणस्तर पनि घट्दै जान्छ गएको कारण यस्तो भएको हो । तरपनि बृद्धा अवस्थामा पुग्दा पनि यौन मतलब यौन सम्पर्क नै गर्न नसक्ने हुने होइन । यसैको कारण मात्र मानसिक चिन्ता गर्नु भएन ।
धेरै पुरुषहरूले ४० देखि ४५ वर्ष पछिबाट पिसाबसम्बन्धी समस्याको पनि अनुभव गरेका हुन्छन् । अध्ययनहरूले देखाए अनुसार पिसाब थैलीको मांसपेशीहरू कमजोर हुँदै जाने हुँदा पिसाबको धारो कमजोर हुन्छ । त्यसैगरी प्रोस्ट्रेड ग्रन्थि बढ्ने भएर पनि पिसाब फेर्न गाह्रो हुनसक्छ । यस्ता शारीरिक परिवर्तनहरूका साथसाथै लिङ्गको अवस्था र कार्यमा पनि विस्तारै परिवर्तनहरू हुँदै जान्छ ।
वयस्क अवस्था पार गरी सकेर बृद्धा अवस्था सुरु भएपछि लिङ्गको टुप्पो तन्नेरी अवस्थाको जस्तो गुलाबी हुँदैन । लिङ्गको टुप्पोमा रगतको सञ्चार राम्रोसँग नभएको हुँदा यस्तो भएको हो । त्यसैगरी लिङ्ग वरिपरिका रौँहरू पनि विस्तारै-विस्तारै झर्न थाल्छन् र कालान्तरमा निकै पातलो भएर कसै कसैको त सबै झरेर नाङ्गै हुन्छ ।
लिङ्गको आकार खुम्चिदैं जानाले सानो भएको देखिन्छ तर उत्तेजित हुँदा भने आकार उत्रै हुन्छ । बुढ्यौली बढ्दै जाँदा लिङ्गमा रक्तसञ्चार हुने नलीहरू पनि साँगुरिने र लिङ्ग भित्र रगत भरिने ठाउँको एक किसिमको स्पन्ज जस्तो मांसपेशी पनि कम फुल्ने हुँदा लिङ्गको बैँसको जस्तै सारै दह्रो नहुन सक्छ । लिङ्ग उत्तेजित हुन सामान्य अवस्थाको शरीरको अन्य भागको दाँजोमा लिङ्गमा चाहिँ १६ गुणा बढी रगत प्रवाह भइ लिङ्गको विशेष किसिमको मांसपेशीमा जम्मा हुनुपर्छ ।
उमेर ढल्कँदै जाँदा लिङ्ग भित्रका मांसपेशीहरू बूढो हुने र खुम्चने हुँदा लिङ्ग केही बाङ्गिने हुनसक्छ र कुनै बेला धेरै नै उत्तेजित भएको अवस्थामा लिङ्ग दुखेको अनुभव गरेका हुन्छन् ।
त्यसैले लिङ्गको पनि शरीरका अरू अङ्गहरूको जस्तै आफ्नै जीवन चक्र छ । अरू अङ्गहरूलाई काम गर्न गाह्रो भए जस्तै लिङ्गलाई पनि काम गर्न गाह्रो हुन्छ भन्ने कुरा बुझि राख्नु राम्रो हुन्छ । यही अवस्थालाई कमजोरी ठानेर व्यापारीहरूले अनेक औषधि पनि बेचिरहेका हुन्छन् । लिङ्ग दह्रो बनाउने कुनै पनि औषधि जथाभाबी प्रयोग गर्दा स्वास्थ्यमा अरू प्रतिकूल असर पर्न सक्दछ । प्रयोग नै गर्न परे पनि सम्बन्धित विषयका विशेषज्ञ चिकित्सकसँग नै परामर्श गर्नुपर्छ ।