• २०७८ कार्तिक ९, मङ्लबार
  • |
  • Tuesday 26th October 2021
  • पहिलो महिनावारीको फरक फरक अनुभूति

    ६ आश्विन २०७४, शुक्रबार १६:१०

    -निलम भण्डारी /

    महिलाको जीवनमा शारीरिक परिवर्तनको पहिलो चढाव भनेको नै महिनावारी हो । जुन किशोरावस्थामा हुने गर्छन् । महिनावारी हुनु भन्दा अघि केही शारीरिक परिवर्तनहरू त देखा पर्छ तर महिनावारी शरीरका अंगहरूमा थप परिवर्तन हुन थाल्छन् । हर्मोनहरू थप सक्रिय हुन्छन् । यससँगै विभिन्न संवेगहरू देखा पर्छन् र अनेक किसिमको कौतूहल हुने गर्छ । तर ती कौतूहल कसरी मेट्ने थाहा हुँदैन ।

    हामी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी समस्या र आफ्ना अनुभूतिहरू बताउन निकै असहज महसुस गर्ने गर्छौ । घरमा यौनांगका बारेमा आफ्ना दाजु भाइको अगाडी कुराकानी गर्यो भने आमा वा दिदीले कत्ति मात्तिएकी भनेर झपार्ने गर्छन् । अनि यौन सँग सम्बन्धित केही कुराकानीहरू सोध्यो भने त बुझ्दिनस् अहिले भनेर टार्नु हुन्छ । महिनावारी भए पछि शारीरिक पीडा त हुन्छ नै मानसिक पीडा भोग्न हामी बाध्य हुन्छौ ।

    काठमाडु स्थित मैतीदेवी बस्दैआउनु भएकि मोरङकि अन्जु लुँइटेललाई महिनावारी हुँदा कहाँबाट र कसरी रगत बग्छ भन्ने बारेमा पनि थाहा थिएन । उहाँ भन्नुहुन्छ, ‘पहिलो पटक महिनावारी हुँदा म कक्षा १० मा पढ्थे । विद्यालयबाट घर आएर कपडा फेर्दा लुगामा रगत देखेर एक दम डर लग्यो । के भए छ भनेर म त धेरै रोएँ । म रोएको देखेर आमाले के भयो भनेर सोध्न आउनु भयो र उहाँले नै कपडाको प्याड बनाएर लगाउन र दिनकै नुहाएर कपडा फेर्नु पर्छ भनेर सिकाउनु भयो’ । पहिलो पटक महिनावारी भएको समयमा आफ्नो दाजु भाइ र बुबालाई हेर्नु हुँदैन भनेर कोठामा एक्लै बस्नु पर्यो । कसैसँग बोल्न नपाइने हुँदा मरिन्छ जस्तो उहाँले महसुस गर्नुभयो । उहाँलाई केवल २ दिन मात्र लुकाएर राखेको हुँदा पछि गाह्रो महसुस भएन ।

    त्यस्तै, नयाँ बानेश्वरमा बस्दै आउनुभएकि बारा जिल्ला निजगढकि रोजीता पराजुलीको पहिलो महिनावारीको अनुभव केही अनौठो रह्यो । उहाँ भन्नुहुन्छ “ब्राह्मण परिवारकी म कान्छी छोरी, म भन्दा माथि दुई जना दिदीहरू हुनुहुन्थ्यो । उहाँहरू महिनावारी हुँदा कोठामा थुनेर राख्नु भएको मलाइ राम्रै सँग याद थियो । रक्तस्राव भएको पहिलो दिन दिदीहरूलाई जसरी मलाइ पनि त्यसरी नै थुन्ने हो की भन्ने डरले मैले आफ्नो घरमा कसैलाई भनिन । विद्यालयमा जाडो महिनाको बिदाको अन्तिम दिन भएको हुँदा पनि कसैलाई नभनि विद्यालय गए । विद्यालय गए ता पनि प्याडको भने प्रयोग नै गरिन । तराइको माघको चिसोमा बाक्लो ट्राउजर लगाएर गएकी थिए । बिहान घरबाट हिँड्दा ढाड दुखिरहेको थियो । दिउँसो विद्यालयमा पनि पेट दुखी नै रहयो तर पनि कसैलाई भनिन । साँझ घर आउँदा त सबै ट्राउजरमा रगत लागेको र छाला पासिएर पोलेको थियो । कपडा धुँदा घरमा सबैले थाहा पाउनु हुन्छ भनेर आमालाई गएर आफू महिनावारी भएको कुरा सुनाए । आमाले मलाई हतार हतार एउटा अँध्यारो कोठामा थुन्नु भयो । र मेरो जाडो महिनाको बिदा त्यही अँध्यारो कोठामा बित्यो” । १५ दिन पछि उहाँको आमाले घरमा पूजा गरेर त्यो कोठाबाट बाहिर निकाल्नु भयो ।

    त्यस्तै सिन्धुपाल्चोक साँगाचोककी हेमकुमारी श्रेष्ठ आफु महिनावारी भएको समयमा एकदम सजिलो भएको बताउँनु हुन्छ । उहाँको आमा र दिदीले पहिले नै हामी नहुँदा महिनावारी हुन सक्ला भनेर कपडाको प्याड कसरी पट्याएर लगाउने भनेर सिकाउनु भएको थियो ।  संयोगवस् उहाँको दिदी र आमा नहुनु भएको बेलामा नै महिनावारी हुनु भयो । अनि उहाँले सिके जसरी नै प्याड लगाएर बस्नु भयो ।

    महिनावारी प्रक्रिया किशोरीहरूको प्रजनन प्रणाली परिपक्व हुने पहिलो चरण हो । अर्थात, महिनावारी शुरु भएपछि महिलाहरूको प्रजनन क्षमता बढ्नेक्रम शुरू हुन्छ . शरीरका अङ्गहरू विकास केहि मात्रामा छिटो हुनथाल्छन् । महिनावारी पछि शरीरका हर्मोनहरूको वृद्धिबाट भावना र संवेगहरू बढ्दै पनि जान्छन् । फरक फरक किसिमका मनोभाव, जीज्ञासाहरू पैदा हुनथाल्छन ।

    महिनावारीको प्रक्रियामा के कस्ता शारीरिक तथा मानसिक पीडा हुन्छन्?

    महिनावारी भएको समयमा रक्तस्रावको पीडा सँगसँगै अन्य पीडाहरू पनि महिलाले भोगिरहेका हुन्छन् । महिलामा हुने प्रोजेस्टेरोन र एस्ट्रोजन हर्मोनको मात्रा बढ्दा स्तन सुन्निने, स्तनको आकार बढ्ने र पीडा महसुस हुन थाल्छ । महिलाहरूको शरीरमा बढेको हर्मोनहरूको मात्रा रक्तस्राव भएपछि घट्ने भएकाले शारीरिक तथा मानसिक पीडा हुन्छ । केही महिलाहरूलाई अत्याधिक महिनावारी भएको पहिलो दिन र दोस्रो दिन सम्म तल्लो पेट र ढाड दुख्छ ।

    केही महिलाहरूमा महिनावारी हुँदा ढाड दुख्ने, स्तन दुख्ने, स्तन साह्रो वा कडा हुने, कब्जियत हुने, मांसपेशीहरू दुख्ने, अनुहारमा डण्डीफोर आउने, खान मन नलाग्ने र टाउको दुख्ने हुन्छ । आलस्य महसुस गर्ने, काम गर्न जाँगर नलाग्ने, धेरै रिसाउने, झर्को लाग्ने, दिक्क मान्ने र मुड परिवर्तन हुने हुन्छ । यस्तो शारीरिक तथा मानसिक समस्यालाई महिनावारी पूर्वको लक्षण भन्ने गरिन्छ । यी सबै लक्षणहरू सबै महिलामा देखिन्छ नै भन्ने हुँदैन । यदि भएमा पनि महिना पिच्छे यी लक्षणहरू फरक फरक हुन सक्छन् । पाठेघरको भित्री भागमा रक्तकोष तथा अन्य हर्मोनहरूको रसायन मिश्रित पदार्थ मिलेर बनेको बाक्लिएको तह निश्चत अवधि पुगेपछि योनी द्वार हुँदै बाहिर निस्कन्छ । बाहिर निस्कने बेलामा कहिलेकाहि पाठेघरको मुख राम्रोसँग नखुल्दा  रक्तस्राव हुँदा तल्लो पेट दुख्छ तर सबैलाइ यस्तो हुदैन । त्यसमा पनि महिनावारीको समयमा शरीरमा विभिन्न हर्मोनको उतार चढावका हुनेहुनाले त्यसैको प्रभावका कारण मानसिक उतारचढवहरू पनि हुनेगर्दछ ।

    महिनावारी प्रक्रियामा अभिभावक, शिक्षक, साथी र आफन्तको भूमिका 

    यौन तथा प्रजनन स्वास्थ्यका बारेमा जीवनोपयोगी सीप सिकाउँने प्रमुख जिम्मेवार अभिभावक नै हुन । त्यसपछि साथी र शिक्षकहरू हुन । महिनावारी सपयमा हुने अनेकौं खुलदुली हुनु स्वाभाविक हो । ती खुल्दुलीहरूलइ टार्ने प्यत्न गर्दा वा सामाजिक भ्रमसम्कन्धी कुरा सुनाउँदा उनीहरु सधैं भ्रममा नै हुन्छन । जसको कारण मानसिक तनाव रहिरहन्छ र कसैकसैले जोखिम व्यवहार अपनाउँन पनि सक्दछन ।

    महिनावारी हुनु भनेको एउटा जटिल समस्याको रूपमा बझाइएको हुन्छ । यो नै एउटा ठुलो भ्रम हो । यो त स्वास्थ्यको शुभसंकेत ठानी खुसी मान्न पर्ने केरा चाहि हो । यसका लागि अभिभावकले परिवारसँगै बसेर कुराकानी चलाउँनु पर्दछ र किशोरीहरूका लागि यो सामान्य रूपमा लिनसक्ने क्षामताको विकास गराउँनु आवश्यक छ ।

    महिनावारी भएको बेला परिवारका सबै सदस्यहरूको धेरै मायाँ आवश्यक हुन्छ किनकि उनीहरू मानसिक रूपमा विचलित भएका हुन्छन ।  पोषणयुक्त खाना खुवाउँनु पर्दछ किनकि उनीहरु कम्जोर भएका हुन्छन ।

    महिनावारी भएको बेलामा किशोरीहरूले आफूलाई असुरक्षित र कमजोर महसुस गरि रहेका हुन्छन् । यस्तो बेलामा उनीहरूलाइ जिस्क्याउँने वा यौन हैरानी गर्दा मानसिक रुपमा विचलन आउँन सक्दछ । यस्ता कुरामा परिवार र विद्यादलयमा सबैलाइ सचेत गराउँनुपर्दछ र महिनावारी भएका किशोरीहरूको आत्मा विश्वास बढाउँने काम गर्नुपर्दछ ।

    समहिनावारी भएको समयमा अरू समयमा भन्दा बढी सरसफाइमा विशेष ध्यान दिनु पर्छ । विद्यालयमा महिला सौचालयको छुट्टै व्यवस्था हुनु पर्दछ भने त्यसमा पानी र उनीहरूको प्याड राख्ने भाँडोको पनि व्यवस्था हुनु पर्दछ । विद्यालय बाल मैत्री हुनुभनेको बालबालिकाले शिक्षकहरूसँग खुलेर कुरा गर्नसक्ने वातावरण बनाउँनु पनि हो ।  बालबालिकाले महिनावारी सम्बन्धी कुरा गर्न सक्छन तर शिक्षाक चाहिँ बालमैत्री हुनु आवश्यक छ । शिक्षकले निर्धक्कसँग यौन शिक्षा दिन सक्नुपर्दछ ।

    तपाइको मत
  • भिडियो सामाग्री