[REQ_ERR: OPERATION_TIMEDOUT] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. “मास हिस्टेरिया” कि “मास कन्भर्जन डिस्अर्डर” | Yaunik Media
  • २०८१ अशोज २८, सोमवार
  • |
  • Monday 14th October 2024
  • “मास हिस्टेरिया” कि “मास कन्भर्जन डिस्अर्डर”

    ५ मंसिर २०७४, मंगलवार ०९:१०

    डा . खेम कार्की /

    करिव एक दशक अगाडिको घटनाहरू हुन, पत्रपत्रिकाहरूमा समाचार बनेका थिए कि धेरै विद्यालयहरूका किशोरकिशोरीहरूमा मास हिस्टेरीया भएर विहोस भए भनेर । हुनपनि सम्हाल्नै नसक्नेगरि एक्काइस जना किशोरकिशोरीहरू एकाएक विहोस भएको  भोलिपल्ट पनि पच्चिस जना भए । समाचारहरूमा कास्की, लेखनाथस्थित लक्ष्मी माविमा भएको यस घटना सबै भन्दा चर्चामा रहे ।

    समाचारहरू अनुसार ती किशोरकिशोरीहरूले विहोस हुनु अगाडी ‘सर्पले टोक्न आयो’ भन्दै चिच्याएका थिए । त्यो घटना हुनु केहि दिन अगाडी  विद्यालयमा एउटा सर्प मारिएको थियो ।

    त्यसको लगत्तै केहि दिनपछि लक्ष्मीदेवी  निमावि  फुल्पिङडाँडा, सिन्धुपाल्चोकका विद्यार्थीहरू पनि यस्तैगरी विहोस हुन थालेपछि अभिभावकहरूले विद्यालयमै कर्मकाण्डी संस्कार अनुसार ‘ग्रहशान्ति’ गरेको पत्रिकाहरूमा अर्को खवर पनि आएको थियो ।

    त्यसको करिव एक महिना पछि भैरहवा नजिकै भुल्केडाँडाका एक युगल किशोर किशोरीहरूले सर्पको जस्तै व्यवहार गर्न थाले पछि ‘नागको अवतार’ भनेर उनीहरूलाई हेर्ने र पूजा गर्ने मानिसहरूको घुइँचो नै लाग्न थालेको समाचार पनि पत्रिकाले छाप्यो ।

    समाजमा यस्ता घटनाहरू भइनै रहेका हुन्छन् र यसबारे धेरै मानिसहरू परिचित छन् । सञ्चारको सुविधाका कारण सार्वजनिक भएका यी केही उदाहरणहरू मात्र हुन् । किन यस्तो भएको होला भन्ने जिज्ञाशा प्रति भने सबैको चासो भएको पाइन्छ र फरक फरक पनि पाइएकाछन् ।

    कारणहरू स्पष्ट नभईकन देखिने यस्ता समस्याहरूबारे बुझाउन साधारण मानिसहरूले अलौकिक शक्तिले गर्दा भएको भने र स्वास्थ्य कर्मीहरू अधिकांशले ‘मास हिस्टेयिा’ भनेर ठोकुवा नै गरे । यस्ता समस्याहरूलाई बुझाउन छानिएका नामहरूमा हिस्टेरिया, कन्भर्जन रियाक्सन, हिस्टेरिक न्यूरोसिस, सोमाटोफर्म डिस्अर्डर, मनोवैज्ञानिक द्वन्द्व, उन्माद, उन्मादजन्य मनस्ताप,  योपास्मार आदिको पनि प्रयोग गरेको पाइन्छ ।

    एक्कासी वेहोस हुने, छटपटाउने, वोल्न नसक्ने, श्वास फेर्न गाह्रो हुने, निल्न नसक्ने, हात गोडा वा शरीरको अन्य भाग नचल्ने, वरवराउने, कान नसुन्ने, आँखा नदेख्ने, छोएको थाहा नहुने, पिसाव फेर्न कठिनाई हुने, समय, स्थान र मानिस पहिचान गर्न नसक्ने जस्ता मनोशारीरिक लक्षणहरूलाई रोग वर्गिकरणको अन्तराष्ट्रिय व्यवस्था ‘आइसिडि टेनल’े ‘कन्र्भजन डिस्अर्डर’ भनेर नामाकरण गरेको छ । तथापि, अझैपनि सम्बन्धित विषयका विज्ञहरूले समेत यसलाई ‘हिस्टेरिया’ नामाकरण गरेको पाइयो ।

    वैज्ञानिकता खोतल्न र छलफल चलाउन आवश्यक

    एकातिर अन्धविश्वास, सामाजिक परम्परावादी मुल्य मान्यता र अर्को तर्फ आर्थिक प्रतिस्पर्धा, प्रविधि र आधुनिकिकरणले उब्जाएको प्रतिस्पर्धात्मक जीवनशैलीको कारण व्यक्तिगत मूल्य मान्यताहरू बीच नकारात्मक द्वन्द्व देखिनु स्वभाविकै हो । यसको कारणले हुने यस्ता मानसिक द्वन्द्व र आवश्यकताहरूलाई समन्वयात्मक हिसावले समाधान गर्न नसकेको खण्डमा थाहै नपाइ व्यक्तिमा  सामान्य भन्दा फरक मानसिक तथा शारीरिक व्यवहारहरू देखा पर्दछन् । यस्तो अवस्था नै कन्भर्जन डिस्अर्डरको अवस्था हो । यो समस्या कहिले काँही धेरै जनालाई एकैचोटि हुने गर्दछ तर समस्या चाँहि एक जनाबाट शुरु हुन्छ । यस्तो समस्या देखिएपछि क्रमशः अरुको पनि मानसिक चिन्ता बढ्छ र आफ्नो मिल्ने साथीहरूमा क्रमैसँग यो समस्या देखिन थाल्छ । यस्तो अवस्थालाई ‘मास कन्भर्जन डिस्अर्डर’ भनिन्छ ।

    कन्भर्जन डिस्अर्डरको वास्तविक कारण भने पत्ता लागेको छैन । प्रायजसो चिकित्सकहरू विगतमा भएका गंभीर तनाव, सम्वेगात्मक द्वन्द्व तथा यससँग सम्वन्धित मानसिक विचलनको कारणले कन्भर्जन डिस्अर्डर हुने विश्वास गर्दछन् । कन्भर्जन डिस्अर्डर हुनेहरू मध्ये आफ्नो मनमा लागेका जिज्ञासा तथा समस्याहरू अरु समक्ष नभनी सधैं लुकाएर राख्ने अन्र्तमुखी व्यक्तिहरूलाई नै बढी देखिन्छ । शारीरिक तथा यौन दुर्व्र्यवहारको शिकार भएका वच्चाहरूमा कन्भर्जन डिस्अर्डर बढी देखिन्छ । कन्भर्जन डिस्अर्डरको इतिहास भएको परिवारका सदस्यलाई कन्भर्जन डिस्अर्डर देखिने संभावना बढी हुन्छ । त्यस्तै, आफ्ना परिवारको कुनै सदस्यलाई गम्भीर प्रकृतिको रोग लागेमा परिवारका वच्चाहरूमा पनि कन्भर्जन डिस्अर्डरको सम्भावना बढी हुन्छ ।

    कन्भर्जन डिस्अर्डरको समस्या सवै समाजमा पाइन्छ । प्राय अनौठो र रहस्यमय घटनाको रूप लिने कन्भर्जन डिस्अर्डरका घटना, प्रकृति र लक्षणहरू उस्तै भए पनि देश काल परिस्थिति, परिवारिक, धार्मिक, सामाजिक अवस्थाहरू भने फरक फरक हुन्छन् । कन्भर्जन डिस्अर्डर सबै लिङ्ग वर्ग र उमेरका मानिसहरूमा हुन सक्छ तर प्रायजसो १०–३५ वर्षका व्यक्तिमा बढी देखिने गरेको छ । केहि अनुसन्धानले ५०–६० वर्षको उमेरका मानिसहरूमा पनि कन्भर्जन डिस्अर्डर धेरै हुने गरेको वताएका छन् । वास्तविक तथ्याङ्क नभए पनि यस्ता घटनाहरू प्रायः पुरुष भन्दा बढी महिलाहरूमा र विशेष गरी किशोरावस्थामा देखिने गरेको छ  किनभने  विद्यमान पुरातनवादी सामाजिक र लैङ्गिक मान्यताहरूको कारणले गर्दा आफ्नो मनमा रहेका द्वन्द्व व्यवस्थापन गर्न उनीहरूमा पुरुष र वैयस्कहरूमा भन्दा कम क्षमता हुन सक्छ ।

    विगतमा किन हिस्टेरिया भनियो ?

    माथि उल्लेखित मनोशारीरिक लक्षणहरूलाई ४००० वर्ष अघि मिश्र देशवासीहरूले पाठेघर सम्बन्धी खराबीको लक्षण हुन् भनी पहिचान गरेका थिए । ग्रीक भाषामा हिस्टेरिया भनेको  महिलाको पाठेघर भन्ने बुझिन्छ । महिलाको पाठेघर यौनजन्य क्रियाकलापमा संलग्न हन्छ र उनीहरूको यौन चाहानाको  उपयुक्त व्यवस्थापन नहुदा यस्ता लक्षणहरू देखा पर्दछन् भन्ने उनीहरूको विचार थियो । हाल मनोवैज्ञानिक चिकित्साले माथि उल्लेख गरिए जस्तो मनोशारीरिक लक्षणहरूको कारणहरू धेरै भएको पुष्टि गरेको छ । एउटै घटना पछि धेरै जनालाई एउटै खालको समस्या देखिएको र १० वर्षे बालिकामा पनि यस्तो समस्या देखिएको  हुनाले दविएर रहेको यौन चाहाना भन्दा भिन्नै कारणहरू रहेको स्पष्ट हुन्छ । यौनसँग असम्बन्धित घटनाहरूले कन्भर्जन डिस्अर्डर भइरहेको भएपनि महिलाहरूलाई बढी हुने र यौनसँग सम्बन्धित बनाइदिने कारण महिला र किशोरीहरू व्यर्थैमा भेदभावको शिकार बन्न पुगेका छन् । ‘हिस्टेरिया’ शब्दले सम्बन्धित रोगीहरूलाई फराकिलो दृष्टिकोणले हेर्न नसकेको र यौन चाहानाको कारणले यस्ता लक्षणहरू देखा पर्ने भन्ने जनाउने हुँदा यस्तो शब्द प्रयोग गरिनु हुदैन ।

    कसरी बझ्ने ?

    कन्भर्जन डिस्अर्डरका लक्षणहरू धेरै रोगका लक्षणहरूसँग मिल्दा जुल्दा हुन्छन् । ख्याल राख्नु पर्ने कुरा के हो भने कन्भर्जन डिस्अर्डर भनेर निदान गर्नु भन्दा पहिले सबै खालका र आवश्यक जाँच पड्ताल गरिनु पर्छ । जाँच पड्तालमा शारीरिक रुपमा केहि खराबी नभएमा मात्र कन्र्भजन डिस्अर्डर मान्नुपर्छ । कन्भर्जन डिस्अर्डरका लक्षणहरू प्राय एकदम गम्भीर भने हुदैनन् तर समयमा यस्ता समस्याको व्यवस्थापन नगरे गम्भीर लक्षणहरू देखिन पनि सक्छन् । एक अध्ययन अनुसार २०–२५% कन्भर्जन डिस्अर्डरका रोगीहरूमा यो रोग एक वर्ष भित्र बल्झिन सक्छ । कुनै कुनै स्थितिमा यसले दीर्घ रोगको रुप लिन सक्छ ।

    उपचार के गर्ने ?

    यसको निश्चित उपचार भने छैन । रोगको निदान गरी सकेपछि मनोवैज्ञानिक ढंगले रोगीको उपचार गर्नुपर्छ । परामर्श नै सवैभन्दा उचित उपचार हो । उपचारको क्रममा विरामीलाई यस्ता लक्षणहरू विस्तारै सञ्चो भएर जान्छन । माशंपेशी र अंगहरूले विलकुलै राम्रोसँग काम गरेका छन्, प्रयोगशालाको परिक्षणले कुनै खरावी देखाएको छैन, पहिलेको जस्तै स्वस्थ हुन सक्नुहुन्छ भनी विरामीलाई आस्वस्त पार्नु जरुरी हुन्छ । तनाव मुक्त गराउन  औषधीहरूको प्रयोग गर्नु त्यत्तिकै जरुरी देखिन्छ । उपयुक्त परामर्श र औषधी नपाएको खण्डमा विरामी थप हतास भई स्थिति अझ विग्रन सक्छ ।

    हाम्रो समाजमा घट्ने यस्ता घटनाहरू प्राय घटिरहन्छन् । कतिपय अवस्थामा विरामी, उनका नातेदार र परिवारले कन्भर्जन डिस्अर्डरको प्रकृति, कारण र उपचारवारे उचित सुचना पाउन नसक्दा उपचार पाउन त सक्दैनन नै उपचारको नाममा अवैज्ञानिक र असान्दर्भिक उपचारको कारणले व्यर्थ व्यय र दुख पाउने गर्दछन् । कन्भर्जन डिस्अर्डरबाट समुदायलाई सचेत बनाउन समुदायमा व्याप्त धार्मिक अन्धविश्वास र प्रकृतिको पुजा गर्ने प्रचलनसँग सम्वन्धित भ्रमहरूलाई चिर्ने खालको शिक्षाको जरुरी देखिन्छ । प्रायः स्कुले विद्यार्थीहरूमा यस्ता समस्याहरू बढी देखिने हुनाले विद्यालय स्तरमा पनि छलफल गर्ने व्यवस्था मिलाउनुकासाथै शिक्षकहरूलाई पनि यस्तो समस्यालाई व्यवस्थापन गर्ने क्षमता विकास गराउनु त्यत्तिकै जरुरी देखिन्छ ।

    तपाइको मत
  • भिडियो सामाग्री