यौनिकता जीवनको केन्द्रीय पक्ष हो । त्यसैले यो व्यक्तिको शुन्दर पक्ष पनि हो ।
यौनिकता अनेकौं तरिकाले अभिव्यक्त भएका हुन्छन र ती यौनिकताका अभिव्यक्तिहरू विभिन्न तरिकाले प्रस्तुत हुन्छन । व्यक्ति पिच्छेको प्रस्तुती फरक हुनु स्वभाविकै मानिन्छ किनकि हरेक व्यक्तिको आ-आफ्नो शैली, समय, मान्यता र सम्बेगहरू हुन्छन । यौन मनोविद्हरूले यसलाई समग्रमा चार प्रशंगमा विभाजन गरी विश्लेषण गरेका छन ।
१. सम्वन्धहरू
यौनिकताको पहिलो अबस्था सम्बन्ध नै हो । सम्वन्धहरू पनि विभिन्न प्रकार र अवस्थामा प्रस्फुट हुन्छन् । दुई व्यक्ति, समूह वा समूहहरूसँगको मित्रता वा मिलन हो– सम्वन्ध । यस्ता सम्वन्धहरू दुई पक्षबीचको स्वार्थ, भावना, प्रतिवद्धता र चाहना मेल खाँदा विकास हुदैँ जान्छन् । प्रायः सम्वन्धहरू संवेग वा मनपराउने वा भावनात्मक मीलनमा नै विकास भएका हुन्छन् ।
सम्वन्धहरू धेरै अवस्थाहरूमा अभिव्यक्त भएका हुन्छन् । जस्तै पारिवारिक, साथीबीच, वैवाहिक, व्यवसायिक पेशा, धार्मिक मान्यता, परिवार तथा समाजको सामाजिक अर्थिक अवस्था आदि । यस्ता विविध सम्बन्धहरूका पनि पाँचवटा तहहरू हुन्छन् ।
क) देखभेट : सम्वन्धको शुरूवात देखभेटबाट नै हुन्छ । विगतदेखिको देखभेट वा नजिकै बस्ने, सधैँ देखिरहने वा पहिलो जम्काभेटमै प्रभावित हुने आदि कारणहरूबाट नै सम्वन्धको शुरूवात हुन्छ ।
ख) विश्वास बढ्ने : सम्पर्क भइरहेपछि वा मन मिलेको खण्डमा एकले अर्कालाई विश्वास गर्ने, हेरविचार गर्ने र आफ्ना भावना, सोच विचारहरू आदानप्रदान हुने हुन्छ ।
ग) निरन्तरता : विश्वास बढ्दै गयो भने सम्बन्धले निरन्तरता पाउँदै जान्छ । सम्बन्धका कारण दुवै पक्षलाई सन्तुष्टी वा फाइदा भयो भने सम्बन्ध अझ गाढा हुँदै जान्छ । व्यक्तिहरूवीचको सम्वन्धमा स्थायीत्व हुने सम्भावना बढी हुन्छ । प्रेमीप्रेमीकाको सम्बन्ध हो भने विवाह हुने, घरजम हुने, सधैँ सँगै बस्ने दीगो सम्वन्धको रूपमा विकास हुन्छ ।
घ) चिसो सम्वन्ध: सम्वन्धमा चिसोपन पनि शुरू हुनसक्छ । भावना, सोच, आकांक्षा वा उद्देश्य मिलेन वा विश्वासमा सङ्कट पर्दै गयो भने सम्बन्ध विग्रने वा चिसो हुन थाल्छ ।
ङ) सम्बन्धको अन्त: विश्वास टुट्यो भने वा एउटा पक्ष समाप्त भयो वा मृत्यु नै भयो भने सम्वन्धको अन्त हुन्छ । मानव जातिमा सम्वन्धहरूको विकास र अन्त निरन्तर प्रक्रिया हो । त्यसैले मानिसको यौनिकता पनि जीवनचक्रको हरेक कालखण्डमा विभिन्न तरीका र रूपहरूमा प्रस्तुत हुन्छन् ।
२. संवेग
मानिसले आफ्ना विचार, भावना, सोचलाई अभिव्यक्त गर्दा देखिने मानसिक र शारीरिक अवस्था नै संवेग हो । व्यक्तिगत अनुभव, परिस्थिति, व्यक्तित्व आदिले मानिसको संवेगलाई प्रभाव पार्दछ । अवस्था वा परिस्थितिले हाम्रो शरीरमा पार्ने प्रभाव र त्यसका कारण हाम्रो शरीरमा आउने परिवर्तनको समष्टि नै संवेग हो । जस्तै: कसैले हामीलाई अचानाक वा अनपेक्षित रुपमा प्रेम प्रस्ताव राख्यो भने कुरा सुन्ने वित्तिकै मन खलबलिन्छ, अनुहार रातो हुन्छ, कतिपयलाई त हातमा पसिना पनि आउन सक्छ । मन खलबलिनु भनेको अवस्था हो र त्यसले शरीरमा ल्याएको परिवर्तन संवेग हो । त्यसैगरी, खुशी हुँदा आउने अभिव्यक्ति संवेग हो भने खुशी गराउने सन्दर्भ वा गतिविधी आदि परिस्थिति वा अवस्था हो । संवेगलाई खुशी वा आनन्ददायी संवेग र दुःख वा दिक्क लाग्दो संवेग गरी दुई भागमा विभाजन गर्न सकिन्छ ।
यौनिकताको सन्दर्भमा संवेगात्मक प्रस्तुतीहरू महत्वपूर्ण छन् । त्यसैले यौन जीवनलाई आनन्ददायी वा दिक्कलाग्दो बनाउँछ । त्यसैगरी, मानिसका अवस्था वा परिस्थितिले पनि यौन जीवनलाई आनन्ददायी वा दिक्क लाग्दो बनाउन सक्छ । यतिमात्र होइन, यौन उत्तेजना र यौन सम्वन्धी व्यवहारहरू पनि मानिसका संवेगात्मक प्रस्तुतीहरू हुन् ।
३. आत्मीयता:
आत्मीयता भनेको आर्कषणको सफल रूप हो । व्यक्ति, व्यक्ति बीचको यस्तो सम्वन्ध हो, जसमा विगतमा अभिव्यक्त नभएका वा नभनेका कुराहरू पनि भन्ने र एक अर्कालाई पूर्णरूपमा विश्वास गरेको अवस्था हो । आत्मीय सम्वन्ध विकास हुनलाई लामो समय लाग्छ ।
आत्मीयता पनि शारीरिक र संवेगात्मक गरी दुई किसिमका हुन्छन ।
यौनिकताको सन्दर्भमा आत्मीयतालाई महत्वपूर्ण पक्षको रूपमा लिइन्छ । व्यक्ति–व्यक्ति बिचको शारीरिक आत्मीयता नै भावनात्मक वा संवेगात्मक सम्वन्ध र आत्मियतामा परिवर्तन हुन्छ । आत्मीयता नै यौन सम्वन्ध र व्यवहारका लागि महत्वपूर्ण खुट्किलो हो ।
४. माया–प्रेम
माया–प्रेमका बारेमा विद्धानहरूले धेरै पुस्तक लेखिसकेका छन् । धेरै थरी व्याख्या छन् । तर माया वा प्रेमलाई आर्कषणसँग सम्वन्धित संवेग र अनुभवहरूको सँगालो को रूपमा लिन सकिन्छ । आनन्द प्राप्ति गर्ने देखी अन्तर-व्यक्ति आकर्षणसम्मका विभिन्न अवस्थाहरूमा प्राप्त गरिने भावनाहरू हुन्–मायाप्रेम । यो मेरो हो । यसलाई कालनतरसमम बचाएर साख्नुपर्छ । यो मेरो मुटुको टुक्रा हो, मेरो जिन्दगीसँग जोडिएको छ जस्ता अभिव्यक्तिहरू हुन्–मायाप्रेम ।
मायालाई दुई किसिमले हेरिन्छ ।
- वस्तुप्रतिको माया–देशको माया , सिद्धान्तप्रतिको झुकाव, ठाँउको माया आदि ।
- व्यक्तिप्रतिको माया – व्यक्तिले व्यक्तिलाई गर्ने माया ।
माया–प्रेमका ३ वटा चरणहरू हुन्छन् । यी चरणहरू एक अर्कामा सम्वन्धित हुन्छन् र जोडिएका पनि हुन्छन् ।
- मायाको तिव्र चाहना
हfम्रो शरीरमा पाइने यौन हर्मोनहरूका कारणले आफूले मनपराएको व्यक्तिप्रति तिव्र रूपमा आकर्षित हुने र त्यो व्यक्तिलाई प्राप्त गर्ने र आफ्नो बनाउने तिव्र चाहना हुन्छ । यसले माया–प्रेम वा एकले अर्कालाई मनपराउने अवस्थाको सिर्जना गर्छ । आर्कषण गराउँछ ।
- आर्कषण
प्रेमको तिव्र चाहनाका कारण आर्कषित व्यक्तिहरूको बीचमा विकास हुदैं गएको सम्बन्ध हो आर्कषण । आर्कषणका लागि शरीरमा भएको विभिन्न हर्मोनहरू (जस्तै डोपामीन, नरइफिड्रीन, सेरोटेनीन) ले काम गरिरहेका हुन्छन् । यस अवस्थामा व्यक्तिले यौन सम्वन्ध कायम गर्ने वातावरण सिर्जना गर्ने प्रयत्न गर्छ र आनन्द प्राप्त गर्छ ।
- मायाको निरन्तरता
मायाप्रेम निरन्तर रहिरहन्छ । यो निरन्तरताको लागि अक्सीटोसीन, भ्यासोप्रेसिन लगातयतका हर्मोनहरूले काम गर्छन् । आमाले बच्चालाई माया गरिरहने कारण यहि हो । यसरी मायाप्रेम यौनिकताको एक अभिब्यक्ति हो ।