चेतनाथ आचार्य /
१९ वर्षीया रेष्मा (नाम परिवर्तन) अपरान्ह ५ बजेको समय बौद्ध अवस्थित ओम मेडिकोमा आउँछिन् ।
उनी यताउता हेर्छिन् । केही बोल्न खोजेजस्तो गर्छिन् फेरि हच्किन्छिन् । मेडिकलमा अलिक मान्छेको आवतजावत कम भएपछि उनी औषधि बिक्रेतासँग घोसे मुन्टो लगाएर कुरा गर्न थाल्छिन् । दाइ डाक्टर कति बजे आउँनुहुन्छ ? डाक्टर लेडिज हो कि जेन्स ? डाक्टर कुन विषय (क्षेत्र)को विशेषज्ञ हुनुहुन्छ ?
इलाम नामसालिङ्गबाट काठमाडौँ आई बौद्धमा विगतदेखि औषधि पसल खोलेर बसेका खेम सुवेदी स्वास्थ्य परामर्श माग्न आएकी युवतीसँगको संवाद यसरी सुनाउँछन् । आफूले डाक्टर जनरल फिजिसियन पुरूष डाक्टर हो र उहाँलाई बोलाएपछि आउनुहुन्छ भन्ने जानकारी गराएपछि ती युवती पसलबाट ए… भन्दै दोधार भएर हिँडेको उनी बताउँछन् । केहीबेरपछि फेरि ती युवती सुवेदीको पसलमा आउँछिन् र प्रश्न गर्छिन् — “दाइ महिला डाक्टर यता बौद्ध एरियामा आउनुहुन्न ?”
कुराकानीका क्रममा युवतीसँगै आएकी अर्की युवतीले ‘किन कुरा लुकाउँछेस् सबै कुरा खुलस्त भन्दे’ भनेपछि ती युवतीले अलिक खुलेर कुरा गरिन् । औषधि पसलमा बस्ने सुवेदीजी त्यतिबेलासम्म विषयबस्तुको चुरो थाहा नपाएर अलमलमा नै थिए । युवतीले कुरा अगाडि बढाइन् । मेरी दिदीको स्तनमा गाँठाजस्तो आएको छ । यस्तो गाँठा त पछि गएर क्यान्सर हुन्छ रे । त्यही भएर महिला डाक्टरलाई देखाउनका लागि तपाईंलाई सोधेको ।
बोलाइ र पहिरनबाट पढेलेखेकी जस्ती देखिने ती युवतीले बल्ल कुरा ओकलिन् । दिदीको स्वास्थ्यको विषयला
ई लिएर यति धेरै धक मानेर बोल्ने युवतीलाई सुवेदीजीले यसरी सम्झाए –“त्यस्तो समस्याका लागि महिला डाक्टर नै चाहिँदैन । पुरूष डाक्टरले पनि परिक्षण गरेर के भएको हो भन्न सक्छन् । त्यसकारण दिदीलाई नै एकपल्ट बोलाउनुहोस् ।”
युवतीको अनुहार अझै रातो भएर आउँछ । उनी अझै लजाउँछिन् । सँगैकी उनकी साथीले बल्ल मुख फोर्छिन् । यसकी दिदीलाई त्यस्तो भएको होइन ब्यारे । उसैलाई हो दाइ! तपाईँसँग लजाएर नभनेकी हो ।
अहिले पनि हजारौँ युवतीहरूले लाज, डर र सामाजिक बनावटका कारणले रोगलाई भित्रभित्रै पालेर बसेका छन् । सहरीया पढेलेखेका युवतीहरू त आफ्नो स्वास्थ्यको जाँच गराउन यसरी सर्माउँछन् भने गाउँघरको हालत कस्तो होला । एकातिर पुरूषप्रधान समाज अर्कोतिर महिलालाई सबै कुरा भन्ने अधिकार नहुनु तथा मात्तेकी, छडुल्ली, सरमपचेकी जस्ता नकारात्मक विशेषणले पनि महिलाहरू रोग पाल्न विवश हुन्छन् ।
स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरबाट अहिले पनि संसारमा सबैभन्दा धेरै महिलाको मृत्यु भइरहेको छ । स्तन क्यान्सर भए नभएको आफैँले थाहा पाउन सकिन्छ । विशेष गरी १३ वर्षदेखि ४५ वर्षभित्रका महिलाहरूलाई स्तन क्यान्सर हुने गर्दछ । त्यसमा पनि १३ वर्षदेखि २५ वर्षको उमेरमा स्तन क्यान्सर धेरै पाइएको छ । स्तनमा अनावश्यक गाँठाहरू (स्तनमा प्राकृतिक केही गाँठाहरू पनि हुने गर्दछन्) भेटिएमा स्वाथ्यकर्मीको सल्लाह लिनुपर्छ ।
स्नातक तह अध्ययनरत ललितपुर निवासी पुष्पा लिम्बू भन्छिन् “मलाई त्यस्तो समस्या भएको छैन, साथीहरूमा कुराकानी हुन्छ । कसैलाई समस्या भए ‘चेक’ गराउन भनेकी छु । आफ्नो समस्या भन्न लजाउनु हुन्न ।” तर सबै मानिसहरू पुष्पा लिम्बूजस्ता खुलस्त हुँदैनन् । पत्रकार सरिता अर्याल भन्नुहुन्छ “स्तन क्यान्सर भएको छ कि छैन भनेर जाँच गराउने त धेरै ठूलो कुरा हो । ब्रा किन्न जाँदा महिलाको नै पसल खोज्ने युवतीहरू पनि थुप्रै छन् ।”
पुरानो वानेश्वर बिजय चोकमा औषधिपसल खोलेर बसेकी सविता थापा भन्नुहुन्छ “केटीहरू सेनिटरी प्याड किन्न पनि लजाउँछन् । उनीहरू आएर औँलाले देखाएर उ त्यो दिनुहोस् न भन्छन् ।” सेनिटरी प्याड किन्न आउन त लजाउने मान्छे स्तन क्यान्सरको परीक्षण गराउन लजाउनु स्वाभाविक हो भन्ने बिचार राख्ने सविता स्वास्थ्यका कुरामा लजाएमा आफूलाई नै हानी हुने कुरा स्वीकार्नु हुन्छ ।
समाजमा खुलेर स्वास्थ्य सम्बन्धी बहस हुन सकेको छैन । आफूलाई लागेको समस्यालाई स्वास्थ्यकर्मीलाई बताउन नसकेकै कारण स्तन क्यान्सर आज समाजमा भयावह बन्दै गएको छ । गाउँघरमा स्तन क्यान्सरका बारेमा थाहै नपाइकन मृत्युको मुखमा पर्ने गरेको उदाहरण पनि धेरै छन् । स्वास्थ्य परीक्षण नियमित रूपमा गराउनुपर्छ भन्ने थाहा नपाउने अनि थाहा पाए पनि त्यो सुविधा प्राप्त गर्न नसक्ने भएर महिलाहरू समस्यामा फस्ने गर्दछन् ।
भक्तपुरकी राधा लामा आफूले पत्रपत्रिकामा पढेर आफैँ जाँच गरेर हेर्दा स्तनमा गिर्खा भेटेर चिन्ताले ग्रस्त भएको बताउँछिन् । पछि साथीको आँटले गर्दा जाँच गराउँदा क्यान्सरको लक्षण देखिएकाले बेलैमा उपचार गराउन सफल भएकाले उनले ठूलो दुर्घटनाबाट आफू बच्न सकेको बताउँछिन् । राधा आफूले त बेलैमा सावधानी अपनाउँदा बचेको तर आफ्नै उमेर समूहका केटीहरू समस्यामा पर्ने गरको बताउँछिन् ।
के हो स्तन क्यान्सर भनेको ?
स्तनमा आवश्यकता भन्दा बढी नयाँ कोषहरु बन्यो भने यसैको समूहबाट एक किसिमको ट्युमर (स्तन भित्र नै बन्ने ऐजेरु) बन्छ । सुरुमा यो साना गिर्खा गिर्खीको रूपमा बन्छ । तीनीहरु नै पछि क्यान्सरको रूमा विकसित हुनसक्छ । तर सबै गाँठा र गिर्खाहरूबाट क्यान्सर हुँदैन । त्यसकारण स्तनको जाँच गराउनु पर्छ । यस प्रति हेलचव्रmयाई गर्नु हुँदैन, किनकि नेपालमा महिलाहरुलाई हुने पाठेघरको क्यान्सर पछि दोस्रो स्थानमा स्तन क्यान्सर रहेको छ । विश्वको तथ्याङ्क अनुसार मानिसमा हुने क्यान्सरहरु मध्ये स्तन क्यान्सर पाँचौ स्थानमा पर्छ । विश्व स्वास्थ्य संगठनको अनुसार संसारमा स्तन क्यान्सरको कारण प्रत्येक वर्ष ५ लाख २ हजार महिलाहरुको मृत्यु हुने गरेको छ ।
स्तन आफैले जाँच्न सकिन्छ ।
१. ऐनाको अगाडि उभिनुपर्छ र दुइवटै स्तनलाई छुट्टाछुट्टै हेर्नुपर्छ । स्तनको आकार, प्रकार, रङ्ग वा स्तनको झोलिएको दिशा वा स्तनको मुन्टोको दिशामा परिवर्तन छ कि छैन भनेर राम्ररी हेर्ने ।
२. आफ्नो दुबै हातलाई माथी उठाउने, स्तनमा केही परिवर्तन छ कि छैन दायाँ बायाँ फर्की फर्की हेर्नुपर्छ ।
३. दुबै हात कम्मर पछाडि राख्ने कुमलाई अलि अगाडि ल्याउने अनि प्रत्येक स्तनमा के परिवर्तन छ भनेर हेर्ने ।
४. ऐनाको अगाडी उभिएर कठालाको हड्डी देखि नै स्तनलाई हल्का दवाव दिएर छाम्न सुरु गर्ने औलाको सहायताले दायाँ हातले बायाँ र बायाँले दायाँ तिर छाम्दै काखी मुनि सम्म छाम्दै जाने । कतै गिर्खा गिर्खी फेला प¥यो ?
५. त्यसपछि सुतेर पनि त्यसै गरी छाम्ने । कुनै गिर्खा गिर्खी पाइयो कि ?
स्तन क्यान्सरको लक्षण नै पाइयो भने पनि सुरुको अवस्थामा उपचार गरेर निको पार्न सकिन्छ ।
वंशाणुगत कारण बाहेक अरू कारणबाट हुने क्यान्सरबाट बच्न सकिन्छ । त्यसको लागि बोसो र घ्यू बढी नखाने, चुरोट तथा सुर्तीजन्य पदार्थ नखाने, स्वस्थकर खाना पर्याप्त खाने र नियमित रूपमा श्रम गर्ने वा अभ्यास गर्नेबानी बसाल्ने । यस्तो व्यवहार भएका मानिसहरूलाई स्तन क्यानसर लगायत कुनै पनि किसिमको क्यान्सर हुने सम्भावना धेरै कम हुन्छ ।
chetnath@ymail.com
(आचार्य चीनको राजधानी बेइजिङस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीआरआई नेपाली सेवामा विदेशी विशेषज्ञका रुपमा कार्यरत छन्।)