• २०७७ अशोज ७, बुधबार
  • |
  • Wednesday 23rd September 2020
  • यौनिक कुरिलो

    २८ पुष २०७४, शुक्रबार १४:३६

    डा , राजेन्द्र कुमार गिरी /

    यौन तथा प्रजनन स्वास्थ्यका लागि उपयोगी हाम्रा बनस्पतिमा अनेकौ गुणका जडीबुटीहरू छन । हामीले तिनीहरूका गुणहरूका बारेमा राम्रो जानाकारी राख्न सकेमा र प्रयोगको राम्रो विधि जानेमा निकै लाभ लिन सकिन्छ । तिनीहरू मध्ये शतावरी अर्थात् कुरिलो महत्वपूर्ण रुपमा लिन सकिन्छ ।  कुरिलो बहुउपयोगी हो र यसको लाक्षणिक अर्थलाई केलाउने हो भने यसको सेवनले महिलाको प्रजनन स्वास्थ्यलाई सुदृढ बनाउनुका साथै शारीरिक तथा यौनिक रूपमा सबल र सबैलाई मोहित पार्ने भन्ने बुझाउँछ ।

    जङ्गली कुरिलो (अस्परागस रासिमसस) औषधिको दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । कुरिलोको विशेषगरी औषधिको रुपमा जराको प्रयोग गरिन्छ । यो तरकारीको रूपमा प्रयोग हुन्छ । तर कुरिलो औषधिको रूपमा प्रयोग गरिनेभन्दा फरक प्रजातिको हो ।

    कुरिलोमा पाइने मुख्य तत्वहरू

    कुरिलोमा पाइने मुख्य तत्वहरूमा वनस्पतिजन्य इस्ट्रोजन (फाइटोइस्ट्रोजन) सतावरिन हो । अन्य तत्वहरूमा भेनिलिन, कोनिफेरिन र सार्सास्यापोनिन पर्दछ । यसैगरी कुरिलोमा प्रशस्त मात्रामा भिटामिन, खनिज पदार्थ, रेशादार पदार्थ, स्टार्च, प्रोटिन आदि पाइन्छ ।

    प्रयोग

    मुख्यतः कुरिलोको जरा स्तनपान गराइरहेका महिलाहरूलाई बढी लाभदायक हुन्छ । यसको सेवनले दूधको मात्रालाई बढाउँछ । भर्खरै बच्चा जन्माएको मूसामा कुरिलोको जराबाट प्राप्त सतावरिन प्रयोग गर्दा स्तन्य ग्रन्थी (म्यामरी ग्ल्याण्ड) को तौल वृद्धि तथा गर्भाशयमा राम्रो सुधार भएको देखाएको छ । यसैगरी विभिन्न प्रकारका स्तन्यजनन प्राणीहरूमा कुरिलो प्रयोगले दूध उत्पादनमा वृद्धि भएको अनुसन्धानहरूले प्रमाणित गरिसकेको छ ।

    क्यान्सर प्रतिरोधात्मक गुण पनि यसमा विद्यमान रहेको अनुसन्धानले पुष्टि गरेको छ ।

    यसले प्रजनन अङ्गहरूलाई मजबुद बनाउनुका साथै स्वस्थ डिम्ब उत्पादन गराउँदछ । आफैं हुने गर्भपातलाई यसको प्रयोगले रोक्छ र गर्भाशयलाई मजबुत र गर्भधारणका लागि सक्षम बन्न मद्दत गर्दछ ।

    नेपालको केन्द्रीय आयुर्वेद अस्पतालको स्त्री तथा प्रशुति विभागमा गर्भपात भइरहने (थ्रेटेन्ड एबोर्सन) र जोखिम गर्भ (हाइरिस्क प्रिग्नेन्सी) भएका महिलाहरूमा कुरिलो (शतावरी)को प्रयोगले ९० प्रतिशत महिलाहरूमा स्वस्थ बच्चा जन्मिएको देखाएको छ ।

    यसको नियमित प्रयोगले महिनावारी पूर्व हुने पीडा र चिन्तालाई कम गर्दछ । महिनावारी बन्द भएका महिलाहरूमा इस्ट्रोजनको मात्रा सन्तुलित राख्ने हुँदा शारीरिक तथा मानसिक समस्याहरूलाई पनि कम गर्दछ । यौन चाहना कमी हुने महिलाहरूमा यसको प्रयोगले यौन चाहना वृद्धि हुने हुन्छ । साथै योनी सुख्खा हुने र यौनसम्पर्क पीडादायी हुने समस्यामा यसको नियमित प्रयोगले योनीरस निस्कासन गर्न मद्दत पु¥याउने र यौनजीवनलाई सुखद बनाउँदछ ।

    कुरिलोको प्रयोग यौनदुर्वलता भएका पुरूषहरूमा पनि प्रयोग लाभदायक हुने विभिन्न अनुसन्धानले देखाएको छ ।

    कुरिलोको नियमित प्रयोगले शरीरमा सेतो रक्तकणको वृद्धि हुने हुँदा रोग प्रतिरोधात्मक क्षमताको पनि विकास हुन्छ र क्यान्डिडा जस्ता रोगहरू लाग्न पाउँदैन ।

    यसैगरी परम्परागत रूपमा यसको प्रयोग मानसिक रूपमा कमजोर, निद्रा नलाग्ने, तौल कम भएको अवस्था आदिमा हुँदै आएको छ । अम्लपित्त, पेटको अल्सर आदिमा पनि कुरिलो प्रयोग लाभकारी हुन्छ ।

    यसबाट निर्मित तेलहरू नसा तथा वातजन्य रोगहरूमा मसाजका लागि प्रयोग हुन्छन् ।

    (पूनस्च: यसको प्रयोग विधिका बारेमा राम्रो जानाकारी नभएमा जथाभावी किसिमले नगरी आयुर्वेद क्षेत्रका सम्बन्धित स्वास्थ्यकर्मीहरूसँगको परामर्श गरेर मात्र प्रयोग गर्नुहोला – सम्पादक )

    तपाइको मत