“पुरूषको लागि एउटै कण्डम मात्रै महिलाको लागि दर्जनौं किसिसमका गर्भ निरोधका अस्थायी साधन पाइने हुनाले पनि होला परम्परागत सोँच जस्तै भएको छ परिवार नियोजनका सेवाहरूले महिलालाई नै प्राथामिकता दिएको छ जस्तो लाग्ने ।” शिक्षाकहरूका लागि आयोजित एक कार्यशालाका शिक्षक सहभागीले बताएको यो कुरा झट्ट बुझ्दा निकै मार्मिक लाग्दो पनि छ । उहाँको भनाई अनुसार यसै कारणले गर्दा पनि हुनसक्छ महिलाहरूले प्रयोग गर्ने परिवार नियोजनका विधिहरूको बारेमा पुरूषहरूले कम वास्ता गर्ने ।
सहभागी मध्ये अर्का शिक्षकले भन्नुभयो “परिवार नियोजनका मात्र होईन यौन तथा प्रजनन स्वास्थ्य सेवामा पनि पुरूषहरूको सहभागिता अत्यान्तै न्युन छ र त्यसमा पनि संयुक्त परिवार भएको परिवारमा त झन प्रजनन स्वास्थ्य सेवामा पुरूषको सहभागिता पटक्कै हुदैन । त्यो मेरो परिवारको पनि अनुभव हो ।” यो भनाइ त झन नेपालको परिवेशमा निकै मिल्ने किसिमको छ ।
विगतमा सञ्चार माध्यमका विज्ञापनहरू हेर्दा वा सुन्दा त लाग्छ परिवार नियोजन तथा प्रजनन स्वास्थ्य कार्यक्रमहरूले प्रायजसो महिलाहरूलाई नै पूर्णरूपमा केन्द्रित गरेको जस्तै लाग्छ । महिलाले नै गर्भवती तथा प्रसूतिको जोखिम उठाउनु पर्ने र गर्भ निरोधका अधिकांश विधिहरू पनि लाहरूको लागि नै भएकोले प्रजनन स्वास्थ्यलाई अक्सर गरेर महिलाहरूको लागि महत्व दिएको जस्तो लाग्छ ।
कुरा आश्चर्यको त होइन तर आजभोली विश्वभरि नै प्रजनन स्वास्थ्यमा पुरुषको भूमिकालाई पनि महत्व दिनुपर्दछ भन्ने मान्यता विस्तारै सर्वस्वीकार्य हुदैछ । प्रजनन स्वास्थ्य सेवामा महिलाका साथसोथै पुरुषहरूसँग पनि काम गर्ने पर्ने केही कारणहरू छन जस्तैः
- पुरुषले महिलाको प्रजनन स्वास्थ्यका लागि गम्भीर निर्णय गर्न भूमिका खेलेका हुन्छन त्यसैले सहयोग पनि महत्वपूर्ण हुनसक्छ ।
- महिलाले भन्दा पुरुषहरूले परिवार नियोजन प्रति धेरै रुची राखेका हुन्छन त्यसैले उनीहरूलाई परिवार नियोजनबारे विशिष्ट प्रकारको सूचना तथा सेवाको जानाकारी हुन्छ र आवश्यकता अनुसार महिलालाई सहयोग गर्नसक्दछन ।
- पुरुष र महिला बीचको असल सम्बन्धले प्रजनन स्वास्थ्यसम्बन्धी व्यवहारमा ठुलो सुधार ल्याउन सहयोग पुग्छ ।
- परिवार नियोजन तथा प्रजनन स्वास्थ्यका बारेमा एक आपसमा कुराकानी गर्ने दम्पत्तिहरूले यस सम्बन्धमा सकारात्मक निर्णय गर्न सक्छन् र परिवारको विकासमा सकारात्मक योगदान दिन सक्छन ।
- गर्भ निरोधका साधन प्रयोग गर्ने सम्बन्धमा महिलालाई पतिको सहयोग प्राप्त हुनु एकदम आवश्यक छ । यसको लागि दुबै दम्पतिबीच प्रभावकारी सञ्चार हुनु आवश्यक छ । यसरी आपसमा राम्ररी सञ्चार भएमा आपसी समझदारी बढ्न गई परिवारिक सम्बन्ध नै सुमधुर हुन जान्छ ।
- विभिन्न अध्ययनहरूबाट प्राप्त नतिजा अनुसार परिवार नियोजनप्रति श्रीमानको सहमति भएमा गर्भ निरोधका साधनको लगातार प्रयोग दर उच्च रहेको पाइएको छ । यदि परिवार नियोजनबारे परामर्श दिँदा पुरुषलाई समेत सहभागी गराउँदा लगातार प्रयोग दरमा वृद्धि हुनजान्छ ।
- परिवार नियोजन सेवा लिने र यसको लागि दम्पति बीच संयुक्त निर्णय गर्ने सम्बन्धमा पुरुषको धारणा सकारात्मक पाइएको छ ।
- पुरुषहरूलाई उपयुक्त जानकारीसहित परिवार नियोजन सेवा उपलब्ध गराउन सकेमा उनीहरूले आफैंले साधन प्रयोग गर्ने बढी सम्भावना हुन्छ ।