- कृष्ण बात्सायन /
यौन ब्रह्मचार्य सम्भव हुने र नहुने व्यक्तिमा भरपर्ने कुरा हो । सम्भव भए कायम राख्न सकिन्छ तर कायम राख्न नसके असम्भव छ । ब्रह्चार्य पनि एउटा जीवन हो । त्यस्तै जीवन र यौन पनि एउटै सिक्का दुई पाटा हुन । त्यसै हुनाले ब्रह्मचार्य र यौनिकताको अनेकौ आयामहरू हुन्छन ।
ब्रह्मचार्यको भनेको कुनै पनि किसिमको मैथुनबाट बच्नु हो र वीर्यको रक्षा गर्नु हो भनि अर्थ्याएको भेटिन्छ । ब्रह्मचार्य बारे आम बुझाइ अनुसार ब्रह्मचार्य धारण गरेपछि यौनका कुनै पनि किसिमको सम्बन्धमा नपर्नु मात्र होइन कि यौन आशक्तिका बारेमा सोच्दा पनि नसोच्नु हो । हिन्दु बैदिक परम्परामा होस वा इसाई धर्म संस्कार लगायत अन्य धेरै धार्मिक अनुष्ठनहरूमा मानिसको ब्रह्माचार्य जीवनलाई महत्वका साथ लिइएको हुन्छ । हिन्दु धर्म परम्परा अनुसार त बैदिक शिक्षा आर्जन अवधिमा यौनसम्पर्क नगरून भनि पूर्णरूपमा ब्रह्मचार्य धारण गर्नु अनिबार्य मानिन्छ ।
ब्रह्मचारीहरूले यौनसम्पर्क नै गरेका हुदैंनन त ?
यौन सन्यास लिएर जीवनभरी कहिल्यै पनि यौनसम्बन्धका क्रियाकलापहरूमा संलग्न नभएका बाल ब्रह्मचारीहरू पनि हुन्छन, त्यसैले सबैलाई एउटै धारणाले हेरिनु पनि हुँदन । ब्रह्मचार्य धारण गर्ने जुनसुकै धर्म भित्रका मानिसहरू कोहि न कोहि कुनै न कुनै समय, कुनै न कुनै किसिमका यौन क्रयाकलापमा संलग्न भएका हुन्छन । केहि नभएपनि पुरूषहरूले भने हस्तमैथुन चाहिँ गरेकै हुन्छन र त्यस बापत प्रायश्चित पनि गरिरहेका हुन्छन । किनकि सबै धर्मले हस्तमैथुनलाई महिला पुरूष बीच हुने यौनसम्पर्क भन्दा पनि धेरै गुना पाप ठानेका हुन्छन । शक्ति क्षयका रुपमा लिएका हुन्छन । क्रिश्चियनहरूले त हस्तमैथुनको यौन कर्मलाई पूर्णरुपमा बर्जित नै गरेको हुन्छ ।
हिन्दुका योगी, बौध्दमार्गी भिक्षु, क्रश्चियन पादरीहरू आदि ब्रह्मचारीहरूका यौन काण्डहरू बेलाबेलामा सार्वजनिक भएकैबाट पनि थाहा हुन्छ कि ब्रह्मचारीहरूले जीवनमा सेक्स गरेकै हुँदैनन भन्न सकिदैन । कतिपय ब्रह्मचारीहरू युवा अवस्था भरी भर्पुर यौन लिला गरेर पछि ब्रह्माचार्य जीवन धारण गरेका हुन्छन । ती मध्ये धेरै चर्चित व्यक्तिवहरू गौतम बुध्द, महात्मा गान्धी, रजनिश आदि हुन । भनिन्छ यी मध्ये रजनिश र गान्धीले त ब्रह्मचार्य जीवनमा पनि यौन क्रियाकलापहरू गरेका थिए । रजनिशले चाहिँ आफुले यौनसम्परेक नगरे पनि आफ्नो अगाडि अरूलाई गर्न लगाएर यौन आनन्द लिने गरेको चर्चा निकै हुनेगरेको छ । रजनिसको यौन व्यपार पुस्तकमा पनि यो प्रशंगहरू उल्लेख छन भने गान्धीको ब्रह्मचारी जीवनमा भएका यौन क्रियाकलापहरूका बारेमा बापुजी कि कहानी पुस्तकमा भलिभाँती उल्लेख भएका छन ।
के ब्रह्मचारीहरूका लागि यौन निषेधित नै हो त ?
के ब्रह्मचार्य जीवन धारण गरेपछि यौन तृष्णालाई सहन सक्ने शक्ति आर्जन हुनुपर्ने हो ? यो सवाल साधारण मानिसको मनमा सधें रहिरहन्छ । हाम्रो समाजमा एकल महिलाहरूले या त दोस्रो विवाह गर्नुपर्यो अन्यथा जीवन भर कसैसँग (परपुरूषसँग) यौन सम्पर्क नगर्न सामाजिक/साँस्कृतिक दवाव हुन्छ र त्यसलाई धर्मसँग जोडेर हेरिन्छ । विवाह अगाडिको यौन सम्बन्धलाई पनि बर्जित गरिएको छ । यी सबैलाई ब्रह्मचार्यको धारणामा लिइन्छ ।
हिन्दु लगायत प्राय सबै खाले धर्महरूले ब्रह्मलाई सृष्टिकर्ताको रूपमा लिएका हुन्छन र मानिसले ब्रह्मचार्य धारण गर्नुभनेको त्यससँग सम्बन्धित भएर खोज गर्नु हो । आत्मा परात्माहरूको अनेकौं विधामा विश्लेषण गर्न सक्ने क्षमता आर्जन गर्नु हो । यसको लागि सबै भन्दा पहिला यौन सम्बन्धका काम बासनाबाट अलग रहनु, व्यापार वा कुनै किसिमले सम्त्ती आर्जन गर्ने कामबाट अलग हुनु, गृहस्थी जीवनबाट अलग रहनु पर्ने विधिवत मान्यता भएकोले ब्रह्मचार्यलाई अरू पक्षबाट भन्दा बढि यौन जीवनबाट अलग हुने पक्षलाई बढि महत्वका साथ हेरियो । किनकि प्राकृतिक नियम अनुसार प्रणीहरूले सुरक्षा पछिको प्रथामिकता यौनलाई दिएका हुन्छन । प्रकृतिले प्राणीहरूलाई सन्तान उत्पादनमा प्रेरित गररहेको हुन्छ । त्यसैले यौन चाहना प्राणीहरूले चाहेर मात्र बढ्ने होइन शरीरमा स्वभाविक रुपमा उत्पन्न हुने यौन रसायनहरूले चाहना बढाउँछ । कसैकसैलाई अति नै आसक्त पनि बनाउँछ । त्यसैको परिणाम स्वरूप मौका पर्दा ब्रह्मचारीहरूको पनि यौन प्यास मेटाउँने काम गर्दा कहिलेकाहीँ यौन दुराचारमा परिणत हुनपुग्दछ ।
यौन प्रति भ्रम
अध्यात्मिक (सबै धर्म सम्प्रदायको) दृष्टिकोणले स्वीकारेको छ कि मन, कर्म र विचारदेखि नै यौनबाट टाढा हुँदा विर्य एकैठाउँमा जम्मा भएपछि शक्ति आर्जन हुन्छ र त्यसलाई निकाल्दा ती शक्ति क्षय हुन्छ । अनि हस्तमैथुन गर्दा त झन बढी शक्ति क्षय हुनगइ जुन ज्ञान प्राप्त गर्न ब्रह्मचार्य धारण गरेको हो त्यो प्राप्त हुनैसक्दैन ।
धेरै यौनसम्पर्क गर्नेहरू कम्जोर हुन्छन र ठिक्क मात्रामा यौनसम्पर्क गर्ने मानिस स्वस्थ हुन्छ भन्ने भ्रम त समाजमा अझै पनि व्याप्त छ । त्यसैले कहिल्यै यौनसम्पर्क नगर्ने मानिसहरू त झन निरोगी नै हुन्छन भन्ने भ्रम अधिकांश मानिसमा छ तर पनि उनीहरू नै यौनसम्पर्क गर्न नपाए जीवन बर्वाद भएको ठान्छन ।
वीर्य कसरी बन्छ ? शुक्रकिड र वीर्य उही हो कि फरक छ भन्ने कुरामा पनि भ्रम छ । परम्परा देखि नै विद्वान ब्रह्मचारीहरूले नै त्यहि बताएका हुनाले भ्रम हुनु स्वभाविकै हो । धेरै मानिसहरूमा यहि भ्रम छ कि २० थोपा रगतबाट एक थोपा वीर्य बन्छ र वीर्य सयौ थोपाको हुन्छ । २४ घण्टामा मानिसले कति पटक यौनसम्पर्क गर्नसक्छ त्यहि अनुसार रगतको खर्च भइ मानिस कम्जोर हुन्छ भन्ने भ्रमका कारण पनि ब्रह्माचारीहरू झन बढि यौन परहेजमा बस्न पर्ने नियम बनेको हो । जब कि विर्य बन्ने र रगत बन्ने तत्वहरू शरीरमा अलग अलग प्रक्रियाका हुन्छन । अर्थात वीर्य बन्न रगतको कुनै सम्बन्ध हुदैन र पौष्टिक आहार प्रशस्त खानाले वीर्य उत्पादन पनि पर्याप्त हुने र आहार कम भए कम उत्पादन हुने नै होइन ।
हाम्रै पुराणका कथाहरूमा धेरै योगी सन्त आदि किसिमका ब्रह्मचारीहरूले विर्यदान गरेको प्रशंगहरू धेरै ठाउँमा उल्लेख भएको विर्सिएर ब्रह्मचार्य भनेको यौन परहेज हो भन्ने भ्रममा छौं ।