• २०७८ कार्तिक ३, बुधबार
  • |
  • Wednesday 20th October 2021
  • जीवनभरी नै बलात्कृत

    ४ बैशाख २०७५, मंगलवार १५:२७

    सामुदायिक क्लिनिकमा मैना दिदी शिलु नर्सको छेउको कुर्चीमा थुचुक्क बसिन ।  नर्सले मुसुक्क हाँस्दै सोधिन “कहिल्यै नआउँने मैना दिदी आज त आउनुभएछ । के भयो दिदी तपाईलाई ?” मैना दिदी बोलीहाल्न अलि अकमकिइन । मैना दिदीको परिबन्ध बुझेर नर्सले कोठाको ढोका लगाइन र फेरी सोधिन “ल अब ढुक्क भएर भन्नुस दिदी तपाईका कुरा अब सकैले सुन्दैनन ।  तपाईको कुरा म गोप्य राख्छु । हाम्रो पेशाको धर्म नै हो हामीसँग भएका कुराहरू अरू कसैलाई पनि भन्नुहुदैन । ल भन्नुस तपाईलाई के भएको छ ?”

    मैना दिदीले डराउँदै र लज्जाउँदै कुरा ओकलिन “मेरो त धेरै दिन भयो आङ् निस्कन थालेको अब त झन धेरै निस्कन्छ । घरधन्दा गर्न पनि निकै अप्ठेरो भइसक्यो ।” मैना दिदीको बोली अवरुध्द भयो ।  नर्सले पनि दिदीले थाहा पाउँने गरी लामो स्वास फेरिन र भनिन दिदी भन्नुस खुलस्त भएर । अनि पो मलाई थाहा हुन्छ कसरी उपचार गर्ने ? के उपचार गर्ने भनेर ।” दिदी पछ्यौराले मुख छोपेर झन रुन थालिन । दिदी एक्कै छिन रोइन थुनिएको पानीको बाँध फुटेसरी आँशु झारेर । नर्स एकछिन चुपचाप बसिन ।

    दिदी  शान्त भइन । मन अलि हलुका महशुस गरेर रुन्चे स्वरमा दिदीले विस्तारै भन्नथालिन “मेरो यस्तो हालत छ त्यस माथि घरका बुढाले …..(एकछिन रोकिदै) ओछ्यानमा आउन नपाउँदै छोड्दैनन । मलाई त्यतिबेला साह्रै पीडा हुन्छ । महिनावारी भएको चार दिन बाहेक हरेक दिन पीडा दवाएर बाँच्नुपरेको छ । थकाइलागेको छ, आज मलाई मन छैन भनेर त कहिल्यै भन्न पाउँदिन । आफुलाई यस्तो भएको छ भनेर थाहा दिउँ भने उसै त उनको बानी राम्रो छैन । त्यसमा अझै के के गर्नेहुन । पोहोर घटनु सार्कीको कान्छी छोरीसँग सल्केको छ भनेर गउँभरी कुरा भुइँभुइँ थियो ।  घटनुले एकदिन गाउँले भेला गराएर ट्याउ कान्छालाई मेरी छोरी जिम्मा लगाउँछु भनेछ । दाजुभाइहरूले बल्लबल्ल जोगाइदिए ।”

    नर्सले उनको श्रीमानको व्यवहारबारे बुझ्न फेरि सोधिन “तपाईको श्रीमानको बानी पहिला देखि नै यस्तै हो दिदी ?” दिदीले अलि आवेसमा आउँदै भनिन “हो बहिनी । हाम्रो विहे गर्दा म चौध बर्षको र उनी २० बर्षका थिए । त्यो दिन देखि घरमा मैले मेरो ओछ्यानमा कुनैपनि दिन शान्तसँग सुत्न पाएको छैन । कहिलेकाहिँ  ओछ्यानमा पुग्नासाथ मेरा गोडा लगलग काम्न थाल्छन । पहिला त जसोतसो सहन्थेँ तर यो पाठेघर खस्न थालेपिछ चाहिँ मलाई खप्न धेरै कठिन भयो ।” दिदीले अलि आवेशमा आउँदै भनिन “स्वास्नीलाई बलात्कार गर्ने लोग्नेलाई पनि कार्वाही हुने कानुन बनेको छ भन्ने सुनेको थिएँ तर छोराछोरीको मुख हेरेर मलाई उजुरी गर्ने आँट आएन ।” नर्सले सोधिन “किन त्यसो भन्नुभएको दिदी ?” दिदी कुर्ताको सलले मुख छोपेर केहि नबोली बसिन ।

    नर्सले दिदीलाई सम्झाउँदै भनिन “यसको सुनुवाई हुने दिन आउँछ दिदी । हामी तपाईको घरगृहस्ती नविग्रने गरी तपाईलाई न्याय दिने व्यवस्था मिलाउँछौ । अहिले सबै भन्दा पहिला यसको उपचार चाहिँ गरौं । तपाईको उपचारको पनि हामी सबै प्रबन्ध मिलाइदिन्छौ चिन्ता नगर्नुस ।” यति भन्दै नर्सले दिदीको स्वास्थ्य जाँच गर्न हरियो तन्नाको बेडमा सुताईन र हेरिन । दिदीको जीवनभरी बलात्कार भएको योनी । पुक्क परेको सेतो जुरो  योनीको मुखभरी भएर बाहिरै देखा पर्यो ।

    तपाइको मत
  • भिडियो सामाग्री