• २०८१ बैशाख ६, बिहिबार
  • |
  • Thursday 18th April 2024
  • यौनिकता र संस्कृति

    १ असार २०७५, शुक्रबार १०:४९

    जसरी संस्कृति भनेको समाजको अभिव्यक्ति हो भनेर बुझिन्छ, यौनिकता पनि मानिसको सुन्दरपक्षहरूको अभिब्यक्ति हो ।  संस्कृतिका विविध आयामहरू (जस्तैः सामाजिक, धार्मिक, दार्शनिक, मनोवैज्ञानिक, साहित्यिक आदि) भए जस्तै यौनिकताका पनि विभिन्न आयामहरू हुन्छन् । जस्तै प्रेम, सम्बन्ध,  विपरित लिङ्गीय, समलिङ्गीय आदि |

    मानिसको यौनिकतालाई संस्कृतिले प्रभाव पारेको हुन्छ । त्यसैले समुदाय र देश अनुसारको यौनिकतामा पनि विविधता भएको हो ।  यौनका कुराहरू खुलेर भन्न नहुने, लाज मान्नु पर्ने भनेर हामीलाई जे सिकाइयो हामीले  त्यहि सिक्यौं अनि सिकाउदै पनि छौं |  यसले गर्दा हामी यौनका अभिब्यक्तीलाई संकुचनमा र रहस्यका रुपमा बुझ्ने गर्दछौ । जसका कारण हाम्रो समाजमा मानिसको यौनिकता विनाभय र विना शंकोच अभिब्यक्त हुनसकेका छैनन ।

     

    ‘यौन’ शब्दले व्यक्ति-व्यक्ति बिचको आकर्षण, सम्बन्धका साथै यौनिकता, लैंगिकता, सौन्दर्यता जस्ता विषयलाई समेत समेटेको हुन्छ  तर समाजमा परोक्ष वा अप्रत्यक्ष रुपमा यौन भन्ने बित्तिकै अश्लीलता, व्यभिचार, इर्श्या जस्ता गलत किसिमले बुझाइ भएकोले हामीहरू अधिकांशमा त्यसको प्रभाव परिरहेको हुन्छ । यसैको प्रभावले पनि हामी मध्ये कतिपय मानिसहरूले यौन दुराचार, हिंसा र ईर्श्या गरिरहेका हुन्छौं ।

     

    सभ्य यौन व्यवहार अपनाउँने विचार र बानीको विकास गर्न सानै उमेर देखि यौन शिक्षाको आवश्यकता पर्दछ तर यौनका विषयमा न त विद्यालयहरूमा राम्रोसँग पढाइ हुन्छ न त समाजमा खुल्ला बहस हुन सकिरहेको छ । जसका कारण मानिसका एकअर्काको यौनिकता प्रति सम्मान गर्ने संस्कारको अभाव छ ।  यौन जन्य हिंसा वा विभिन्न किसिमका अपराधहरू घट्न सकेको छैन ।

     

    हाम्रै संस्कृतिमा यौनिकता सुन्दर भएर अभिव्यक्त भएको हुन्छ | यौनिक अभिव्यक्तिका कारणले साहित्यलाई पनि मिठास बनाएको हुन्छ । कलामा रस पलाउछ, मनमा माधुर्य छाउछ | यौनलाई संस्कृतमा काम भनिएको छ | कामको व्यापक अर्थ छ जसको पूर्णता कलामा गएर हुन्छ | नेपालमण्डलमा कामकलाको साधना लोकप्रिय छ | यो कामको सुन्दर अभिव्यक्ति, यौनको सुन्दर अभिव्यञ्जना | वर्षै पिछे पनौतीमा भैरव र भद्रकालीको जात्रा हुन्छ; यो जात्रा भैरव र कालीको समागमको प्रतीक हो ।  यौनको सुन्दर अभिव्यक्ति स्वरुप बर्षेनी होलीमा देखिन्छ | वसन्तको आगमन संगै, प्रकृतिको यौवन संगै मानवीय भावना पनि तरंगित हुन्छ, मुदित भएर बग्छ होलीमा | यसै बेला भक्तपुरमा दत्तात्रय मन्दिर परिसरको भीमसेनको मन्दिरमा भीमसेन र द्रौपदीको सम्भोगको रुपमा काठको लिंग र बिचमा प्वाल भएको रातो कपडालाई झुण्ड्याएर प्रदर्शन गरिन्छ | यसको पूजा हुन्छ, भजन हुन्छ अनि सुन्दर वाद्यवादनको साधनामा जात्रा पनि हुन्छ | यौन सुन्दर छ, मधुर छ, मीठो छ; यसलाई सुन्दर बनाउने, मधुर बनाउने अनि मीठो बनाउने ती सबै सीपहरू पनि मानिसहरूमा नै निहित छ ।  प्राकृतिक रुपमै निहित छ | यौन कलात्मक भएर पोखिए, काम मधुर भएर लेखिए रतिमञ्जरी जस्तो साहित्य जन्मिन्छ, ऋतुसंहार जस्तो कृति जन्मिन्छ | यौन मीठो भएर जीवनमा सजिए दाम्पत्य जीवन सुन्दर हुन्छ, परिवार सुन्दर हुन्छ, समाज सुन्दर हुन्छ |

     

    नेपालमण्डलमा कामकला मन्दिरका तुनासि (टुँडाल) मा अभिव्यक्त भएको छ, चित्रमा चित्रित भएको छ, जात्रा पर्वमा मुखरा भएर निस्कन्छ, संस्कृतिका यस्तै यस्तै साना साना अभिव्यक्तिमा पनि सुन्दर भएर मुस्काएको छ | आनन्दमय आलिंगनमा शिव र शक्तिका सुन्दर सुन्दर प्रतिमा हामीले यत्र तत्र छरिएको देख्न सक्छौं, शिव र सतिको अर्द्धनारीश्वर मूर्ति हामी अझै पूजा गर्छौं, कामकलाकालीको साधनामा नेपालमण्डल अझै तल्लीन छ | यहि संस्कृति, प्रेमको संस्कृति हो | यौन तसर्थ प्रेमको बिउ हो; यहि यौनको सुन्दर सुवास प्रेम हो, यहि यौनको सुन्दर स्फुरण माया हो | हाम्रो संस्कृति प्रेममय छ, जीवनमय छ |

     

    यौनका विषयमा विभिन्न विधामा स्वस्थ संवाद हुनुपर्छ, । सुरक्षित यौन जीवनका लागि जीपनोपयोगी सीपको विकास गर्न मद्दत मिल्नुपर्दछ । यौन सुन्दर संस्कृतिक अभिव्यक्ति हुनुपर्छ | यसो गर्न सकेमा जसरी यौन सुन्दर तरिकाले नेपालमण्डलमा कतै कलाको रुपमा, कतै साहित्य बनेर, कतै संस्कृति बनेर अभिव्यक्त भयो त्यसैगरी  जीवन शुन्दर हुन्छ |

     

    स्रोतः महानेपालाब्द ११३८ सिल्लागा, ; ||

    तपाइको मत
  • भिडियो सामाग्री