प्रतिक्षा किसुजु/
एक दिनको कुरा हो, आमा मामाघरबाट फर्कदैहुनुहुन्थ्यो । भक्तपुर बीच बजारमा मेरो घरबाट सूर्यविनायकको बसपार्कसम्म आमालाई लिन जान पन्ध्र देखि बीस मिनेट लाग्थ्यो । पानी परिरहेको हुनाले आमाले गाडीमा कसैको मोबाइल फोन को सहयोग लिएर घरमा फोन गर्नु भएको र बुवालाई सञ्चो नभएकोले आमालाई लिन म आफैं जानपरेको थियो ।
जाडोको समय अनि पानी परेकोले बाटोमा हिँड्ने मानिसहरु कमै थिए । सूर्यविनायक बसपार्क पुग्दा साँझको सवा सात बजेको थियो । आमाले दश मिनेटमा आइपुग्छु भन्नुभएको थियो लगभग १५ मिनेट बढी नै कुर्दा पनि आउनुभएन । म अल्मलिन थालिसकेकि थिएँ ।
नजिकैको पसलमा गएर घरमा फोन गरेँ । बुवाले घर फर्किनु भन्नुभयो । मैले ठानेँ एकैछिन पर्खेर आमासंगै घर जाँदा ठीक होला । घडिको सुइ झैं मेरो मन अत्तालिन थाल्यो । पानी रोकिन खोजे झैं थियो । अब चाहिँ घर फर्किनु नै ठिक हुने निर्णय गरेँ । आधा बाटो कटेपछि मात्र बजारको उज्ज्यालोमा पुगिन्थ्यो । डर मान्दै फट्टाफट्टी हिँड्दै थिएँ । त्यतिकैमा मेरो पछिपछि कोहि हिँडेको जस्तो आवाज सुनेँ । बाटो सुनसान भएकोले पछाडि फर्केर हेर्न डर लाग्यो, नभन्दै त्यो आवाज नजिकिँदै म तिर आएको महसुस भयो । म पछाडि नहेरी, नरोकिइकन आफ्नो बाटो लाग्दै गर्दा त्यो अपरिचित व्यक्तिले मेरो छाती तिर छुन खोजे झैं गरि मेरै अघि अँध्यारो तिर बिलायो । म रोक्किएँ, अक्मक्क परेँ, डराएँ, मलाई थाहै भएन त्यो व्यक्तिले के गरेको ? केही सोच्नै सकिन । कतै त्यो व्यक्ति अगाडि कुरेर बसिरहेको त छैन ? त्यसले फेरी पनि यस्तै गर्ने त हैन ? घर कसरी पुग्ने ? कोसँग सहयोग माग्ने ?
उपाय केहि थिएन । साहस गरेर अलि पर पुग्दा सायद त्यही व्यक्ति थियो र केही अरु केटाहरुसँग हाँस्दै चुरोटको धुँवा उडाउँदै थिए । म छेउबाट गुज्रदा उनीहरु म माथि नराम्रा कुराले जिस्क्याउँदै थिए, म अप्ठ्यारो मान्दै र डराउँदै केही नबोली छिट्छिटो हिँडे । बजार सुरु हुने उकालोमा अलि लामो सास आए झैं मात्र के भएको थियो, छेउको सानो गल्लीबाट फेरी एक जना व्यक्तिले अचानक मलाइ कम्मरमा समात्यो । म आत्तिएँ र चिच्याएँ, उ त्यही गल्ली भित्र भाग्यो । जीऊ पसिनापसिना । झन् अत्तालिएर भागेँ, कहिले घर आइपुगेँ पत्तै पाइन ।
किन मेरो कामको लागि म टोल छिमेकमा पनि एक्लै हिंडडुल गर्न पाउँदिन ? देवीलाई पूजा गर्ने त्यहि समाज महिला माथि चाहिँ किन दुर्व्यहार गर्छन ? अपराधीक सोच र व्यवहार भएकाहरु चाहिँ किन यसरी शिर ठडाएर डुलिहिँड्न पाएका हुन ? के यस्ता व्यक्ति सजायका भागिदार छैनन ?
अनि मैले फेरि सोचेँ म आफैले किन त्यस बिरुद्ध केही बोल्न वा प्रतिबाद गर्न सकिन ? आफु कमजोर भएको महसुस गरेँ, यस्तै प्रश्नहरु खेल्दै गर्दा आँखा रसाएर आँसु बगे ।
अझैपनि यौन र्दुव्यवहार र यौनजन्य अपराधका खबरहरु प्रशस्त देख्न / पढ्न / सुन्न सकिन्छ । समचारमा छापिने घटना बाहेक जिस्काउने, छुने, यौन मनसायले मानसिक यातना दिने जस्ता कतिपय त सामान्य भए झैं छ । बाटो, बस, सार्वजनिक स्थल, कार्यस्थल, विद्यालय, कलेज, सामाजिक सन्जाल, मन्दिर देखि आफ्नै घर सम्ममा पनि किन सुरक्षित छैनन् महिलाहरू ? के यो सामान्य कुरा नै हो त ? के हामीले यसलाई सामान्य रुपले लिनु नै राम्रो हो ?
यौन र्दुव्यवहार कदापी स्वीकार्य हुन सक्दैन । यो सामाजिक मात्र नभइ कानुनी र मानव अधिकार विरुद्धको विषय पनि हो । वर्षौंदेखि महिलाहरु यसका पीडित भए तापनि अझै यौन र यौन हिंसाका विषयमा खुलेर कुरा गर्ने वातावरण छैन । महिलाहरुमा उनीहरु विरुद्ध बोल्न सक्ने क्षमता नभएकाले उनीहरुको दुष्कर्म त्यसै माफ हुन्छ भन्ने अनुमान लगाइन्छ सायद । नत्र ससाना नानीहरू माथि बलात्कार जस्तो जघन्य अपराध किन हुन्थ्यो ? यसरी हामी एकतर्फ विकास र समृद्धिका कुरा गर्छौ तर अर्को तर्फ हाम्रो समाज झन् मति भ्रष्ट भइरहेको छ ।
महिलाहरूले आफुलाई सशक्तिकरण गर्नुपर्छ र परिवारमा अभिभावकहरूले पनि छोरीहरूलाई डरले लुकाउँने हैन प्रतिबाद गर्ने क्षमता र जीवनोपयोगी सीफको पनि विकास गराउँनु पर्छ । महिला माथि हुने हिंसा न्युनिकरण गर्न पुरूषहरूको पनि साथसहयोग जुटाउँनु पर्छ । मैले जस्तै तपाईहरु मध्ये पनि कसैले यौन र्दुव्यवहार भोग्नु भएको थियो भने त्यो र्दुभाग्य हो । एक्लो ठान्न हुन्न रहेछ । आफु माथि हुने यस्ता दुर्व्यवहारहरु आफूमा सिमित राखेर निसासिनु भन्दा एकआपसमा, परिवारमा भएपनि छलफल गर्ने गरौं । आवश्यक परेमा सुरक्षा निकायको सहयोग लिऔ । यसबारे जानाकारहरूसँग परामर्श लिने गरौं । अझै पनि यस विषयमा मौन बस्ने हो भने हरेक महिलाले कहि न कहि र कुनै पनि बेला त्यहि दुर्भाग्य भोग्न पर्ने हुन्छ । यौन र्दुव्यवहारको दुष्चक्र यसरी नै घुमिरहन्छ ।