– कल्पना ज्ञावली*
बुबाको जागिर शहरमा भएकोले म बुबासँगै बसेर त्यतै पढ्दैथिए । म १३ बर्षकि हुँदा नै कक्षा ९ मा भर्खरै पुगेकि थिए । बुबाको सल्लाह अनुसार ऐच्छिक गणित अध्ययन गर्न थाले । मलाई गणित विषय सहज लाग्दैनथ्यो त्यसैले गणितको ट्युसन पढाउँन छिमेकमा बस्ने एक जना सरलाई बुबाले जिम्मा लगाउँनुभयो ।
सधें हाम्रो कोठामा आएर ट्युसन पढाइरहने ती सरले एक दिन मलाइ उहाँले आफ्नै घरमा पढ्नका लागि बोलाउनु भयो । म गएँ । उहाँले जुन कोठामा भन्नुभयो, म छिरे । सरले त्यो कोठाको ढोका लगाउनु भयो तर मैले चुक्कुल लगाएको ख्याल गरिनछु । पढ्ने कुरा नगर्दै सरले मलाइ खाटमा पसारेर मेरो हातमा एउटा पुस्तक थमाइ दिनुभयो । जुन पुस्तकमा लेखिएको थियो “सुहाग रात” तर मलाई त्यसको अर्थ थाहा थिएन । कितावको पाना पल्टाएँ । त्याहाँ महिला पुरुष बीच यौन सम्पर्क हुदैगरेको देखेँ । किताब भुइँमा फ्यात फालेर आफ्नो किताब समातेर म बाहिर निस्कन ढोका तर्फ जादै गर्दा उहाले मलाइ चिलले झम्टे कुखुराको चल्ला टिपेको जसरी त्यहि बिस्तारामा पल्टाइदिनुभयो । संयोगले मैले त्यो दिन मेरो सुरूवालको इजार सुर्केनी नभएर गाँठो पारेको रहेछ । सरले लछारपछार पार्दै सुरुवाल खुस्काउँने प्रयास गर्नुभो । म उम्कन करिब अन्दाजी पाँच मिनेट प्यास गरेपछि सरले के सोच्नु भयो कुन्नी मलाइ छोडि दिनु भयो । ढोकाको चुक्कुल खोलेर निस्केँ । म निस्केको कोठासँगैको अर्को कोठामा मेरो साथीको दिदीको कोठाभित्र गएँ र चिच्याएर रोएँ । यसको बारेमा मैले बुबालाई केही भन्न सकिन । चोट लागेको थियो । कुर्ता च्यातिएको थयो, मैले बुबालाई लडेर यस्तो भएको भनेँ ।
मैले त्यै ऐच्छिक गणित नै नपढ्ने निधो गरे । धेरै वर्षसम्म त्यो घटना सम्झेर मेरो मनमा आधीबेरी आइरहन्थ्यो । यसका बारेमा कहिल्यै पनि कसैलाई भन्न सकिन । त्यसपछि पनि साधारणतय जीवनभरी नै कुनै न कुनै किसिमको यौन दुर्व्यवहारहरूको अनुभवहरु फ्याट फुट्ट भै नै रह्यो । यसैको परिणाम यहि विषय आज मेरो अध्ययन र अनुसन्धानको क्षेत्र बनेको छ ।
मैले अनुसन्धान गर्ने क्रममा तथ्य तथ्याङ्कहरू संकलन गर्दा यी बिषयमा नानीरहूले बताइरहदा मेरो अतितले मुटु घरीघरी भक्कानिइ रहन्छ । अध्ययन अनुसन्धानको क्रममै मैले कुराकानी गरेका धेरै नानीहरूले बताएका कुराहरूमा दुइवटा वाक्य मेरो कानमा घरी घरी गुन्जिरहन्छ । एउटा हो, “म्याम त्यो दिन कुनै छैन होला जुन दिन कुनै न कुनै खालको दुर्व्यवहारमा नपरिएको” र अर्को हो, “आफ्नो साथी र शिक्षकहरूबाट दुर्व्यवहार भएको दिनै धराप हुन्छ । छोरी मान्छे हुनुको परिणाम यहिहोला है म्याम ?”
* लेखक सानो ठिमी क्याम्पसमा उप प्रध्यापक हुनुहुन्छ ।