[REQ_ERR: 404] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. महिलाको महिनावारी पिरोलो | Yaunik Media
  • २०८१ चैत्र ६, बिहिबार
  • |
  • Thursday 20th March 2025
  • महिलाको महिनावारी पिरोलो

    २९ असार २०७५, शुक्रबार ११:३५

    रजनी भारती /

    म जनस्वास्थ्य विषयको विद्यार्थी पनि हुँ । जनस्वास्थ्यको अध्ययनका लागि सबैभन्दा ठूलो पुस्तक एउटा व्यक्ति हो । एउटा तालिमका सिलसिलामा महिलामा हुने महिनावारी र संकोचका बारेमा मैले राम्रो अनुभव प्राप्त गरेँ । त्यहि अनुभवलाई यहाँ प्रस्तुत गरेको छु ।

    ललितपुर जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने सुन्दर बस्ती आनन्दवनमा भएको थियो । त्यो आवासीय तालिममा सहभागी ३८ जनामा हामी महिलाहरू २० जना थियौँ । सहभागी महिलाहरूको उमेर १८ देखि ३० वर्षसम्मको थियो । तालिम शुरुहुँदा दुईजना बहिनीहरूले लाजमान्दै मलाई आफुहरु महिनावारी भएको तर सेनिटरी प्याड नभएको बताए ।   तालिम क्षेत्रको आसपासमा त्यतिबेला  सेनिटरी प्याड कुनै पसलमा थिएन । बिहानदेखि बेलुकासम्म तालिममा व्यस्त हुने हुनाले चापागाउँ बजारमा जाने समय पनि थिएन । बल्लतल्ल एक जना साथीसँग सेनीटरी प्याड पैंचो मागेर काम चलाइयो । 

    उनीहरूले लाज भएरपनि वाध्य भएर समस्या मलाई गुनासो राखेका थिए । आफ्नै उमेर मिल्ने सहलिङ्गीलाई समेत यस्ता सामान्य समस्याका बारेमा बताउँन अनकनाउनुको मुख्य कारण परिवार र समाजले दिएको लाज र संकोच हो । त्यसकारण महिनावारी हुँदा के गर्ने भन्ने बारेमा हरेक महिलाले जान्न आवश्यक छ ।

    महिनावारीको क्यालेण्डर कसरी बनाउने ?

    महिनावारी कहिले हुन्छ भन्ने कुरा थाहा पाउनका लागि आफ्नो डायरीमा क्यालेण्डर साइकल बनाउन सकिन्छ । हरेक महिलाको महिनावारी निश्चित दिनकै फरकमा हुन्छ भन्न सकिन्न । सामान्यतः पहिलोपटक महिनावारी भएको २८ दिनको फरकमा अर्कोपटकको महिनावारी हुने गर्दछ । तर कहिलेकाँही ३५ दिनको फरकमा पनि हुन्छ भने कहिले २४ दिनकै फरकमा पनि हुनेगर्दछ । तर २० दिनभन्दा चाँडो भएमा अथवा ४५ दिनसम्म महिनावारी नभएमा स्वास्थ्य जाँच गराउन आवश्यक हुन्छ ।

    आफू कति दिनको फरकमा महिनावारी हुन्छु भन्ने कुरा सबै केटी मान्छेले थाहा पाउन आवश्यक छ । घरमा भएको क्यालेण्डरमा महिनावारी भएको पहिलो दिनलाई चिन्ह लगाउनुपर्छ । फेरि अर्कोपटक महिनावारी भएको पहिलो दिनमा गोलो घेरा लगाउँदै जानुपर्छ । यसरी चारपाँचपटक महिनावारी हुँदाको सुरूको दिनमा लगाएको चिन्हको आधारमा दिन गनेर कतिदिनको फरकमा महिनावारी भइन्छ भन्ने कुरा सजिलै थाहा पाउन सकिन्छ । तर प्रत्येक पटकको महिनावारी हुँदा फरक फरक दिनको अन्तरालमा हुन पनि सक्छ । यसले गर्दा आफू महिनावारी हुनसक्ने हप्ताको अन्दाज गर्न सकिन्छ । जसले गर्दा आफ्नो यात्रा तथा अन्य कार्यक्रम अनुसार सेनेटरी प्याडको बन्दोबस्त गर्न सजिलो हुन्छ ।

    महिनावारीपूर्वका संकेतहरू

    महिनावारी हुनुभन्दा पहिले केही संकेतहरू देखिन्छन् । संकेत सबैमा समान नभए पनि कुनै कुनै संकेतबाट अब केही दिनमै महिनावारी सुरू हुन्छ भन्ने थाहा पाउन सकिन्छ । यहाँ केही संकेतहरू जस्तैः

    ·       स्तनहरू भारी हुने÷ दुख्ने गर्छ ।

    ·       तल्लो पेट फुल्ने र दुख्ने गर्छ ।

    ·       कसैकसैमा डन्डिफोर आउने र महिनावारी सुरू भएपछि हराउने गर्छ ।

    ·       छिनछिनमा मुड परिवर्तन हुने, रिस उठ्ने, सनक चल्ने गर्छ ।

    महिनावारी हुँदा ध्यान दिनुपर्ने कुराहरू

    सरसफाइः   

    ·       महिनावारी हुँदा ध्यान दिनुपर्ने कुराहरूमा सरसफाइ प्राथमिकतामा पर्दछ । महिनावारी हुँदा निस्कने रगतमा खेर गएको डिम्ब लगायत गर्भ रहेको बखतमा भ्रुण टाँसिन सजिलो हुने गरी पाठेघरको भित्री तहमा जम्मा भएको एउटा तह नै बाहिर निस्कने हुँदा एक प्रकारको गन्ध पनि आउने गर्दछ जसको कारण पनि सरसफाइमा ध्यान दिनुपर्ने हुन्छ ।

    ·       बाहिर निस्कने त्यस्तो पदार्थहरु योनीमा धेरै वेरसम्म रहिरह्यो भने विभिन्न प्रकारका किटाणुहरू फैलन सक्ने र संक्रमण हुनसक्ने डर पनि हुन्छ ।

    ·       त्यसैले महिनावारी हुँदा दैनिक रूपमा नुहाउनु पर्दछ । यदि पुरै शरीर नुहाउन सकिन्न भने योनीको वरिपरी राम्रोसँग सफा गर्नुपर्छ । रगत शोष्नका लागि सफा सुतीको पेन्टी (कट्टु) तथा कपडाको प्याड बनाइ प्रयोग गर्नुपर्छ ।

    ·       महिनावारी हुँदा प्रयोग गर्ने कपडा राम्रोसँग सफा गर्नुपर्छ । फोहर कपडा प्रयोग गर्दा त्यसैबाट संक्रमण हुने डर हुन्छ । उक्त समयमा प्रयोग गर्ने कपडा साबुन पानीले धोएर राम्रोसँग घाममा सुकेको हुनुपर्दछ किनभने साबुनका साथसाथै  घाममा पनि किटाणु मार्ने शक्ति हुन्छ । यस्ता कपडाहरू बेला बेलामा फेरिरहनु पर्दछ । सकिन्छ भने एकपटक प्रयोग गरेर फाल्नेखालका सेनिटरी प्याडको प्रयोग गर्नु उचित हुन्छ ।

    ·       दिशा गरिसकेपछि सफा गर्दा अगाडिबाट पछाडितिर सफा गर्नुपर्दछ ताकि दिशामा भएका फोहोरले योनीमार्ग तथा मूत्रनलीको संक्रमण नगरून् । अनि महसनावारी भएको समयमा यौनसम्पर्क गर्दा कण्डमको प्रयोग गर्नु राम्रो हुन्छ ।

    ·       विवाहित महिलाहरूले आफुले अनुभव गरिरहेको असहजपना वा पीडाका बारेमा श्रीमानसँग र अविवाहित भए अभिभावकलाई जानाकारी गराउँने । जसका कारण उनीहरूलाई यो समस्याको जानाकारी हुन्छ र सहयोग पनि मिल्छ ।

    खानेकुरा:

    महिनावारी भएको समयमा प्रसस्त मात्रामा झोलिलो प्रोटिन तथा खनिज पदार्थ भएको खानेकुरा खाने गर्नुपर्दछ ।

    आराम:

    महिनावारीको समयमा धेरैलाई जिउ गल्ने, तल्लोपेट दुख्ने हुँदा अरू समयभन्दा बढी आरामको आवश्यकता हुन्छ ।

    पेट किन दुख्छ ?

    महिनावारी हुँदा पाठेघरभित्रको रगत बाहिर फाल्नका लागि पाठेघर खुम्चने गर्दछ । पाठेघरको मुख जति साँघुरो हुन्छ त्यति नै बढी पाठेघर खुम्चने गर्नु स्वाभाविक हो । यस्तो प्रक्रियाले धेरै महिलाहरूलाई महिनावारी भएको समयमा पेट दुख्ने गर्दछ । यस्तो बेलामा न्यानो गरेर बस्ने, ओछ्यान तातो बनाउने, तातो झोल पदार्थहरू पिउने, तल्लो पेटमा तातोपानीले सेक्ने गर्दा केही राहत मिल्छ । यतिले पनि नभए चिकित्सकको सल्लाह बमोजिम दुखाइ कम गर्ने औषधि सेवन गर्नुपर्दछ ।

    महिनावारी हुनुपूर्व के के तयारी गर्ने ?

    ·       क्यालेण्डर बनाउने

    ·       एकभन्दा बढी कपडाका कट्टुको बन्दोबस्त गर्ने

    ·       सेनिटरी प्याडहरू साथमा बोक्ने

    ·       डाक्टरको सल्लाह अनुसार दुखाइ कम गर्ने औषधि बोक्ने

    कस्तो अवस्थामा डाक्टरलाई देखाउन आवश्यक छ ?

    ·       १६ वर्षको उमेरसम्म पनि महिनावारी नभएमा वा स्तनको विकास हुन थालेको ३ वर्षसम्म महिनावारी नभएमा वा १३ वर्षको उमेरसम्म पनि स्तनको विकास सुरू नभएमा

    ·       नियमित हुनुपर्ने महिनावारी अनियमित हुन थालेमा

     

    तपाइको मत
  • भिडियो सामाग्री