• २०८१ बैशाख ६, बिहिबार
  • |
  • Thursday 18th April 2024
  • विवाहमा परिवारको सहयोग

    २ श्रावण २०७५, बुधबार १३:१७

    -अञ्जु रेग्मी/

    पढौँ, लेखौँ, केही गरौँ, स्वाभलम्वी बनौँ भनेर विहेको कुरालाई पर सार्दा झापाकी इन्दिरा प्रसाईंले परिवारको सहयोग पाइनन् । उल्टै अभिभावक र आफन्तले नानाभाँती कुरा गरेर उनलाई अध्ययन नसिध्याइकन विवाह गर्न वाध्य पारे । ढिला विवाह गरेमा व्यक्ति, परिवार र समाज हुँदै राष्ट्रलाई नै फाइदा पुग्ने सबैलाई थाहा छ । तर परम्परावादी समाजको दुष्चक्रमा पिल्सिएका गन्नेमान्नेहरू छोरीलाई छिटै अन्माएर आफू बोझमुक्त हुन चाहन्छन् ।

    छोरीहरू शिक्षित भइ आर्थिक, शारीरिक तथा मानसिक रूपले तयार भएपछि मात्र विहे गरून् भनेर अभिभावकले सकारात्मक रूपमा सोच्ने गर्दैनन् भने छिटो विहे गर्न बाध्य पारिएका अथवा अध्ययन छोड्नुपर्ने बनाइएका थुप्रै चेलीहरू हाम्रा समाजमा यत्रतत्र छन्, इन्दिरा त एकजना प्रतिनिधि पात्र मात्र हुन् ।

    विवाह एउटा सामाजिक संरचनामा रहेको समझदारी हो । यसमा विवाह गर्ने दुवै पक्ष केटा र केटी उत्तिकै रूपमा समझदार, जिम्मेवार र दायित्ववोध लिने हुनुपर्दछ । नेपाल जस्तो विकासन्मोख राष्ट्रमा छिटो विवाह हुने चलनले समस्याहरू थुप्रिएका छन् । कम उमेरमा हुने विवाहले गर्दा अवसरबाट बन्चित हुनुपर्ने, मातृशिशु मृत्युदर बढ्ने, आयआर्जन घट्ने, तीब्र रूपमा जनसंख्या वृद्धि हुने, स्वास्थ्यमा प्रतिकूल असर पर्ने, घरायसी हिंसा वेहोर्नुपर्ने जस्ता समस्या निम्तिने गर्दछन् ।

    कम उमेरमा गर्भवती बनेकी महिलाबाट जन्मिएको बच्चामा विभिन्न समस्याहरू हुन्छन् भने मानसिक र शारीरिक रूपले परिपक्व नभइकन गर्भधारण गर्दा थप जटिलता आउने निश्चित छ । यस्ता विविध समस्याबाट ग्रसित समाजमा गरिबी, अशिक्षा, रोग तथा बेरोजगारी जस्ता दुश्चक्र घुमिरहेका हुन्छन् ।

    छोरी मान्छेको उमेर र योग्यता बढ्दै जाँदा अभिभावकहरूले उसको विहेको मात्र चिन्ता लिन थाल्छन् । सँगैमा छोरा मान्छेको विहे नहुँदा खासै कुरा उठेको पाइँदैन तर छोरी मान्छेका लागि भने दसथरी कुरा चल्न थालिहाल्छ ।

    अभिभावकका नजरमा छोराछोरी सँधै केटाकेटी नै हुन्छन् भनेझैँ छोरीले असुरक्षित यौनसम्पर्क गर्ली अथवा अवैध गर्भवती बनेर समाजमा नाक काटिने होकी भन्ने चिन्ता अभिभावकले बोकिरहेका हुन्छन् । तर ती खतराबाट कसरी जोगिने भनेर अभिभावकले कहिल्यै पनि छोरीलाई जीवनोपयोगी सीप दिएको कहीँ पनि देखिदैन । उनीहरूले छोराछोरी (नयाँ पुस्ता) लाई जिम्मेवार बनाउनका लागि कहिल्यै पनि सोच्दैनन् अथवा त्यो भूमिका निर्वाह गर्दैनन् । घर परिवारमा पाहुना आउँदा होस् अथवा अरूको विहेको कुरा चल्दा होस् गफको विषयले छोरीकै विहेमा आएर ठुङ मार्ने गर्छन ।

    पश्चिमा मुलुकहरूमा छोरी मान्छेले २५ वर्षभन्दा कम उमेरमा विवाह गरेको थोरै मात्र देख्न पाइन्छ । बदलिँदो परिस्थिति र  विश्वव्यापीकरणले हाम्रो समाजमा पनि असर नपारेको होइन । परिवर्तनको असर नयाँ पुस्तामा चाँडो र धेरै परेको छ भने अभिभावक पुरानो सोचलाई त्याग्न तयार भएका छैनन् । छोरीले पढेर राम्रो रोजगारीको अवसर पाएपछि अभिभावकले छोरीको पढाइमा गरेको लगानीको प्रतिफल पनि प्राप्त हुन्छ । तर यस्तो भूमिका निर्वाह गर्नका लागि अभिभावकको मानसिकता तयार भएको छैन । यसको मुख्य कारक तत्व हो पुरुषप्रधान समाज र छोरीमाथि हुने भेदभाव । हाम्रो समाजमा २५ नाघ्नु भनेको सबै सीमा नाघ्नु जत्तिकै हो । पढ्दापढ्दै विहेको कुरा उठ्छ कहिले भाउज’बाट त कहिले आमाबाट । विडम्बना एउटी महिलाको छिटो विवाह गराउने कुरामा महिलाहरू नै पहिले तयारी हुने गर्छन् ।

    घरमा विहेको कुरा चल्न थालेपछि उसले ‘नाइँ अहिले पढ्छु पछि विहे गर्छु’ भन्ने वातावरणसम्म हुँदैन । ‘तेरो कुन केटासँग चक्कर चलेको छ ? तैँले किन हाम्रो इज्जतलाई डुबाउँछेस ? त्यस्तो राम्रो र धनी केटा आएका बेला किन अस्वीकार गर्छेस् ? यस्ता नानाथरीका प्रश्नले उसलाई मानसिक तनावसँगै अरूका इच्छामा वली चढ्न बाध्य बनाउँछ ।

    घर परिवारको तनाबबाट बाहिर निस्कनासाथ छरछिमेकी, टोल तथा जोरीपारीले कुरा काट्न थालिहाल्छन् ‘बुढीकन्या’ भनेर । महिलाले ढिलो विहे गर्छु भन्दा त्यसका लागि वातावरण पनि हुँदैन । आफ्ना साथीसंगी, छरछिमेकी, आफन्त सबैले कम उमेरमै विहे गरिसकेका हुन्छन् । पारिवारिक दबाबले पैदा गराएको मानसिक तनावमाथि बोझिलो बातावरणले उसको विवेकमाथि नियन्त्रण गर्छ अनि उही चाँडो विवाहको फन्दामा पर्नु बाहेक अन्य विकल्प हुँदैन ।

    अभिभावकले छोराछोरीलाई पनि निर्णय प्रक्रियामा सहभागी गराउने, छोराछोरीको मानसिकता बुझ्ने, जिम्मेवार भूमिका निर्वाह गर्न दिने र समाजमा परिवर्तन देखाउन तयार हुने हो भने छोरीको ढिलो विवाह संभव हुने थियो ।

    हिजो आज केही अभिभावकले छोरीलाई प्राविधिक शिक्षा नर्स् डाक्टर, इन्जिनियर आदिको अवसर दिलाएका छन् । त्यो शिक्षा पनि छोरीलाई स्वाभलम्बी बनाउनका लागि नभई राम्रो पढेको केटासँग चाँडै विहे गराइदिनका लागि हो । त्यतिमात्र होइन विदेशमा काम गर्ने केटाहरूले प्राविधिक विषय पढेका केटीहरूको चाहना राख्नाले पनि छोरीलाई विदेशी ज्वाइँको जोहो गर्न प्राविधिक विषय पढाएका हुन् । यसरी प्राविधिक विषय अध्ययन गर्ने छोरीको हातमा प्रमाणपत्र परिपक्का भएपछि विहे गर्नुपर्छ । उसलाई पढाउन परिवार, अभिभावक र राष्ट्रले गरेको लगानी पन्छाएर उसलाई अवसरबाट बन्चित गराउँदै विहे गराइन्छ ।

    यी तमाम कारणले  महिलाको ढिलो विवाह हुनका लागि परिवारले जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । अन्यथा छोरी दासी नै हुन्छे । त्यैले अभिभावकको सकारात्मक सहयोग बिना छोरी मान्छेको ढिला विवाह हुन सक्दैन ।

    तपाइको मत
  • भिडियो सामाग्री