यौनिक डेस्क/
सबै वयस्कहरूले भन्ने गर्छन “मन बुढो हुदेन ।” तर बयस्क उमेरमा पार गर्दै जाँदा किन यौन इच्छामा कमि भएपनि यौनशक्तिमा कमि हुँदैआउँछ ? के तपार्इंको पनि बयस्क अवस्थामा हुनुन्छ भने तपाईको यौन क्रियाकलापमा पहिलाको भन्दा फरक अनुभव भर्दै हुनुहुन्छ ? कि यौनसम्पर्क गर्ने इच्छा घट्दै गएको छ ? युवा अवस्थाको सक्रिय यौन जीवन वयस्क अवस्थाबाट पनि गुज्रिदै जाँदा कतिपय मानिसको आहार विहार र चिन्तनमा पनि परिवर्तन आएको हुन्छ । वयस्क हुँदा आउँने परिवर्तन र त्यसको रोकथामकोलागि व्यवहारमा परिवर्तन र उमेर अनुसारको व्यवस्थापन नगर्नाले यौन सम्बन्धमा पनि समस्याहरु आउन सक्दछन ।
१. के प्राय तनावमा हुनुहुन्छ ?
कतिपय व्यक्तिहरू यस्तो हुन सक्छन् जसले तनावको समयमा पनि धेरै कामहरू गर्न सक्छन् । प्रगती गर्न सक्दछन तर, यौनइच्छा शक्ति भनेको अरु काम जस्तो होइन । पैसा नभएको वा कमाउन नसकेको, पेशा/व्यवसायका कारण उत्पन्न दिक्दारी, झन्झट, पारिवारिक बेमेल, द्वन्द, घरमा विरामी, अभाव आदि थुप्रै कारणले हामीलाई तनावग्रस्त बनाएको हुन्छ । यस्तो बेलामा यौन इच्छाशक्ति विस्तारै हराएर जान्छ । त्यसैले, आफूलाई तनावमुक्त राख्न तनाव व्यवस्थापन सम्वन्धी सीप सिक्नुपर्छ र तनाव भएको वेला मनोविमर्शकर्ताहरूलाई भेट्ने र सल्लाह लिने पनि गर्नुपर्छ ।
२. के तपाइको दम्पती बीचको सम्वन्ध त्यति राम्रो छैन ?
यौन जोडी बीचको सम्वन्ध र मेलमिलाप महत्वपूर्ण कुराहरू हुन् । असल सम्वन्ध हुदाँमात्र इच्छा शक्ति बढ्छ । चिसो सम्वन्धले विश्वासको संकट हुन्छ । झगडा निम्त्याउँछ । आत्मीयता घट्छ । परिणाम, यौन चाहाना घट्छ । त्यसैले आपसी सम्वन्धमा चिसो हुन दिनुहुदैन ।एकले अर्काको अवस्थालाई राम्रोसँग बुझ्ने कोशिश गरिरहनु पर्दछ ।
३. के मदिरा वा कुनै लागुऔषध अत्याधिक सेवन गरिरहनु भएको छ ?
मदिरा वा कुनै लागुऔषध सेवन गर्दैहुनुहुन्छ भने ख्याल गर्नुस् । शुरूशुरूमा त आँटिलो बनाउला तर नियमित रुपमा अत्याधिक मदिरा वा लागुऔषधको सेवले विस्तारै यौन इच्छा शक्ति घटाउदैं लैजान्छ । लिङ्ग सिथिल हुँदै उत्तेजित हुन पनि छोड्छ । आफ्नो यौन सक्रियता घटेको कारण श्रीमती प्रति शंका उत्पन्न हुनथाल्छ र त्यसैको कारण कुनैपनि निहुँमा घरेलु हिंसा शुरू हुन्छ । जसको कारण कतिपय मानिसहरुले मदिराको सेवन अझ बढाएका हुन्छन । त्यसो गर्नुको सट्टा मदिरा वा लागुऔषधको सेवन गर्न छोड्नुपर्दछ र कठिन भए विस्तारै कम गर्दै जानेर अन्त्यमा छोड्नुपर्दछ । यसको लागि परामर्शकर्ता तथा स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ ।
४. के राम्रोसगँ निद्रा पुगेको छ ?
कामको व्यस्तताले वा अन्य कुनै कारणले प्राय राम्रोसँग निदाएको छैन भने यौनइच्छा शक्ति विस्तारै कम हुदैजान्छ । त्यसैले सुत्ने समय व्यवस्थापन गर्ने र समयहुँदा पनि निद्रा नै नलाग्ने भएको छ भने त्यसको कारण पत्ता लगाउन मनोचिकित्सकको सल्लाह लिने र त्यही अनुसार आफूलाई व्यवस्थित गर्नुपर्छ ।
५. के बच्चाहरूको हेरचाह गर्नुपर्ने छ ?
सानो बच्चाको हेरचाह गरिराख्नुपर्ने हुँदा पनि यौनइच्छा शक्तिमा कमी आउन सक्छ । त्यसैले, बालबच्चाको हेरचाहको लागि श्रीमानश्रीमती पालो मिलाउँने समय छुट्याउनुपर्छ । परिवारमा अरूको पनि सहयोग लिन सकिन्छ ।
६. के औषधी सेवन गर्दै हुनुहुन्छ ?
डिप्रेशन सम्वन्धी औषधीहरू, उच्च रक्तचाप सम्बन्धी औषधीहरू, कयान्सर सम्बन्धी औषधीहरू, एचआइभी सम्बन्धी औषधीहरू लगायत केहि अरु त्यस्ता औषधीहरू हुन्छन जसले मानिसको यौनइच्छा शक्तिमा कमि ल्याउँन सक्दछ । यस्तो भएको खण्डमा चिकित्सकहरूसँग सल्लाह गरी औषधी परिवर्तन वा अन्य कामका बारेमा सल्लाह लिनुपर्दछ ।
७. के आफ्नै सुन्दरता प्रति चिन्ता छ ?
सुन्दरता यौनइच्छाको महत्वपूर्ण पक्ष हो । सुन्दर देखिनु भनेको अनुभव गर्ने कुरा हुन् । आफुमा सु्न्दरता नभएको महसुस भयो वा आफ्नो यौन जोडी सुन्दर नदेखिएको जस्तो लागिरहन थाल्यो भने यौनइच्छा पनि घट्दै जान थाल्दछ । त्यसैले, सधैं सुन्दर रहने चाहनासँगै सोच र व्यवहारलाई पनि सुन्दर बनाउँनु पर्दछ । सुन्दरता सम्बन्धी भ्रम वा गलत धारणाबाट विस्तारै मुक्त हुदै जानुपर्दछ ।
८. के मोटाउनु भएको छ ?
कतिपय मानिसमा मोटोपनले पनि यौन इच्छा शक्तिमा कमी आएको हुन्छ । खास कारण थाहा नभएपनि यौनसम्पर्क गर्न अप्ठ्यारो हुने, कतिपयलाई आफ्नो मोटोपनाका कारण सुन्दरता प्रतिको चिन्ता हुने कारणले यस्तो भएको हुनसक्छ । मोटोपन नियन्त्रण र रोकथाम गर्नुपर्छ । गर्नैपर्छ तर यो सजिलै सम्भव पनि छ ।
९. के यौन दुर्वलता छ ?
यौन दुर्वलता वा लिङ्ग उत्तेजित नहुने समस्या भएका मानिसहरूलाई पनि इच्छाशक्ति घटेर जान्छ । यसो हुनुमा दुर्वलता नै कारण हुन सक्छ । दुर्वलताले यौनसम्पर्क गर्न सक्दिन भन्ने चिन्ता जन्माउँछ , त्यही चिन्ता नै इच्छा शक्ति कम गराउने कारण बन्छजान्छ ।
१०. यौन हर्मोनको कमी भएको छ की ?
टेस्टोरोन नामको हर्मोनले यौन इच्छाशक्ति कायम राख्ने वा बढाउने हो । यो हर्मोनमा कमी आयो भने पनि इच्छाशक्ति घट्छ । यो हर्मन प्रायः उमेर बढ्दै जाने क्रममा घट्दै जाने हो, । कहिले काँही अरू विमार वा समस्याको कारण पनि यस्तो भएको हुनसक्छ । परामर्शकर्ता वा सम्बन्धित विषयका चिकित्सकसँग सल्लाह लिनु पर्दछ ।
११. के महिनावारी बन्द भयो कि बन्द हुने लक्षण देखिएको छ ?
बयस्क उमेर ढल्कलदै जाँदा महिलाहरूमा महिनावारी सुक्नु अगाडिको लक्षण आउँदा वा सुकेपछि प्राय महिलाहरूमा यौनइच्छा शक्ति पनि घट्छ । दाम्पत्य जीवन वा यौन जोडीसँगको सम्बन्ध र परिवेशले पनि धेरै प्रभाव पार्छ । महिनावारी सुकेपछि हर्मोनमा आउने परिवर्तनले योनी सुख्खा हुने, यौनसम्पर्क गर्दा दुख्ने हुनसक्छ । फलस्वरुपः यौन सम्पर्क गर्ने इच्छा घट्ने हुन्छ ।
यी अवस्थाहरूबाट उम्कन वा यौन जीवनलाई व्यवस्थित राख्न सकिन्छ । यसको लागि नियमित रूपमा अभ्यास गर्ने । कामलाई बोझको रुपमा नलिने, तनाव नलिने अनि व्यस्थापन गर्न नसकिने किसिमले तनाव भएमा मनोचिकत्सक वा मनो परामर्शकर्ताको सहयोग लिने । धुमपान, जाँडरक्सी वा कुनै किसिमको लागुऔषधको लत भए विस्तारै छोड्ने । रक्तचाप, मधुमेह वा अन्य कुनै औषधिका कारणले यौन क्रियाकलापमा असर पारेको अनुभव गरेको हो भने त्यहि औषधि दिने चिकित्सकसँग परामर्श लिने । समय अनुसार खाना खाने र सन्तुलित खाना खाने आदिले सक्रिय यौन जीवनलाई अझै धेरै लम्ब्याउँन सकिन्छ । सक्रिय यौनका सम्बन्धमा अनेकौ औषधिहरूको विज्ञापनको पछि नलाग्नुहोस । कहिलेकाहिँ त्यसैले यौनजीवन समाप्त हुन पनि सक्छ । यसलाई प्राकृतिक नियममा नै सन्तुलित राख्नुस जसले कुनै हानी पुर्याउँदेन ।