• २०७७ फाल्गुन १६, आइतवार
  • |
  • Sunday 28th February 2021
  • आधारभूत विद्यालय शिक्षामा पनि यौनशिक्षा आवश्यक

    १० आश्विन २०७५, बुधबार १४:०६

    के बालबालिकासँग यौनिकतका बारेमा कुरा गर्दा उनीहरू विग्रने नै हुन र ?

    • रामकृष्ण पराजुली /

    जब विद्यालय शिक्षामा नै प्रजनन शिक्षाका साथै यौन शिक्षा पनि पढाउँनु पर्छ जसका कारण यौनसम्बन्धी भ्रमहरू निवारण गर्न सहज हुन्छ भन्ने आवाज बाल मनोविद् र शिक्षा विद्हरूबाट उठ्यो, यसको संसार भरी विरोध पनि शुरुभयो ।   सानो उमेर मै यौनशिक्षा दियो भने त्यसले यौन उत्तेजना गराइ किशोरकिशोरीहरूको  यौनसम्पर्क पनि सानैदेखि  शुरू हुन्छ, भविश्य विग्रन्छ.  विक्रिती फैलन्छ आदि तर्क अघि सारियो ।  विश्व स्वास्थ्य सङ्गठन लगायत अन्य थुप्रै विश्विवद्यालयहरू तथा  अन्तर्राष्ट्रिय संघसंस्थाहरूले यसको बारेमा अध्ययन शुरु  गरे । परिणाम त्यस्तो भएन । बरू ती अध्ययन अनुसन्धानले यौन शिक्षा पाएका भन्दा नपाएका बालबिलकाहरूमा चाहिँ यौनकै सम्बन्धमा धेरै पारिवारिक तथा सामाजिक समस्या भोगिरहेका प्रमाणहरू फेला पर्यो ।

    विश्व स्वास्थ्य सङ्गठन, विश्व जनङ्ख्या कोष, युनेस्को युनिसेफ लगायत सङ्युक्त राष्ट्रसङ्घीय निकायहरूले यौन शिक्षाका बारेमा अनुसन्धानहरूका आधारमा छलफल चलाए र परिभाषित धारणा अगाडि ल्याए । जस अनुसार  यौनशिक्षाले कुन बेला, कोसँग र कस्तो प्रकारको सम्बन्ध राख्नुपर्छ भन्ने सीप दिने हुँदा जीवन प्रक्रियामा नै सकारात्मक प्रभाव पार्ने तर्क अगाडि सारिएपछि यौन शिक्षाका पक्षधरहरूको प्रभाव विस्तारै बढ्न थाल्यो । ती संस्थाहरूले यौन शिक्षाका योजनाहरू सञ्चालन गरे । नेपालमा पनि  रिया र परी प्रोजेक्ट भनेर चिनिन्छ ।

    यौनलाई कसरी बुझ्ने ?

    यौनलाई अङ्ग्रेजीमा sex भनिन्छ । त्यसैले यौनलाई लिङ्गको आधारमा छुट्टिएको जैविक गुणहरू भनेर बुझ्नु उपयुक्त हुन्छ । अर्थात महिला वा पुरुष वा तेस्रो लिङ्गी  जो जाहाँ परेका छन त्यहि फरक नै यौनको अर्थ हो । समाजमा अधिकांश मानिसहरूले ‘यौन’ शब्दलाई महिला र पुरुष बीच वा समलिङ्गीहरू बीच हुने यौनसम्पर्कको रुपमा बुझ्ने भएकोले यौन व्यवहार, यौन पहिचान र यौन चाहनाको अर्थमा यो विवाद भित्र पर्न गएको छ । त्यसैले यौनलाई लिङ्गको आधारमा हुने भिन्नताको रूपमा वुझ्नु पर्छ ।

    यौनिकतालाई कसरी बुझ्ने ?

    यौनिकता मानिसको जीवनको महत्वपूर्ण पक्ष हो । व्यक्तिको भूमिका, लिङ्ग, लैङ्गिक पहिचान, यौन आकर्षण र प्रजनन जस्ता विषयको समष्टी रूप यौनिकता हो । यो मानिसको सोच, मान्यता, जम्मेवारी र सम्वन्ध मार्फत अभिव्यक्त भएको हुन्छ । मानिसको यौनिकतालाई शारीरिक, मानसिक, सामाजिक, साँस्कृतिक, नीति, कानुन, इतिहास आदि कुराले पनि निर्धारण गरेको हुन्छ । यौनिकताले यौन क्रियाकलापलाई मात्रै समेटेको हुदैन ।

     

     

    सङ्क्षेपमा यौनशिक्षाका बारेमा कसरी बुझ्ने ?   

    यौनशिक्षा यौन सम्बन्धसँग मात्र नभएर यौन, यौनिकता र प्रजनन स्वास्थ्य र अधिकारसँग सम्बन्धित वृहतर अध्ययन क्षेत्र हो ।  यौनशिक्षाको मुख्य लक्ष्य भनेको मुख्यगरी युवाकिशोरावस्थाहरूलाई यौनसम्पर्कको गतिविधि र त्यस किसिमका क्रियाकलापमा संलग्न हुन उत्साहित नगराइकन अर्थात मानिसमा कामुकता जगाउनु नभई यो यौन र यौनिकतासम्बन्धी ज्ञान एवं सही निर्णय गर्नसक्ने सीपको विकास गराउनुका अतिरिक्त यौन र यौनिकताको मामलामा सुसूचित गर्ने र उनीहरूका लागि पूर्ण स्वतन्त्र रुपमा यसका व्यवहारका बारेमा सबभन्दा उत्तम के हो स्वयंले छनौट गर्न सक्षम बनाउनु हो । यसैगरी, यौनशिक्षाले यौन जीवनलाई व्यवस्थित बनाउने सीपहरू सिकाउने हुँदा व्यक्तिलाई सक्षम, दक्ष र उत्पादनशील बनाउँछ । यसकारण यौनशिक्षा उमेरअनुसार दिनुपर्छ र यौन क्रियाकलापमा सक्रिय हुने उमेरमा प्रवेश गर्नुअगाडि देखि नै यौनिशिक्षा दिनुपर्छ । जसको कारण उनीहरूलाइ जोखिमपूर्ण यौन व्यहार अपनाउँनबाट बचाउँन सकिन्छ । नेपालमा विद्यालयमा यौन शिक्षा दिन शुरू भएको भर्खरै हो तरपनि शिक्षकहरूकोलागि पर्याप्त तालीम अभाव हुनुका साथै यदि कोहि तालिम प्राप्त शिक्षक भएतापनि विद्यालयका अधिकांश शिक्षकहरूमा यौन तथा यौनिकताका बारेमा सकारात्मक धारणा पाइदैन ।  जसको कारण विद्यालयमा यौन शिक्षा पंभावकारी हुनसकेको छैन ।

    नेपाल लगायत संसारमा अल्प विकसित देशहरूमा मात्र यौनशिक्षालाई राम्रोसँग लागु गरिएकोछैन । हाल आएर धार्मिक कट्टरबादी देशहरूमा पनि देशको मौलिकताका आधारमा यौनशिक्षालाई कुनै नाम दिएर (जस्तै परिवार शिक्षा, जनसंख्या शिक्षा, प्रजनन शिक्षा आदि) विद्यालयमा कार्यान्वयन गरिएको छ । ससारका सबै धर्मसंस्कारमा प्रतिकुलता नहुनेगरी यौन शिक्षाको उद्देश्य निर्धारण गरिएको हुनाले पनि संसारका अधिकांश देशहरूमा यौनशिक्षा विद्यालय शिक्षामा समाबेश गर्न सम्भव भएको हो ।

    यौनशिक्षाका बृहत्तर उद्देश्यहरू के के हुन ?

    • वृहत यौनिकता शिक्षासम्बन्धी ज्ञान, सीप, क्षमता अभिवृत्ति, विश्वास, मूल्य एवं मान्यताहरू प्राप्त गर्नु ।
    • परिवार, समूह र समाजको यौन र यौनिकताको स्थितिका बारे बोध गरी सही विश्लेषण गर्न सक्षम हुनु ।
    • यौन विकृती निम्त्याउने तत्व तथा माध्यमहरूका बारे जानाकारी हासिल गर्न सक्षम बनाउँनु ।
    • यौन विकृति र यौनजन्य समस्याहरूबाट व्यक्ति, परिवार, समुदाय, समाज, राष्ट्र र विश्वमा हुने सम्भावित प्रतिकूल असरहरूका बारेमा जानकारी गर्न र मूल्याड्कन गर्न सक्षम बनाउँनु ।
    • समझदारी र मूल्याङ्कनको आधारमा सचेत बन्न र आवश्यकता अनुसार उचित निर्णय लिन सामर्थ्य हनु ।
    • युवाकिशोरकिशोरीहरूलाई उनीहरूका भौतिक, संवेगात्मक र नैतिक विकासमा मद्दत पुर्याउनु ।
    • भावना र सम्बन्धको बारेमा कुरा गर्ने, सुन्ने र चिन्तन गर्ने आत्म विश्वासको विकास गर्नु ।

    यौन शिक्षामा जीवनोपयोगी सिप किन महत्वपूर्ण छ ?

    • यौन तथा प्रजनन स्वास्थ्य प्रतिको गलत धारणलाई सही दिशातर्फ उन्मुख गराउँदछ ।
    • हुर्कदै उमेरका बालबालिका तथा किशोरकिशोरीहरूमा सुरक्षित यौन ब्यवहारको विकास गर्न उत्प्रेरित गर्दछ ।
    • युवाकिशोरकिशोरीहरूमा शुसुप्त रुपमा रहेका यौन र यौनिकतासम्बन्धी जिज्ञासा मेटाउन मदत गर्दछ ।
    • यौन व्यहारका जीवन उपयोगी सीप सिक्न र सिकाउन सहयोग पुर्याउँदछ ।
    • यौन तथा प्रजनन सन्बन्धी जटिलता र समस्या (अनिच्छित गर्भधारण, उमेर नपुग्दैको गर्भधारण, गर्भपतन आदि) सुल्झाउन एवं समाधानको बाटो पहिल्याउन र उपयुक्त निर्णय लिन मदत गर्दछ ।
    • साथीसंगी, दौतरी र परिवारका सदस्यहरू वीच सुमधुर सम्बन्ध र आपसी समझदारी बढाउन मदत गर्दछ ।
    • बाबालिकालाई जीवनोपयोगी सीपमा आधारित यौनशिक्षा समयमैं उपलब्ध गराउन सकेमा यौन प्रसारित रोग, सङ्क्रमण र एचआईभी र एड्स, हेपाटाइटिस तथा प्रजनन नली सङ्क्रमण जस्ता यौनजन्य समस्याहरूबाट बच्न र बचाउन मदत गर्दछ ।
    • यौन दुर्व्यहार, यौन अपराध, यौन शोषण, बलात्कार, यौन कुण्ठा लगायतका यौनजन्य समस्या न्यून गर्न सघाउँदछ ।
    • यो शिक्षाको माध्यमले परिवार नियोजनका साधनहरू उचित ढड्गले प्रयोग गर्न र गराउन सहयोग पुर्याउँदछ, साथै आकस्मिक गर्भनिरोधका साधनहरूको उचित प्रयोग गर्ने निर्णय लिन मदतगर्दछ ।
    • यो शिक्षाले यौन तथा प्रजनन अधिकारलाई सुनिश्चित गर्दै असुरक्षित गर्भपतनलाई निरत्साहित गर्दै अत्यावश्यक अवस्थामा सुरक्षित गर्भपतनका उपाय अबलम्बन गर्ने निर्णय लिन सक्षम बनाउँछ ।
    • यो शिक्षाले हुर्कदो उमेरका बालबालिका तथा युवाकिशोरकिशोरीहरूमा साँस्कृतिक, मानसिक, संवेगात्मक एवम् शारीरिक विकासको प्रवर्धन गरी व्यक्तित्व विकासमा योगदान पुर्याउँदछ ।

    विद्यालयको भूमिका के हो ?

    यौनशिक्षालाई जीवनोपयोगी सीपका रूममा विकास गराउँने पहिलो अभिभारा विद्यालयको हो । अध्ययन गर्ने र सीप तथा क्षमताको विकास गर्ने  स्रोत केन्द्र पनि विद्यालय हो । समुदाय र विद्यार्थीको भरोसा केन्द्र पनि हो र प्रत्यक्ष रूपमै सामाज परिवर्तनको सम्बाहक निकाय पनि हो । विद्यालयमा यौन स्वास्थ्यको ज्ञान दिनुका साथै विद्यालय व्यवस्थापनका सन्दर्भमा पनि विविध कार्यक्रमसँगै बालबालिकाहरूलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सशक्तिकरणमा सहयोग पुर्याउँन सकिन्छ । त्यसका लागि कुनै नयाँ काम गर्न नसकिए पनि विगतमा विविभन्न सरकारी तथा गैरसरकारी निकायको सहयोग र समन्वयमा भएका कामहरू कै आधारमा पनि धेरै राम्रा कामहरू गर्न सकिन्छ ।

    • स्थानीय स्वास्थ्य निकायहरूको सहयोगमा स्वास्थ्य जाँचका साथै परामर्शको व्यवस्था गर्ने सकिन्छ । यसबाट विशेष गरी किशोरीहरूले भोगिरेहेका यौन स्वास्थ्य समस्याहरूको हल हुन सहजहुन्छ । स्वास्थ्य कर्मीहरूको सहयोगमा यौन तथा प्रजनन स्वस्थ्यका बारेमा अभिमुखिकरण गर्न सकिन्छ । उनीहरूको जिज्ञाशाहरू उपर छलफल चलाउँन सकिन्छ ।
    • महिला र विशेष गरी किशोरीहरू माथि हुने यौनजन्य हिङ्साबाट बच्न र बचाउँने बारेमा सचेतिकरण र सुरक्षाका सिपहरूका बारेमा सशक्तिकरण गर्न शिक्षकहरूका अलावा स्थानीय राजनीतिकर्मीहरू, मानअधिकार कर्मीहरू, सुरक्षा कर्मीहरू र स्थानीय गैरसरकारी निकायका स्रोत व्यक्तिहरूको आदिको सहयोग र योगदानहरूलाई नियमित गर्न सकिन्छ ।
    • बालबालिका पनि समाजमा रहेको यौन र यौनिकता सम्बन्धी भ्रम र विभेदकारी धारणाको प्रभाव रहन्छ । यसबारे स्पस्ट नभएसम्म उनीहरूमा पनि कोहि यौन हिंसामा परिरहेका वा कसैले गरिरहेका हुने हुनाले यौन गतिविधिमा संलग्न हुने उमेर पहिला देखि नै क्षमता अनुसार सचेत गराउँने र मानिसको यौन पहिचान, यौनिकता र यौन तथा  प्रजनन अधिकारका बारेमा सचेत गराउँदै लैजानु आवश्यक छ । त्यसको लागि पनि  स्थानीय राजनीतिक नेता मानव अधिकार कर्मी स्वास्थ्य कर्मी आदिको सहयोग लिन सकिन्छ ।
    • यौन तथा प्रजनन स्वास्थ्य र परिवार नियोजन सेवाका बारेमा विद्यालयको आधारभूत तह देखि नै शिक्षा पाउँने व्यवस्था गरेमा किशोरावस्थामा पुग्दा उनीहरूले जोखिमपूर्ण यौन व्यवहार गर्ने सम्भावना धेरै नै कम हुनेबारे अनुसन्धानबाट नै स्पस्ट भएको छ । नेपालको राष्ट्रय जनसाङ्खिक सर्भेको हरेक ५ बर्षको तथ्याङ्कमा विवाह अगाडि यौनसम्पर्क गरिसकेका किशोरकिशोरीहरूको संख्या बढीरहेको तथ्याङ्कहरूमै देखाइइको । यौन तथा प्रजनन स्वास्थ्य र परिवार नियोजनको ज्ञानको अभाव हुँदा उनीहरूको जोखिमपूर्ण यौन सम्पर्क हुने गरेको छ । प्रेम र सम्बन्धका बारेमा धेरै भ्रम हुनाले मानसिक तनाव भोगिरहेका हुन्छन । त्यसकारण पनि पूर्व किशोरावस्थाबाट नै यौनशिक्षाको थालनी गर्नु आवश्यक भएको हो ।
    • सूचना केन्द्र वा स्रोत केन्द्र प्राय विद्यालयमाहरूमा छन । नभएकामा पनि स्थापना गर्न सकिन्छ र ती केन्द्रहरू यौन तथा प्रजनन स्वास्थ्य र अधिकार लगायत यौनहिंसा विरूद्ध सचेत गराउँने अध्ययन सामाग्रीको व्यवस्था गर्न सकिन्छ ।
    • विद्यालयमा सामान्य प्राथामिक उपचारको क्लिनिक नै हुनु आवश्यक छ । सामान्यतया बालबालिकाहरू विरामी हुँदा विद्यालयमै प्राथामिक उपचार र परामर्श गर्ने व्यवस्था हुनु आवश्यक छ । त्यसको लागि स्वास्थ्य कर्मी नै चाहिन्छ भन्ने छैन । प्राथामिक उपचारका बारेमा विद्यालयमा भएको जुनियर रेडक्रसका सदस्यहरू वा अरू स्वयंसेवक तथारी पारी उनीहरूलाई तालिमको व्यस्था मिलाउँन सकिन्छ । संसारका अधिकांश विद्यालयहरूमा बालमैत्री क्लिनिकहरू स्थापना गरेका हुनछन । त्यहा यौन तथा प्रजनन स्वास्थ्यका बारेमा पनि परामर्श हुने व्यवस्था मिलाइएको हुन्छ ।
    • साथी शिक्षा अभियान पनि नेपालमा केहि जिल्लाहरूमा निकै पहिलाबाट शुरू भएको र त्यो प्रभावकारी पनि भएको थियो । बैदेशिक अनुदानमा त्यो अभियान गरिएको र त्यसको अवधि पछि सरकारी नीतिकार्यक्रममा नपरेको हुँदा अहिले ओझेलमा पर्न गएको छ । साथी शिक्षक हरेक कक्षामा बनाउँन सकिन्छ र उनीहरूलाई अभिमुखिकरण गर्ने कार्यविधी पनि बनाउँन सकिन्छ जसमा यौन तथा प्रजनन स्वास्थ्यका बारेमा पनि परामर्श दिन सक्दछन ।
    • अन्तरक्रिया सेमिनारको आयोजना विद्यार्थीहरूकै संलग्नतामा समयानुकुल मितव्ययी तरिकाले गर्न सकिन्छ । जसमा किशोरकिशोरीहरूका चुनौतीहरू तथा यौन हिंसा न्युनिकरण यौन जिज्ञाशाहरूका बारेमा कार्यक्रमहरू सञ्चालन गर्न सकिन्छ ।

    सान्दर्भिक मिडियाहरूको छनौट

    हालसम्मको अवस्थामा नेपालका प्राय सबै मिडियाहरूले यौनका बारेमा लेख्छन तर अधिकांशले यौन शिक्षा प्रदायक हैन कि यौनका भ्रष्ट र गलत धारणाहरू नै दिएका हुन्छन । त्यसकारण अभिभावक र शिक्षकहरूले यसमा सचेत गराउँनु पर्दछ ।  ट्वीटर फेसबुक आदिमा धेरैले बालबालिकहरूलाई फसाएर यौन शोषण गर्ने गरेका र कतिपयले फेसबुक मार्फत विश्वासिलो  साथी बनेर बेश्याबृत्तीको लागि बेचेका जस्ता अपराध समाचारहरू पनि आइरहेका छन । अभिभावक र शिक्षक र अरूले पनि बालबालिकालाई नचिनेका मानिसलाई जस्तोसुकै असल कुरा गरेपनि साथी नबनाउँने ।  यदि फेसबुक वा अन्य मिडियाहरूबाट तनाव दिइरहेको वा उसको गतिविधिमा संका लागेमा कानुनी उपचारका लागि निडर भएर कुरा गर्न मात्रै सक्षम गराउँन सकियो भने उनीहरू माथि हुने विभिन्न किसिमका हिंसाहरू धेरै हदसम्म  कम गर्न सकिन्छ । यसकारण पनि आधारभूत विद्यालयहरू देखि नै बालबालिकाहरूका लागि यौन शिक्षा दिनु आवश्यक छ ।

    अभिभावकको भूमिका के हुनसक्छ ?

    अभिभावक नै बालबालिकाको यौन शिक्षाकालागि सबै भन्दा धेरै सकारात्मक हुनुपर्ने हो तर हाम्रो समाजमा अभिभावकहरूको यति धेरै चेतनाको विकास भइसकेको छैन । त्यसैले पनि विद्यालयमा यो विषय पढाउँने मात्रै होइन सबै शिक्षक तथा कर्मचारीहरूमा सही जानाकारी हुनु पर्दछ । यस्तो भयो भने मात्रै विद्यालय बाल मैत्री हुनसक्छ र यसको प्रभाव समाज र अभिभावकसम्म पनि पुग्छ । यसलाई प्रत्येक विद्यालयमा गठन भएका अभिभावक शिक्षक संघले प्रबर्द्धन गर्नुपर्ने हुन्छ  तर नीति निर्माता देखि शिक्षाका सबै तहका प्रशासकहरू समेत यसका लागि सकारात्मक हुनु आवश्यक छ ।

     

    तपाइको मत
  • भिडियो सामाग्री