- यौनिक डेस्क /
यसपाली (२०१८) अक्टोबर महिना भरि विश्व मै सकैसाथ स्तन क्यान्सर दिवस मनाउँने निर्णय भएको रहेछ । नेपालमा पनि यसको बारे तयारी हुँदै गरेको समाचारहरू आएका छन । विगतमा विरलै मात्र हुने गरेको क्यान्सर आजभोलीसम्ममा त क्यान्सर उपचार गर्ने अस्पतालहरूले पनि भ्याउँन नसक्ने गरी विरामीहरूको संख्या बढेको देखिन्छ ।
स्तन क्यान्सर बयस्क महिलालाई हुन्छ भन्ने मानिसको धारणा भन्दा फरक अब त किशोरीहरूमा पनि देखा पर्न थालेको छ । यदाकदा स्तन क्यान्सर पुरूषहरूमा पनि देखा पर्न थालेको हुँदा यो महिलालाई मात्र हुने क्यान्सर भन्न नमिल्ने भयो । जसलाई पनि हुनसक्छ तर रोकथाम गर्न नसकिने वा उपचारबाट निको नहुने पनि होइन । अधिकांश स्वास्थ्य कर्मीहरूको भनाइ अनुसार प्राय विरामीहरू निकै ढिला गरी आउँछन ।
स्तन क्यान्सर के हो ?
स्तनमा आवश्यकता भन्दा बढी नयाँ कोषहरु बन्यो भने यसैको समूहबाट एक किसिमको ट्युमर (स्तन भित्र नै बन्ने ऐजेरु) बन्छ । सुरुमा यो साना गिर्खा गिर्खीको रूपमा बन्छ । तिनीहरु नै पछि क्यान्सरको रूमा परिणत हुनसक्छन । सबै गाँठा वा गिर्खाहरू क्यान्सर हुनेखालका हुँदैनन त्यसकारण स्तनको जाँच गराउनु पर्छ । यस प्रति हेलचेक्रयाई गर्ने वा जँचाउँन अल्छि गर्नु हुँदैन । नेपालमा महिलाहरुलाई हुने क्यानसरमा पहिलोमा पाठेघरको क्यान्सर पछि दोस्रो स्थानमा स्तन क्यान्सर छ । विश्वको तथ्याङ्क अनुसार मानिसमा हुने क्यान्सरहरु मध्ये स्तन क्यान्सर पाँचौ स्थानमा पर्छ । विश्व स्वास्थ्य संगठनको अनुसार संसारमा स्तन क्यान्सरको कारण प्रत्येक वर्ष ५ लाख २ हजार महिलाहरुको मृत्यु हुने गरेको छ ।
आफैले पनि जाँच्न सकिन्छ
१. ऐनाको अगाडि उभिनुपर्छ र दुइवटै स्तनलाई छुट्टाछुट्टै हेर्नुपर्छ । स्तनको आकार, प्रकार, रङ्ग वा स्तनको झोलिएको दिशा वा स्तनको मुन्टोको दिशामा पहिलाको भन्दा परिवर्तन छ कि छैन र?
२. आफ्नो दुबै हातलाई माथी उठाउने, स्तनमा केही परिवर्तन छ कि छैन दायाँ बायाँ फर्की फर्की हेर्नुपर्छ ।
३. दुबै हात कम्मर पछाडि राख्ने कुमलाई अलि अगाडि ल्याउने अनि प्रत्येक स्तनमा के परिवर्तन छ भनेर हेर्ने ।
४. ऐनाको अगाडी उभिएर कठालाको हड्डी देखि नै स्तनलाई हल्का दवाव दिएर छाम्न सुरु गर्ने औलाको सहायताले दायाँ हातले बायाँ र बायाँले दायाँ तिर छाम्दै काखी मुनि सम्म छाम्दै जाने । कतै गिर्खा गिर्खी फेला पर्यो ?
५. त्यसपछि सुतेर पनि त्यसै गरी छाम्ने । कुनै गिर्खा गिर्खी पाइयो कि ?
स्तन क्यान्सरको लक्षण नै पाइयो भने पनि सुरुको अवस्थामा उपचार गरेर निको पार्न सकिन्छ ।
वंशाणुगत कारण बाहेक अरू कारणबाट हुने क्यान्सरबाट बच्न सकिन्छ । त्यसको लागि बोसो र घ्यू बढी नखाने, चुरोट तथा सुर्तीजन्य पदार्थ नखाने, स्वस्थकर खाना पर्याप्त खाने र नियमित रूपमा श्रम गर्ने वा अभ्यास गर्नेबानी बसाल्ने । यस्तो व्यवहार भएका मानिसहरूलाई स्तन क्यानसर लगायत कुनै पनि किसिमको क्यान्सर हुने सम्भावना धेरै कम हुन्छ ।