यौनिक डेस्क /
परिवार स्वास्थ्यका सामान्य कुराहरू पनि थाहा नपाउँदा धेरै मानिसको ज्यान गएको हुन्छ । विशेष गरी बालबालिका र गर्भवती महिलाहरू धेरै जोखिममा हुन्छन । ग्रामिण क्षेत्रमा स्वास्थ्य सुविधा नभएर अकालमा ज्यान जाने एउटा मुख्य कारण भनिन्छ । त्यस भन्दा बाहेक र त्यो भन्दा धेरै स्वास्थ्य जोखिम अवस्थाहरूको जानाकारी नै नहुँदा अझै धेरैको अकालमा ज्यान गएको हुन्छ ।
सुत्केरी अवस्थामा देखिने खतराका लक्षणहरू के के हुन भन्ने जानाकारी नहुँदा ज्यान गुमाउँने महिलाहरू धेरै नै छन । जनचेतना कमि मात्रै होइन किनकि चेतना भएकाहरूमा पनि व्यवस्थापकीय क्षमता नहुनाले पनि समयमा उपचार नपाइ ज्यान गुमाएका हुन्छन । घरको अभिभावक र विशेषगरी श्रीमानले नै यस्ता कुराहरूको राम्रो जानाकारी राख्नु जरूरी हुन्छ । तर, उनीहरूसम्म यी जानाकारीहरू पुगेका हुदैनन ।
कसरी थाहा पाउने सुत्केरीको खतराका लक्षणहरू
- धेरै टाउको निकै दुखेमा,
- आँखा तिर्मिराएर धमिलो देख्ने भएमा,
- हात वा मुख सुन्निएमा,
- तल्लो पेट धेरै दुखेमा,
- हातखुट्टा अह्ररो भई कम्प (काम) छुटेमा वा मुर्छा परेमा,
- अलिकति मात्रै भएपनि योनीबाट रगत बगेमा वा गन्हाउने पानी बगेमा
- ज्वरो आएमा
यदि यी माथि उल्लिखित खतराका लक्षणहरू देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा लैजानुपर्छ । तुरुन्तै उपयुक्त उपचार नपाइएमा गर्भवती र बच्चा दुवैको ज्यान जानसक्छ । तसर्थ यी सबै खतराका लक्षणहरूका बारेमा राम्रो जानकारी राख्नुपर्छ । तुरुन्तै आफ्नो सहयोगीहरूको प्रबन्ध गरिहाल्नुपर्छ । कुनैपनि सल्लाह लिन र गर्भको बारेमा थप जानकारी लिन परेमा स्थानीय महिला स्वास्थ्य स्वयंसेविका वा स्वास्थ्यकर्मीलाई भेट्न सकिने व्यवस्था पहिल्यै मिलाउनुपर्छ । उनीहरूको सम्पर्क नम्बर लिइराख्नु पर्दछ । बच्चा जन्माउन चाहिँ स्वास्थ्य संस्थामा नै लगेर दक्ष प्रसूतीकर्मीद्वारा नै जन्माउनुपर्छ । यसो गर्दा देखिएका खतराका लक्षणहरूको अनुसार उपचारका लागि उचित व्यवस्था गर्न सजिलो हुन्छ ।