जिम्मेवारी मात्र हैन श्रीमान र परिवारको सही जवाफदेहिता आवश्यक
- यौनिक डेस्क /
विवाह गर्ने भनेको अधिकांश पुरूषहरूको मानस्पटलमा श्रीमति भित्र्याउँने र उसँग यौनसम्पर्क गर्ने लालसा बढी हुन्छ भने अभिभावकको पहिलो रोजाई सन्तान जन्माउँन लगाउँने । यसलाई मानवीय धर्मको दृष्टिकोले हेर्ने र व्यवहार गर्ने परिवार अझै पनि निकै कम हुन्छन । श्रीमानहरू श्रीमति गर्भवती हुँदा खुसि त हन्छन तर अभिभावकीय जिम्मेवारी बहन गरेका हुदैनन र कतिपयले जानाकारी नभएर पनि जानेका हुदैनन । प्रजनन स्वास्थ्य र अधिकारका बारेमा त अधिकांश परिवार अनभिज्ञ नै हुन्छन ।
स्वस्थ बच्चाको सम्भावना तब मात्र हुन्छ जब गर्भवतीको स्वास्थ्य हेरचाह, उचित आहार विहार र मानसिक तथा सामाजिक सहयोगका लागि उचित हेरविचार गरिएको हुन्छ । यी काममा राम्रो ध्यान पुगेमा सम्भावित मातृ तथा शिशु मृत्युबाट बचाउन सकिन्छ । गर्भवती हुँदा र बच्चा जन्मदा हुनसक्ने जटिल अवस्थालाई ध्यन दिएर गर्भवतीको सही हेरचाहमा श्रीमान् तथा परिवारका सदस्यहरूबाट पनि पूर्णरूपमा सहयोगको आवश्यकता हुन्छ ।
गर्भवती अवस्था अत्यन्तै जटिल समयावधि हो । यस्तो अवस्थामा परिवारले गर्ने सहयोग भनेको काम र हेरचाहका साथै मनोवैज्ञानिक रूपमा गरिने सकारात्मक सहयोग पनि हो । श्रीमानको सहयोग र सहानुभूति त सबै भन्दा महत्वपूर्ण हुन्छ । तथ्याङ्कहरू अनुसार नेपालमा ४० प्रतिशत श्रीमानले मात्रै सुरक्षित मातृत्व र शिशु स्याहारका लागि सहयोग गर्ने गरेका छन् । प्रायः सबैलाई थाहा छ कि शारीरिक र मानसिक रूपमा स्वस्थ आमाबाट जन्मने शिशु पनि स्वस्थ नै हुन्छ । त्यसैले गर्भधारणका लागि तयारी अवस्थादेखि पोसिलो खानपिन र सकारात्मक व्यवहारमा ध्यान दिनु परेको हो । पोसिलो खाना भन्नाले मिश्रित खाना हो । जस्तैः सागपात, फलफूल, गेडागुडी, दही, दूध, मांसहारीका लागि अन्डा, माछा, मासु नै मुख्य हुन् । गर्भवती अवस्थामा साबिक समयभन्दा कम्तीमा पनि एक छाक बढी खाना खानु आवश्यक छ ।
पोषिला खालका कुनै पनि खानेकुराको लागि मुख बार्नु आवश्यक छैन । ज्यादा शारीरिक श्रम तथा तनाव कम गर्नका लागि गर्भवतीलाई परिवारले सहयोग गर्नुपर्छ र श्रीमान्ले नै सबै कुरामा ख्याल राख्नुपर्छ । त्यसले गर्दा नै उनीहरूले आराम गर्ने समय पनि पाउँछन् । गर्भवतीका लागि दैनिकरूपमा राती ८ घण्टा र दिउँसो २ घण्टा सुत्नका लागि समय आवश्यक हुन्छ । बच्चा जन्मिएको कम्तीमा पनि २ महिनासम्म पूर्णरूपमा आरामकोजरुरी पर्छ । गह्रुँगो समान उचाल्न वा बल पर्ने काम (जस्तैः भारी बोक्न, खनजोत गर्न आदि) ६ महिना अगाडि गर्नुहुदैन । किनकि महिलाले बच्चा जन्मउँदा झरेको पाठेघर पहिलाकै अवस्थामा फर्कन ६ महिना समय लाग्छ । त्यस अवधिमा कडा किसिमका शारीरिक काम गर्दा पाठेघर (आङ्) खस्न सक्छ ।
गर्भवती र सुत्केरी अवस्थामा धेरै बलपर्ने काम गर्न नहुने हुनाले नै यो समयावधिमा श्रीमानको सहयोग धेरै आवश्यक छ । जस्तैः भारी उचाल्नु, बोक्नु, खनजोत गर्नु, लामो उकालो ओह्रालो हिँड्नु आदि । कुनै पनि किसिमका शारीरिक र मानसिक थकावट हुने काम गर्नु/गराउनु हुँदैन । गर्भवतीले धेरै गह्रुँङ्गो भारी उचाल्ने र बोक्ने गर्नाले पेटको बच्चा खेर जाने सम्भावना हुन्छ ।