[REQ_ERR: 404] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. अपाङ्गता र यौनिकता | Yaunik Media
  • २०८२ बैशाख १७, बुधबार
  • |
  • Wednesday 30th April 2025
  • अपाङ्गता र यौनिकता

    १९ चैत्र २०७५, मंगलवार २१:५३
    • यौनिक डेस्क

    मानिसको यौनिकताको प्रस्तुतिकरण र यौन सम्बन्धहरू फरकफरक हुनसक्छन तर यौन चाहना र अनुभूति भने उस्तै हुने कुरा अपाङ्ता भएका व्यक्तिहरूले उनीहरूका आफ्नै अनुभूति बताउदा थाहा हुन्छ । उनीहरूमा पनि अरू मानिसहरूमा जस्तै यौन आकर्षण हुन्छ र यौनसम्न्ध कायम राख्न सक्दछन । यौन सम्पर्कका लागि यौन जोडी नहुँदा पनि यौन सन्तुष्टि प्राप्त गर्ने आ-आफ्नो तरिका र उपायहरू हुन्छन । अपाङ्गता भएका व्यक्तिहरूमा यौन कुण्ठा हुन्छ भन्ने साङ्ग मानिसहरूको बुझाइ भ्रम हो भन्ने कुराको पुष्टि उनीहरूको यौन अनुभूतिका बारेमा बुझ्दा स्पष्ट हुन्छ किन कि यदि उनीहरूमा यौन कुण्ठा हुन्छ भने साङ्ग मानिसहरूमा पनि प्रसस्तै हुन्छ ।

    “म एक म अविवाहित पुरुष हुँ । मेरो  ढाड भाँचिएको (स्पाइनल कर्ड इन्जुरी) हुँदा कम्मरभन्दा मुनी कुनै पनि अङ्गले काम गर्नसक्दैन । दिसा पिसाव आएको थाहा हुँदैन र  कम्मर मुनी कुनै चोटपटक लाग्यो भने पनि थाहा हुदैन ।” यौनिक अनलाइनसँग सहभागी एक पुरूष युवाले अवस्थाका बारेमा यसरी बताउँछ । उनको भनाइबाट स्पष्ट हुन्छ कि उनको लिङ्गले पनि काम गर्दैन । आफ्नो यौन अनुभूतिका बारेमा उनी भन्छन “मैले सेक्सको अनुभव गरेको छु तर एकअर्का बीच जोडिएर भने होइन । यो मेरो यौनसम्बन्धको अनुभव मन र मन बीचको ‘डिमार्केसन’ बीच उत्पन्न भएको अनुभव हो । दुई जनाको शरीर सँगै नभए पनि आवाज र ‘फिलिङ्स’को भरमा आनन्दित भएको अनुभव हो ।”  

    उनी अगाडि भन्छन “कुनै व्यक्तिहरुलाई आफ्नो अपाङ्गताका कारणले नियमित यौन कार्यमा संलग्न हुनसक्ने आत्मविश्वासमा कमि आउछ वा उसमा यौनजीवनको विषयले तनाव हुनसक्छ तर  साङ्ग व्यक्तिहरुले पनि त यौनका अनेकौ समस्याहरू र तनाव भोगिरहेका हुन्छ । यी सबै प्रकृतिक र सामान्य सामान्य कुराहरू हुन ।”

    उनले आफ्ना यौनिक भावनाका बारेमा सुनाए – “मानिस पनि यौन प्राणी हो । त्यसैले यौन इच्छाको भावनाले उत्तेजना (Excitement) हुनु स्वभाविक हुन्छ । मानिसमा प्रकट हुने यौनभावनाले उसको शारिरीक बनौट र ज्ञान तथा क्षमतालाई प्रभाव परेको हुदैन तर व्यक्ति अनुसार यौनिक प्रस्तुती र अनुवभ गर्ने तरिका मात्र फरक हुनसक्छ । विश्व स्वास्थ्य संगठकका अनुसार यौन व्यक्तिहरुको आधारभुत कुरा हो । त्यसलाइ जीवनको अन्य कुनै पनि शारीरिक तथा सामाजिक अवस्थासँग तुलना गर्न सकिदैन ।”

    साङ्ग मानिसहरूमा अपाङ्गता भएका व्यक्तिहररुको  यौन चाहाना भावना हुदैन भन्ने भ्रम रहेको उनको आरोप छ । उनलाई सबैभन्दा अचम्म लागेको कुरा त अधिकांश स्वास्थ्य कर्मीहरूमा समेत यही भ्रम हुनु हो । यसको प्रतिबाद गर्दै उनी भन्छन “अपाङ्गता भएका व्यक्तिहरूले यौनिकता र यौनका बारेमा अभिव्यक्त नगर्दैमा उनीहरुमा यौन चाहना नै हुदैन भन्नु उनीहरूको गलत बुझाई हो ।”  

    यसै सन्दर्भमा अपाङ्गता भएकि एक युवा महिलाले पनि यौनका बारेमा बताएकि छिन । उनको अनुसार  “अपाङ्ताको कुनैपनि अवस्था भएपनि सबैलाई ‘सेक्स’को चाहना हुन्छ र आवश्यकता पनि पर्छ । यौन सम्बन्ध राख्न सबै भन्दा धेरै गाह्रो चाहिँ स्पाइनल कर्ड इन्ज्युरी भएकाहरूलाई पर्दछ । यस बाहेक अरूको सहायतामा मात्र निर्भर भएका व्यक्तिहरूलाई पनि पर्दछ ।”  यौनिक जीवनको चाहना र अनुभूतिका बारेमा उनी अगाडि भन्छिन “अपाङ्गता भएका जो कोहीको मनमा आफुलाई कसैले अँगालोमा बाँधिदेयोस, कपाल सुम्सुम्याइदेयोस जस्तो लाग्छ तर हाम्रो समाजले हाम्राबारेमा यस्तो सोचिदिन्छन् कि हामीलाई मायापृतिको आवश्यकता छैन र लायक पनि हुदैनन ।”

    यस विषयमा सहभागी अर्को एक अपाङ्गता भएका एक युवा महिला यौनलाई प्राथामिकतामा राखेर हेर्नुपर्ने बताउँदै भन्छिन  मानिसलाई गाँस, बाँस, कपास जस्तै यौन पनि आधारभूत आवश्यकता भित्र पर्दछ । यो आवश्यकतालाई अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ अलग राखेर हेर्नुहुदैन  किनकि अपाङ्गता भएका व्यक्तिहरू चाहिँ अर्कै ग्रहबाट आएका यौन भावना रहित जन्तु होइनन ।” उनको पहिलो गुनसो नै परिवार प्रति छ । उनी भन्छिन “परिवार  र आफन्तले नै हाम्रो यौन चाहनालाई कम्जोरीको रूपमा राखेपछि समाजले हेर्ने दृष्टिकोण पनि उहि त हो ।”

    उनी यौन तृष्णाको बारेमा  भन्छिन “परिवारमा, छिमेक वा समाजमा आफू सरहका साथीहरूले यौन चाहना पुरा गरेको सुन्दा र देख्दा हामीलाई पनि यौन चाहना बढेर आउँछ । सामाजिक सञ्जालमा समेत यौनिक कुराकानी गर्न वा केहिहदसम्म चाहना पुरा गर्न हामीलाई असहजता बनाइएको हुन्छ । जसका कारण हाम्रो यौन जिज्ञाशाहरू धेरैधेरै बढ्दै जानेरहेछन ।”

    यो अवस्था नेपालमा मात्र हैन । अपाङ्गता भएका व्यक्तिहरूको यौनिकताका बारेमा अमेरिकामा पनि उस्तै बुझाइ पाइन्छ ।  बृहत यौनिकता शिक्षाका क्षेत्रमा काम गर्ने एक अभियान्ता गुडरसनकाको भनाइ विविसी रेडियोमा प्रचार भएको थियो । उनको भनाइ अनुसार अमेरिकाका विध्यालय र वश्वविध्यालयहरूमा अपाङ्गता भएका व्यक्तिहरुको यौन इच्छा. यौन स्वास्थ्य र सामाजिक सुरक्षाको बारेमा कुरा हुदैन । शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्ने मानिसहरुले समेत अपाङ्गता भएका व्यक्तिहरुको शारिरिक आवश्यकतामा र जिविकामा मात्र ध्यान दिएका हुन्छन । त्यस्तै, विविसिले अमेरीकाको एक यौन प्रजनन स्वास्थ्य विज्ञ डिना क्वानको भनाइ पनि प्रस्तुत गर्दै उल्लेख गरेको छ कि अपाङ्ग व्यक्तिहरु पनि यौनिक हुन र उनिहरुलाइ यसको आवश्कता पर्छ ।

    विविसिकै रिपोर्ट अनुसार उत्तरी इरानको एउटा सानो गाउँमा बस्ने ४१ वर्षकी अपाङ्गता भएकि महिला मितराफराजदाहले आफ्नो अनुभव र निराशाबारे यसरी प्रस्तुत गरेकि थिइन ‘म एक महिला हुँ । मेरो शरीरको पचहत्तर प्रतिशत अङ्ग कम्जोर छ ।  हो, मैले प्रेमको अनुभव गरेकी छु । म सधैं भन्ने गर्छु कि जसले कहिले पनि प्रेमको अनुभव गरेका छैन वा प्रेममा परेका छैनन् उनीहरु खेतमा चराहरुलाई डराउनका लागि राखिने पुतली (बुखेँचा) जस्तै हुन् ।  उनी अगाडि भन्छिन्, ‘म जसलाई प्रेम गर्छु, उनीसँग बस्न मेरा पिताले अनुमती दिँदैनन् । म जस्तै अवस्थाका थुप्रै महिला यौन र भावनात्मक आवश्यकतालाई दबाएका कारण पीडित छन् ।” यसलाई सहजता ल्याउँन उनले बताएकि छिन “म मान्छु कि सबैभन्दा ठूलो परिवर्तन हामी भित्रैबाट आउँनुपर्छ । हामीले आफ्नो यौन आवश्यकता र सीमालाई स्विकार गर्नुपर्छ । किनकि अपाङ्गता मानिसको एक अवस्था मात्र हो । जुनसुकै समयमा जो पनि अपाङ्गताको अवस्थामा पुग्न सक्छन । त्यसैले अपाङ्गता र यौन विषयमा छलफल गर्नु आवश्यक छ जसबाट अपाङ्ग र साङ्ग दुबैलाइ फाइदा हुन्छ । अपाङ्गता प्रति समजको सोचमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ ।”

    (तपाइलाई लागेको यौन जिज्ञासा र सुझाब यो लिङ्क https://bit.ly/2GJxXSv मा गएर पठाउन सक्नुहुनेछ।)

    तपाइको मत
  • भिडियो सामाग्री