यौनिक डेस्क/
सीडीफोर सेतो रक्तकणहरू मध्येका महत्वपूर्ण कोषहरू हुन् । मानव प्रतिरक्षा प्रणालीको महत्वपूर्ण अङ्गको रूपमा सीडीफोर नामका कोषहरूले काम गरिरहेका हुन्छन् । यिनीहरूले शरीरमा कुनै पनि प्रकारको संक्रमण भएको थाहा पाउने र त्यसको विरूद्धको लडाई शुरू गर्ने गर्छन् ।
एचआईभीले तीनै कोषहरूमा संक्रमण गर्छ । एचआईभी सीडीफोर कोषको भित्र परेर नजानिंदो पाराले लुकेर बस्छ । जब सीडीफोर कोषहरूले संख्या वृद्धि गर्न थाल्छ, त्यसबेला सीडीफोर कोषले एचआईभी पो तयार पार्छ । बिस्तारै सीडीफोर कोषहरू मर्न थाल्छन् । यसरी एक पछि अर्को सीडीफोर कोषहरू संक्रमित हुने र नयाँ सीडी फोर कोषहरू नबन्ने अवस्था सिर्जना भएपछि यसको संख्या घटेर जान्छ ।
त्यसैले सीडीफोर कोषको संख्या गनेर एचआईभी संक्रमणको अवस्था थाहा लाग्छ । स्वस्थ मानिसको एक घन मिलिलिटर रगतमा ५०० देखि १६०० सीडीफोर कोषहरू हुन्छन् । एचआईभी संक्रमित व्यक्तिमा यी कोषहरू घट्दै जान्छन् । जब सीडीफोर कोषहरू ५०० भन्दा तल झर्छन, शरीरको प्रतिरक्षा प्रणालीमा समस्या आउँदछ भन्ने संकेत गर्छ । जब सीडीफोर कोषहरू २०० भन्दा तल झर्छन, यस अवस्थालाई प्रतिरक्षा प्रणालीमा आएका गम्भीर संकटको रूपमा बुझ्नुर्छ । यस्तो अवस्थामा कुनै पनि संक्रमण हुनसक्छ । प्रतिरक्षा प्रणालीको यो अवस्थालाई नै एड्स (AIDS) भनिएको हो ।
सीडीफोर कोषहरूको संख्या गन्नुभन्दा प्रतिशतमा यसको उपस्थितिलाई राम्रो सूचाङ्क मानिन्छ । सीडीफोर कोषहरू सेतारक्तकणहरूमध्ये लिम्फासाइट कोषहरूको एक अंश हो । त्यसैले कूल लिम्फोसाइटमा कति प्रतिशत सीडीफोर कोषहरू छन् भनेर निकालिन्छ । सामान्यतया, ३० देखि ६० प्रतिशत सम्म सीडीफोर कोषहरू हुन्छन् । यस्ता कोषहरूका संख्या १४ प्रतिशत भन्दा तल झरेको अवस्थालाई नै एड्सको अवस्था भनिन्छ । नेपालको सन्दर्भमा सीडीफोर कोषको संख्यालाई नै मापदण्ड बनाइएको छ । यो संख्या २०० बाट ओराले लाग्ने वित्तिकै कुनै पनि अवसरवादी संक्रमण हुने भएकोले एचआईभी विरूद्धका औषधि दिन शुरू गरिन्छ । त्यसो त चिकित्सकहरूले संक्रमितको अवस्था हेरी ३५० बाट ओरालो लाग्ने वित्तिकै पनि औषधि शुरू गर्न सक्छन् ।
(तपाइलाई लागेको यौन जिज्ञासा र सुझाब यो लिङ्क https://bit.ly/2GJxXSv मा गएर पठाउन सक्नुहुनेछ।)