
.//अन्जली तिवारी*
कास्कीको रमणीय स्थल लुम्लेमा मिस लिटल पोखरा प्रतियोगिता सम्बन्धी कार्यक्रममा सहभागी हुन जाँदा को कुरा हो, साथीहरुले मेरो लुगामा रगत लागेको छ भनी बताएपछि मैले मेरो पहिलो महिनावारी भएको थाहा पाएँ ।
मेरो महिनावारी शुरु भएपछि अरू किशोरीहरुलाई जस्तै मलाई पनि महिनावारी बार्न लगाइयो । शिक्षित परिवारमा जन्मेर पनि मेरो पहिलो महिनावारी दुःखद रहयो । महिनावारी हरेक महिलाहरूमा हुने नियमित प्राकृतिक प्रकृया हो । यसलाई बार्नुपर्छ भन्ने मान्यता केवल रुढीवादी अन्धविश्वास हो भन्ने कुरा थाहा हुदा हुदै पनि मैले प्रतिकार गर्न सकिन । दोश्रो पटकको महिनावारी तिहारमा भयो । यो समाजको नियमले मलाई दाईको निधारमा टिका लगाउने अनुमती दिएन । त्यसैगरी यो नखाने, यो नछुने भन्ने प्रक्रिया हरेक महिना दोहोरिदैं गयो र धेरै बित्यो । लामो समयपछि महिला र पुरुष बीचको असमान शक्ति सन्तुलनले गर्दा हो भनेर बुझेसंगै व्यक्तिगत रुपमा बिद्रोह गरेर मैले यसलाई मर्यादित बनाउन सकेको छु । महिनावारी बार्ने कुरा केवल अन्धविश्वास हो भन्ने कुरालाई बुझेपछि महिनावारी भएको समयमा मैले कसैलाई थाहा नदिई भान्छा कोठादेखि हरेक चाडपर्व मनाउने मन्दिर जाने गर्न थाले । म मात्र होइन मेरो आमा र परिवारलाई समेत परिवर्तन गराउन सफल भए । अहिले मेरो घरमा यसलाई सामान्य प्रकृयाको रूपमा लीन थालिएको छ ।
सदियौ देखि महिनावारीलाई पापको रूपमा हेरिएकोले यसलाई उन्मूलन गर्न नेपालको संविधान र कानुनले महिनावारीको अवस्थामा भेदभाव गरेमा कसुर मानेको छ । नेपालको संविधानको मौलिक हकमा छुवाछूत तथा भेदभाव विरुद्धको हकको व्यवस्था रहेको छ जसमा कुनै पनि व्यक्तिलाई निजको शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत वा भेदभाव गरिने छैन भनी उल्लेख गरिएको छ । त्यसै गरी महिलाको हकमा महिला विरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक तथा मानसिक यौनजन्य मनोवैज्ञानिक वा अन्य किसिमका हिँसा वा शोषण गरिने छैन त्यस्तो कार्य कानुन बमोजिम दण्डनिय हुनेछ र पीडितलाई क्षतिपूर्ति पाउने हकका साथै प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हक हुने छ भनि उल्लेख छ ।
संविधानको प्रावधानलाई लागू गर्ने उद्देश्यका साथ मुलुकी अपराध संहिताको दफा १६८ मा महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव छुवाछूत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुदैन यदि यस्तो कसुर गरेमा कसुर गर्ने व्यक्तिलाई ३ महिना सम्म कैद वा ३ हजार रुपैयाँसम्म जरिमाना वा दुबै सजाय तोकिएको छ । यदि राष्ट्रसेवकले नै यस्तो कसुर गरेमा थप ३ महिनासम्म कैद सजायको व्यवस्था गरिएको छ । हाम्रो कानुनले विभेद सम्बन्धी धेरै ठाउँमा धेरै कुरा बोले पनि कर्यान्वयन भने अत्यन्त कमजोर छ । त्यसकारण दृष्टिकोणलाई सकारात्मक परिवर्तन गर्नसक्ने किसिमको कानून निर्माण गर्न आवश्यक छ जसले गर्दा त्यस्तै कानुनले समाज लाई नियन्त्रण र सहजिकरण दुबै गर्न सकोस ।
समाजले प्रजनन स्वास्थ्यलाई सङ्कुचित रूपमा हेर्ने गरेको पाइन्छ । महिनावारीलाई केवल महिलाको विषय हुनाले महिला आफै अगाडी बढ्नु पर्छ भन्ने मानसिकतामा परिवर्तन गरी पुरुषहरू मा पनि यसका बारेमा ज्ञान हुन र मर्यदित बनाउन पुरुषको पनि उत्तिकै महत् पूर्ण भूमिका हुनु जरुरी छ । यौन तथा प्रजनन स्वास्थ्यको बारेमा किशोरावस्थादेखि नै खुलेर कुरा गर्न सक्ने वातावरण तयार हुनुपर्दछ । प्रजनन स्वास्थ मौलिकहक हो भनी संविधानमा व्यवस्था गरेतापनि राज्यले किशोरी अवस्था देखिको यौन तथा प्रजनन स्वास्थ्य प्रवर्द्धन सम्वन्धी नीति तथा कार्यक्रम प्रभावकारी रुपमा ल्याउन सकेको छैन । यस तर्फ राज्यको ध्यान जान जरुरी छ । महिनावारी सम्बन्धी विभेदलाई कानुनले कसुर माने तापनि हाम्रो सोच र मानसिकतामा परिवर्तन भने हुन सकेको छैन । धर्म परम्परा र संस्कृतिको नाउँमा पैदा गरिएको डरलाई हटाउन हामी युवाहरु अब अगाडी बढेनौ भने हाम्रो आगामी पुस्ताले समेत यहि सिको गर्ने छ र यस्ता अन्धविश्वास युगौ युगसम्म रहि रहन्छ ।
मर्यादित महिनावारीका कुरा त उठ्न थालेको छ तर जसरी उठ्नु पर्ने थियो त्यसरी उठेको छैन । किनकी मुद्दाको उठानसँगै महिनावारीको मुद्दालाई समाबेसी बनाएर लाइनू पर्ने आवश्यक छ । प्रजनन स्वास्थ्यमा पुरुषको सहभागिता भनेको महिनावारीसँग पनि जोडिएर आउँछ । त्यस कारण महिनावारी महिलाको मात्र मुद्दा हैन भन्ने कुरा स्पष्ट हुन आउँछ । समलैङ्गिक जीवन शैली अपनाएका महिला Trans Gender Women महिनावारी नहुने भएकोले, यो महिलासँग सम्बन्धित मुद्दा हो भन्नु भन्दा पनि यो हरेक महिनावारी हुने महिलाहरूको मुद्दा हो भन्नु उपयुक्त हुन्छ । उहाहरुलाई पनि यसको छलफलमा सहभागी गराएर यो मुद्दालाई फराकिलो बनाउनु पर्दछ ।
अपाङ्गता भएका व्यक्तिहरूका सन्दर्भमा महिनावारीको बाधा र पीडाहरू अझै धेरै छन । विशेष गरी दृष्टि विहीन, बौद्धिक अपाङ्गता, हिडडुल र दैनिक क्रयाकलापमा बाधा भोगिरहेका शारीरिक अपाङ्गता भएका साथै बहुअपाङ्ता भएका महिलाहरूका लागि अझै धेरै समस्या छ । महिनावारी स्वच्छताको दृष्टिकोणले मात्र नभएर अपाङ्ता भएका महिलाहरूले भोग्दै आउका सामाजिक विभेद वा दुर्व्यवहारहरू धेरै नै छन । यौन तथा प्रजनन विषयको बारेमा सही सूचना र सहयोगको कमि हुँदा उनीहरूलाई प्राथामितामा राखेर उनीहरूको हक र सेवा सुविधाको बारेमा पैरवी गर्ने र सेवा र सुविधाको पहुँचमा पुग्नसक्ने बनाउन जरुरी छ ।
कानूनमा भएको व्यवस्थालाई व्यवहारिक रुपमा लागु गर्नको लागि सबै भन्दा पहिला प्रत्येक परिवारमा जरा गाडेर बसेको डरलाई हटाउन आवश्यक छ । यसका लागि सचेतना मूलक कार्यक्रमले मात्र नपुग्ने हुँदा व्यवहार परिवर्तनका लागि स्थानीय तहका संरचनाहरू भित्रबाट हरेक बस्ती र प्रत्येक व्यक्ति बीच अन्तर सम्बाद हुन सक्ने प्रजनन स्वास्थ्यको एकीकृत रूपमा लागू हुनेगरी नीतिगत कार्यक्रम ल्याउन आवश्यक छ । जसको परिणाम स्वरुप प्रत्येक घरका महिला र पुरुषले महिनावारी हुनु भनेको अपवित्र नभई प्रकृतिले दिएको वरदान हो भन्ने बुझ्ने छन ।
यसको शुरुवात आफैबाट गरौ । आजै (मे २८ अन्तराष्ट्रिय महिनावारी सरसफाई दिवस) बाट हामी युवाहरू मर्यादित महिनावारीको अभियानमा जुटौ ।
*लेखक ‘काठमाण्डौ स्कूल अफ ल’ मा कानुन विषयको तेस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ ।
(तपाइलाई लागेको यौन जिज्ञासा र सुझाब यो लिङ्क https://bit.ly/2GJxXSv मा गएर पठाउन सक्नुहुनेछ।)