- पूजा गर्तौला /*

गत महिना कामको सिलसिलामा म डडेल्धुरामा थिए । महिला भएकी हुनाले महिनावारी हुनु स्वाभाविक थियो । भयो । म बसेको होटेल नजिकैको औषधि पसलमा गएर प्याड मागे । औषधि पसले मेरो शरीरको तल देखि माथिसम्म नियाले । नियाल्दै प्याड निकाले र पसल अगाडि अलग्गै राखिएको एउटा बेन्चमा राखि दिए । मैले प्याडको पैसा दिएँ तर उनले हातले नसमातेर त्यही बेन्चमा राख्नको लागि आदेश दिए । निःशब्द भएर मैले पैसा त्यही बेन्चमा छोडेर हिँडेँ ।
त्यस दिन उप्रान्त म त्यो पसलको बाटो भएर हिँड्दा ती औषधि पसले जहिले पनि अनौठो तरिकाले मलाई हेरेको म थाहा पाउथें । उनको हेराइमा मानौं म जेल बाट भागेकी एक कैदी हुँ । उनका सोचाइमा त्यति बेला म छाउ गोठकी कैदी नै हुनुपर्ने तर यसरी म खुल्लमखुल्ला हिँडेकी देखेर नै उनले मलाई भगुवा कैदीका रूपमा हेरेका थिए । यसमा म स्पष्ट छु किनकी नेपालको मध्य पश्चिम र सुदूर पश्चिममा महिनावारी भएको पाँच दिन महिला छाउ गोठमा कैदी भएर बस्नु पर्ने प्रचलन अहिले पनि छ ।
ती पसले पनि त्यो समाजको पढे लेखेका सचेत नागरिक, त्यसमा पनि स्वास्थ्य कर्मी हुन । उनलाई समेत महिनावारी भएकी महिला खुल्ला रूपमा हिँडेको असह्य हुन्छ भने त्यस ठाउँका महिलाहरूको महिनावारी पीडा कहिलेसम्म हट्ला ? अनि, तीनका त व्यवहार त्यस्तो छ भने समाज बदल्ने कसले ? अझै कति समय लाग्छ ? त्यस घटना पछिबाट मेरो मानस पटलमा यी सवालहरू सल्वलाई नै रहेको छ । मैले त त्यहाँ यति मात्रै भोगेँ तर त्यहीका महिलाहरूले कैयौँ पुस्तादेखि मेरो भन्दा निकै ठूलो विभेद र हिंसा व्यहोर्दै आएका छन् । छाउपडी प्रथा त पीडा दायी छँदैछ । पाँच दिनसम्म छाउ गोठमा अछुत कैदी त हुनु नै छ त्यही अँध्यारो छाउ गोठ भित्रको बन्दी अवस्थामा त्यही पाँच दिन भित्रमै कैयौँ किशोरी र महिलाहरूको विषालु सर्प र जंगली जनावरको आक्रमणले ज्यान गएको छ । हत्या भएको छ । कैयौँ बलात्कृत हुन परेको छ र अनेकौँ किसिमका यौन हिंसाहरू व्यहोर्न बाध्य बनाइएको छ ।
महिनावारीको बेला अरू बेला भन्दा धेरै सरसफाइ गर्नुपर्ने र अरू बेला भन्दा राम्रो पौष्टिक खाना खान पाउन पर्ने मा त्यस ठाउँका महिलाहरूले त्यो पाँच दिन असुरक्षा र सामाजिक विभेद मात्र होइन उनीहरूको परम्परा अनुसार पोसिलो र रसिलो केही पनि खान पाइँदैन । जति जाडो भएपनि न्यानो ओढ्न र घाम ताप्न पनि पाइँदैन । प्रत्येक वर्ष होइन प्रत्येक महिनाको हरेक पाँच दिन महिलाले मर्नका लागि समर्पित हुनु परेको छ ।
मैले पनि भोगेकी छु विभेदको पीडा
संसार जतिसुकै प्रगति र उन्नतिमा लम्कियोस । महिला माथि हुने विभेद अझै कायमै छ । फरक कुनै ठाउँमा धेरै कुनै ठाउँमा थोरै होला तर महिनावारी स्वास्थ्य र सामाजिक विभेदका कारण महिलाहरूका लाग अभिशाप बनेको छ । यो विभेद मेरो समाजमा हामीले छाउ गोठमा बस्न नपरे पनि र अरू समय नभएपनि मैले पनि मेरो समाजमा ५ दिन चाहिँ बाध्यताले विभेद सहनु परेको छ । पाँच दिन प्रत्येक महिना ढोका ढक ढकाउन आउँछ । यहाँ नछोऊ उहाँ नछोऊ भनेर सबै पाबन्दी यही बेलामा अमानवीय बनेर आउँछ । महिनावारीमा पेट दुखेर मर्नु भएको बेलामा भान्छामा गएर एक घुट्को तातो पानी तताएर पिउन किन पाएकी छैन ? किन ट्वाइलेट जाँदा त्यहाँ राखिएको पानी समेत मेरो लागि नचलेर छुट्टै पानी भर्नु परेको हो ? यी मैले पनि भोगेको पीडा भित्रका सवालहरू हुन ।
बिहान घाम लाग्नु पहिल्यै चिसो पानीले हरेक पाँच दिनको हरेक दिन बिहान नुहाउन पर्ने जाडो महिना कटाउन ठूलो कठिनाइ भोगेको याद मलाई पनि ताजै छ । म कक्षा ६ मा पढ्दै थिएँ मेरो पहिलो महिनावारी हुँदा । मलाई एकाएक एउटा अध्यारो कोठामा लगेर लुकाइएको थियो । कोठा अँध्यारो भएकोले निकै फोहोर पनि थियो । त्यति बेला मेरो परीक्षा नजिकै आइरहेको थियो । मेरो लागि परीक्षा ठूलो तर मेरो समाज र अभिभावकहरूका लागि मेरो पहिलो महिनावारी ठूलो थियो । त्यस बेला मैले मेरा बा, काका, दाजुभाइ, मामा, भिनाजु जस्ता पुरुषहरू देख्नु नहुने रे । मैले उनीहरूलाई देखेँ भने उनीहरूलाई नराम्रो हुन्छ रे । मलाई यी कुराहरू चित्त बुझेको थिएन किनकी मैले उनीहरूलाई देख्न नहुने भए उनीहरू नै लुक्न पर्ने मा मलाई चाहिँ किन लुकाइयो ?
महिनावारीको समयमा पौष्टिक खाना, सरसफाइ साथै परिवारमा आफूभन्दा ठूलाको माया, सान्त्वना र सुरक्षाको झन् धेरै आवश्यक हुन्छ । लुकाउने होइन बरु अरू बेलामा भन्दा बढि समय परिवारका सबै अभिभावकसँग हुनुपर्छ किनिक यति बेला डर, हताश र दुखाइका कारण सहयोगको आवश्यकता हुँदा मानसिक तनाव बढेको हुन्छ । महिनावारी हुँदा योनीबाट आएको रगत शोष्न लगाइएको घरेलु प्याड र अरू लुगाहरू प्रत्यक्ष घाममा सुकाउन पाए मात्र सम्भावित संक्रमणबाट बचाउन सकिन्छ । महिनावारी भएको बेलामा कम्तीमा पनि एक/आधा घण्टा घाममा बस्न पाए र दहि दूधका साथै साग पात तथा फलफूल नियमित खान पाए मात्र रोगसँग लड्ने प्रतिरक्षात्मक क्षमता बढ्छ । विद्यालय र कलेजहरूमा छात्राहरूको लागि महिनावारी मैत्री शौचालय भए मात्र महिनावारी भएको समयमा पनि पढाई छुट्दैन ।
महिनावारीको पाँच दिन प्रकृतिको वरदान थियो तर समाजीका प्रथाले अभिशाप बनाइयो ।
* गर्तौला जनस्वास्थ्यमा स्नातक हुनुहुन्छ ।
(तपाइलाई लागेको यौन जिज्ञासा र सुझाब यो लिङ्क https://bit.ly/2GJxXSv मा गएर पठाउन सक्नुहुनेछ।)