[REQ_ERR: 404] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. उत्तर किशोरावस्था (१५-१९ वर्ष) मा यौनिकता सम्बन्धी सिकाइहरू | Yaunik Media
  • २०८१ माघ २६, शनिबार
  • |
  • Saturday 8th February 2025
  • उत्तर किशोरावस्था (१५-१९ वर्ष) मा यौनिकता सम्बन्धी सिकाइहरू

    २५ पुष २०७७, शनिबार ०८:३०

    यौनिक डेस्क /

    मानिसको यौनिकता सम्बन्धी सिकाइ उमेर अनुसार फरक पर्दै जान्छ । बाल्यावस्था देखि नै यौनिकताका बारेमा विभिन्न बुझाइ र मान्यता बनाएका हुन्छन् । सिकाइको यो क्रम प्रजनन उमेर भन्दा पछि पनि जीवनको अन्तकालसम्म भइरहन्छ । यौन तथा प्रजनन चक्रमा उत्तर किशोरावस्था सबै भन्दा संवेदनशील हुनेहुँदा यसका बारेमा उनीहरूले सिक्न पर्ने र व्यवहारमा अपनाउन पर्ने कुराहरूका सम्बन्धमा अभिभावक र  शिक्षकहरूलाई जानकारी हुन अत्यन्त जरुरी छ ।   

    • यौनिकता र सामाजिक मान्यता   

    के अभिभावकहरूले घरमा छोराछोरीहरू र विद्यालयमा शिक्षकहरूले किशोरावस्थाका विद्यार्थीहरूसँग उनीहरूको यौनिकता र सामाजिक सम्बन्धका व्यवहारहरूका बारेमा कुराकानी गर्नु भएको छ ? गर्नुभएको छैन वा गर्न सक्नुहुन्न भने उनीहरू यौन हिंसामा लाग्ने वा पर्ने सम्भावना हुन्छ र उनीहरूले असुरक्षित यौनसम्बन्ध गरिरहेका पनि  हुनसक्छन् । यो उमेर समूहका किशोरकिशोरीहरूलाई विद्यालयमा पढाउँदा वा घरमा सिकाउँदा शिक्षक र अभिभावकले निर्धारण गर्नुपर्ने मुख्य उद्देश्य नै कसरी उनीहरूले आफ्ना मूल्य र मान्यताहरूसँग मेल खाने सामाजिक व्यवहारहरू गर्न सक्छन् जसको परिणाम स्वरूप निर्धक्क आफ्ना परिवारका सदस्यहरू वा विद्यालयमा शिक्षकहरूसँग यसका बारेमा बताउन सक्नेछन् । 

    ध्यान दिनुपर्ने मुख्य कुराहरूः

    • बालबालिकाहरूले जुन बेला आफु कसरी जन्मिए भन्ने बारेमा विस्तारै बुझ्न थाल्नेछन्, त्यही बेलादेखि उनीहरूले यौन, यौनसम्बन्ध र मानिसको यौनिकताका बारेमा धारणा बनाउन थालेका हुन्छन् । यसकाबारेमा ज्ञान र धारणा  बढ्दै जाने क्रममा पूर्व किशोरावस्थामा प्रवेश गर्ने बेलासम्ममा यौनका बारेमा अरूको जस्तै आफ्नो पनि मूल्य मान्यता बनाएका हुन्छन् । जस्तै बा र आमाको सम्बन्ध बुझेर भविष्यमा आफ्नो पनि बा आमाको जस्तै सामाजिक वा पारिवारिक सम्बन्ध हुने सम्भावना, केटासाथी र केटीसाथी बीचको यौन सम्बन्ध. आफ्नो विवाह पछि आफ्नै श्रीमान श्रीमती बीच हुने यौन सम्बन्ध आदि सम्भावनाहरू आदि । जुन किसिमले उनीहरूमा जिज्ञासाहरू उब्जेका हुन्छन् शिक्षक वा अभिभावकहरूले  त्यसको बारेमा नबुझी उनीहरूको लागि आफूले निर्धारण गरिदिएको हुन्छ । जुन किशोरकिशोरीहरूको भन्दा फरक पनि हुनसक्छ  ।
    • यौनिकताका सामाजिक मान्यताका सम्बन्धमा अभिभावक र बालबालिकाहरूको पनि एक–आपसमा मत  भिन्नताहरू हुनसक्छ । खुलेर कुरा गरेमा र एक अर्काका फरक मान्यतालाई आपसमा सम्मान गर्ने वातावरण बनाएमा अभिभावक र बालबालिकाका बीचको सम्बन्धमा पनि सम्मानित, सुमधुर र सुदृढ  हुन सक्दछ ।
    • विद्यालयमा हुने पठनपाठनको दौरानमा ध्यान दिन पर्ने कुरा के हो भने किशोरकिशोरीहरू विभिन्न सामाजिक/सांस्कृतिक बनौटका आधारमा हुर्किएर विद्यालयमा आएका हुन्छन् । त्यसैले फरक मूल्य मान्यतालाई सम्मान गर्ने र सोही अनुसार उनीहरूको व्यवहारलाई सम्मान गर्न प्रोत्साहित  गरेमा सम्पूर्ण सामाजिक सम्बन्धलाई फाइदा हुन्छ ।
    • दौँतरी दबाब/प्रभाव

    संसारमा सबैभन्दा शक्तिशाली दौँतरी दबाब (Peer Pressure) हो । चाहे त्यो सकारात्मक होस वा नकारात्मक । दौँतरी किशोरावस्थामा चाहिँ अरू उमेरमा भन्दा बढि प्रभावकारी हुन्छ । यौनिकताका सन्दर्भमा हुने प्राय दौँतरीमा एउटाको चाहनामा अर्कोलाई दबाब दिइरहेको हुन्छन् । पुरुष प्रधान समाज भएको हुँदा प्राय किशोरहरूले किशोरीहरूलाई दबाब दिएको पाइन्छ तर कतिपय किशोरीहरूले पनि किशोरहरूलाई दबाब दिएको हुन्छन् । अभिभावक तथा शिक्षकहरूले उनीहरूलाई डर देखाए होइन बरु मित्रताको व्यवहार सम्मानित भावनाको विकास गर्न सकिन्छ ।  जस अनुसार अरूको यौनिकताको सम्मान गर्ने भावनाको विकास गराएर र यौन तथा प्रजनन स्वास्थ्य अधिकारको महत्वलाई व्यवहारमा अपनाउन प्रोत्साहित गरेर यौनिकताका सम्बन्धी धारणा र व्यवहारमा परिवर्तन गराउन सकिन्छ । यसको अलवा सम्भावित जोखिमलाई रोक्न दौँतरी दबाबका नकारात्मक  पक्षहरू न्युनिकरण गर्न जीवनोपयोगी सीपको विकासका गर्न किशोर किशोरीहरूसँग खुलेर सम्वाद गर्नुपर्छ । यसको लागि अभिभावक र शिक्षकहरूले लिनुपर्ने उद्देश्य नै कसरी नाइँ भन्ने सीप र आत्मावलको विकास हुनसक्छ ? सोही अनुसार सिकाइएका कुराहरूको प्रभाव कति परेको छ भनि थाहा पाउन त्यसका बारेमा किशोरकिशोरीहरूले अभिभावक तथा शिक्षकहरूसँग खुलेर कुरा गरेको हुनुपर्छ ।

    ध्यान दिनुपर्ने मुख्य बुँदाहरू

    • के तपाइले किशोरकिशोरीहरूलाई अल्लारेको भर हुँदैन वा कुखुरे बैँसको भर हुँदैन भन्ने मान्यता बनाउनु भएको छ ? यसो हो भने तपाइले उनीहरूका बारेमा नबुझेको हो । किनकी हामीले दिएको सही सूचना र खुल्ला छलफलको प्रभाव परेमा उनीहरूले पनि यौनिक व्यवहारका बारेमा विवेकपूर्ण निर्णय लीन सक्छन् । खुल्ला रूपमा छलफल चलाउन उनीहरूको कुरा ध्यनपूर्वक सुन्नु आवश्यक छ किनकी उनीहरूले साथी वा दौँतरीहरूबाट पाएको यौनिकता सम्बन्धी जानकारीहरू भ्रम वा गलत किसिमको छ वा छैन भनि थाहा पाउन सकिन्छ । ती जानकारीहरूका आधारमा उनीहरूका लागि कुन कुन क्षेत्रमा जीवनोपयोगी सीप र आत्मावलको विकास गर्न आवश्यक छ भनि योजना बनाउन सकिन्छ । जसका कारण उनीहरूलाई  विवेकपूर्ण निर्णय लीन सहयोग मिल्छ । कुनै पनि किसिमको यौन हैरानी गर्ने वा यौन हैरानीमा पर्ने, जोखिमपूर्ण यौनसम्बन्ध राख्ने जस्ता अवस्थाबाट बच्न सक्षम हुँदैजान्छन् । उनीहरूमा अरूको यौनिकताको सम्मान गर्ने धारणा र व्यवहारको विकास गर्न सक्नेछन् ।
    • कतिपय किशोरकिशोरीहरूले आफ्नो यौनिकताका बारेमा अरूसँग दाँजेर चिन्ता गरेका हुन्छन् विशेष गरी आफ्नो शारीरिक बनौट, लवाइ. प्रस्तुतीकरण आदिमा । अभिभावक र शिक्षकहरूले किशोरकिशोरीहरूलाई सबै भन्दा पहिला आफ्नो यौनिकताका सबै अवस्थाहरूलाई सहज रूपमा स्वीकार्न सक्ने बनाउनु पर्छ जसको कारण उनीहरूमा त्यसबाट सिर्जना भइरहेका अनेकौँ तनावहरू कम हुँदैजान्छन् । त्यसको अलवा अरूको यौनिकता प्रति आकर्षित भएर वा आशक्त भएर साथी बनाउने बहानामा यौनसम्बन्धका क्रियाकलापमा संलग्न गराउन विभिन्न तरिका अपनाएर दबाब दिएका हुनसक्छ । यस्तो अवस्था आउन नदीन अभिभावक तथा शिक्षकहरूले अरूको यौनिकता प्रति सम्मान गर्ने भावना र व्यवहारको विकास गराउँदा दौँतरीले दबाब दिने अवस्था कम गर्न सकिन्छ भने दौँतरीले दिने दबाबलाई  नकार्न सक्षम भएको  अभिभावक र शिक्षकहरू स्पष्ट हुनु आवश्यक छ ।
    • यौनिकता सम्बन्धी सञ्चार

    कुनैपनि अभिभावकले आफ्ना छोराछोरीले र कुनै पनि शिक्षकले आफ्ना विद्यार्थीहरूले विवाह पहिल्यै यौनसम्पर्क गरुन् भन्ने चाहँदैन तर तथ्याङ्कहरूले देखाए अनुसार यो उमेरका जनसङ्ख्यामा अधिकतम सङ्ख्याले केटासाथी केटीसाथी बनाउने र डेटिङ् जाने गरेको पाइन्छ, जहाँ असुरक्षित यौनसम्पर्क भएको हुनसक्छ । आजभोली विवाहको लागि कानुनले तोकेको उमेर बढेको र महिनावारी हुने उमेर घटेको हुँदा यो लामो अवधिमा विवाह पूर्वको यौनसम्पर्क बढ्ने सम्भावना हुनु स्वाभाविक हो । पोखरा विश्वविद्यालयको जर्नल अफ कम्युनिटी मेडिसिन एण्ड हेल्थ एजुकेशनमा प्रकाशित एक अध्ययन प्रतिवेदन प्रकाशित गरेको छ । पोखरा महानगरपालिकामा गरिएको अध्ययनको तथ्याङ्क अनुसार ८० प्रतिशत किशोरकिशोरीहरूले विवाह अगाडि यौन सम्पर्क गर्नु बेठीक भएको बताएको भएतापनि २४ प्रतिशत भन्दा धेरैले विवाह अगाडि पनि आफ्नो यौनसम्पर्क गरेको बताएको प्रतिवेदनमा उल्लेख छ । पोखराको तथ्याङ्क प्रतिनिधि मूलक हो । ती मध्ये कति प्रतिशतले सुरक्षित विधि अपनाए भन्ने आँकडा छैन तर पनि किशोरकिशोरीहरूको यौनसम्पर्क प्राय असुरक्षित नै हुनेगरेको अन्य अध्ययनहरूले पनि  देखाएको छ ।  यसको मुख्य कारण किशोरकिशोरी र अभिभावक तथा शिक्षकहरू बीच यौन शिक्षासँग सम्बन्धित जीवनोपयोगी सीपका विषयमा खुल्ला र प्रभावकारी सञ्चार नहुनाले उनीहरूले सही र आवश्यक जति सूचना पाउन सकेनन् । यसका अलवा किशोरीहरूको महिनावारी व्यवस्थापन र स्वास्थ्य, साथीहरूसँगको सम्बन्ध आदि पनि छलफलका अन्य विषयहरू पर्दछन् । यसकारण अभिभावक तथा शिक्षकहरूले किशोरकिशोरीहरूको यौन व्यवहारलाई सुरक्षित र सम्मानित बनाउन उनीहरूसँग स्पष्ट र प्रभावकारी सञ्चार गर्नु आवश्यक छ ताकि त्यसको उद्देश्य नै उनीहरूले पनि स्पष्ट र प्रभावकारी सञ्चार गरेको हुनुपर्छ ।

    ध्यान दिनुपर्ने मुख्य कुराहरू

    • यौन र यौनिकताका सूचना मूलक जानकारी वा शिक्षा लीनका लागि होस वा यौन हिंसा/हैरानीका विरुद्ध प्रतिवाद/इन्कार गर्न पर्ने अवस्था आएमा निर्धक्कसँग सम्झाइ बुझाइ गर्न सक्ने वा प्रतिकुल अवस्थामा प्रतिवाद गर्नका लागि सक्षम बनाउनु पर्दछ । यसका लागि आवश्यक कुराहरू र अपनाउन पर्ने सुरक्षित उपायहरूका बारेमा अभिभावक र शिक्षकहरूले किशोरावस्थाको सुरुवातबाट नै सिकाउनु पर्दछ ।
    • कस्तो कस्तो अवस्थालाई सुरक्षित र असुरक्षित यौनसम्पर्क भनिन्छ भन्ने जानकारी दिएर मात्रै पुग्दैन बरु असुरक्षित यौन सम्पर्कबाट हुने जटिलताका बारेमा पनि उनीहरू आफैले विश्लेषण गर्न सक्नेगरी  ज्ञानमा अभिबृद्धि गर्दै लैजानुपर्छ । त्यसको लागि उनीहरूसँग खुलेर प्रभावकारी तरिकाले छलफल चलाउनु पर्छ ।
    •  किशोरकिशोरीहरूलाई यौनिकता शिक्षाका केही पक्षहरू (माया, प्रेम, सम्बन्ध र यौन व्यवहार) का बारेमा ज्ञानको साथै जीवनोपयोगी सीप अपनाउन वा असहज परिस्थितिमा  उपयुक्त निर्णय लीन सक्ने सीपको विकास गराउन आवश्यक हुन्छ । यस्तो भएमा उनीहरूको आत्मविश्वास बढ्नुका साथै आफ्नो अनुशासन र अरू प्रतिको व्यवहारमा सकारात्मक सम्बन्ध बन्दछ । त्यस्तै, साथी बीचको समस्यामा वा सहजीकरणमा मध्यस्थता गर्ने क्षमताको पनि विकास हुन्छ ।
    • यौन तथा यौनिकताका सम्बन्धमा प्रभावकारी सञ्चार सीपको विकास गराउँदा उनीहरूले कुनैपनि असहज अवस्थामा उपयुक्त स्रोत पहिचान गरी अरूको सहयोग लिने उपयुक्त तरिकाहरू अपनाउन सक्दछन् ।
    • प्रभावकारी सञ्चार सीपको विकासले गर्दा साथी वा परिवारका कुन कुन र कस्ता कस्ता कुरा व्यक्तिगत रूपमा गोपनीयता कायम गर्ने भन्ने कुराको ज्ञान पाउँछन् । अरुको व्यक्तिको गोपनीयता पनि आफ्नो जत्तिकै महत्वपूर्ण हुन्छ भन्ने भावनाको विकास हुन्छ किन कि यो पनि यौन तथा प्रजनन अधिकार हो भन्ने कुराको महसुस हुन्छ ।

    (तपाइलाई लागेको यौन जिज्ञासा र सुझाब यो लिङ्क https://bit.ly/2GJxXSv मा गएर पठाउन सक्नुहुनेछ।)

    तपाइको मत
  • भिडियो सामाग्री