यौनिक डेस्क /
बाल अधिकार यौन तथा प्रजनन अधिकार भन्दा अलग जस्तो लागेपनि यो विषय यौन तथा प्रजनन अधिकारसँग पनि जोडिएर आएको हुन्छ । किशोरकिशोरीहरूको सम्बन्धमा सबै भन्दा प्रमुख मुद्दामा लिङ्गको आधारमा हुने हिंसा तथा विभेद, आफ्नो केटासाथी वा केटीसाथी बनाउन र विवाह पूर्वको यौन सम्बन्ध राख्न प्रतिबन्ध लगायतका विषयहरू यस अन्तर्गत पर्दछन् ।
प्राय अभिभावकहरू आफ्ना बालबालिकाहरूलाई फलामे अनुशासनमा राख्न चाहन्छन् । यसको आशय छोराछोरीहरू नबिग्रिउन भन्ने नै हो । अधिकांश अभिभावकको बुझाई अनुसार जति बेलापनि पढिरहनु, लागु औषधको प्रयोग गर्न बाट बचाउनु. सामाजिक अपराधमा लाग्नुबाट बचाउनु र विवाह पूर्वको यौन सम्बन्धबाट टाढा राख्नु जस्ता व्यवहारलाई नै प्रमुख रूपमा लिएका हुन्छन् । यी कुराहरूबाट बचाउन के फलामे अनुशासनले सम्भव छ ?
किशोरावस्थामा प्रवेश गरेसँगै अभिभावकहरूले छोराछोरीहरूको यौनिकता प्रति निगरानी बढाउन थाल्छन् । उनीहरूलाई आफ्ना यौनिकताको प्रस्तुतिहरू, यौन जिज्ञासाहरू र यौनिक सम्बन्धहरू लुकाउन बाध्य बनाइन्छ जसको कारण यौन कुण्ठाको विकास हुनेहुनाले यौन र यौनिकताका बारेमा गलत सूचना पाउने र जोखिम किसिमका यौन व्यवहारहरू अपनाउन सक्ने सम्भावना हुन्छ । विवाहको उमेर भएको महसुस गर्दा अभिभावकहरूको निगरानी धेरै बढेको हुन्छ र छोरीको सम्बन्धमा त त्यस्ता धेरै कुराहरूबाट वर्जित गरिएको हुन्छ जुन यौनिकता/सुन्दरतासँग सम्बन्धित हुन्छ । किशोरकिशोरीहरूको अभिभावकले लगाएका नियम र नियन्त्रणलाई फलामे अनुशासनका रूपमा लिएका हुन्छन् ।
अध्ययनहरूले बताए अनुसार फलामे अनुशासनमा हुर्किएका बालबालिका तथा किशोरकिशोरीहरूले जीवनको लामो समय तनावमा बिताउन परेको हुँदा उनीहरूको सोचमा नजानिदो गरी नकारात्मक वा प्रतिशोधको भावना विकास भइरहेको हुन्छ । यसको परिणाम स्वरूप उनीहरूको बौद्धिक क्षमतामा पनि अवरोध पर्ने हुँदा त्यसको प्रभाव बाँकी जीवन भरी रहिरहन्छ ।
अनुसन्धानहरूले बताए अनुसार फलामे अनुशासनमा हुर्केका बालबालिकाले अभिभावकको मायाको अनुभूति गरेका हुँदैनन् र फलामे अनुशासनकै कारण सधैँ तनावमा हुने अधिकांश किशोरकिशोरीहरू लागु औषध सेवनको लतमा लागेको पाइन्छन् । ती मध्येका प्राय सबै किशोरकिशोरीहरू सामाजिक अपराधमा संलग्न हुनुका साथै जोखिमपूर्ण यौन सम्बन्ध राखेका हुन्छ ।
अनुशासनको नाममा समाजले परम्परागत मान्यताहरू चालाइरहेका छन् । जसले उनीहरूको क्षमता विकासमा अवरोध गरेको हुन्छ । जस मध्ये बच्चाहरूमा ‘घरका कोही न कोहीदेखि डर भएन भने तह लाग्दैनन्‘ भन्ने मान्यतामा विश्वास गर्ने अभिभावकहरूको सङ्ख्या सबै भन्दा धेरै छ । अध्ययनहरूले बताए अनुसार अनुशासनको नाममा विद्यालयमा शिक्षकहरू र घरमा अभिभावकको एकाधिकार हुनाले त्यसबाट छुटकारा पाउने प्रयास बालबालिकाहरूले जहिले पनि गरिरहेका हुन्छन् । जसको कारण उनीहरूले पाएको माया प्रति कुनै चासो राख्दैनन् बरु क्रमशः ढाँट्ने र झुक्काउने बानीको विकास हुँदै गएको हुन्छ । मानसिक दबाबमा हुर्केका बालबालिकाहरूको जति मात्रामा बौद्धिक तथा विश्लेषणात्मक क्षमताको विकास हुनुपर्ने हो, त्यसमा कमी आएको हुन्छ । त्यसको नकारात्मक प्रभावले गर्दा उनीहरूको जीवनोपयोगी सीप विकासमा समेत असर पर्न जाने हुँदा यौनिकता सम्बन्धी समस्याहरू पनि झेल्न पर्ने सम्भावना हुनसक्छ ।
विज्ञहरूका सुझाव अनुसार अभिभावकहरूको माया र निरन्तर सकारात्मक प्रेरणाले नै बालबालिकाहरूले असल काम गर्ने बानीको विकास हुँदैजान्छ । त्यसैगरी उनीहरूलाई आफैँ प्रति उत्तरदायी बन्ने अभ्यस्त गराउन अभिभावकले घरमा बनाएको मैत्रीपूर्ण वातावरणले मद्दत पुर्याएको हुन्छ । जस्तैः डेटिङ् जाने उमेर हुँदैगर्दा त्यस सम्बन्धी जानकारीहरू गराउने । डेटिङमा हुनसक्ने दुर्घटना, साथीबाट हुन सक्ने असुरक्षाको अवस्था आदिका बारेमा बताउने तर डेटिङ् बारे नकारात्मक कुरा गरेर छोराछोरोलाई पहिल्यै देखि अभिभावकको डरमा राखेर नियन्त्रण गर्दा उनीहरू लुकेर र झुक्काएर डेटिङ् जानेहुँदा त्यस्तो डेटिङ् चाहिँ असुरक्षित हुनसक्छ ।
विज्ञहरूका अनुसार मैत्रीपूर्ण पारिवारिक वातावरणमा हुर्किएका बालबालिका युवा अवस्थामा पुग्दा स्वाभाविक रूपमा अभिभावक तथा परिवार र समाज प्रति पूर्ण उत्तरदायी बन्दै गएका हुन्छन् ।
(तपाइलाई लागेको यौन जिज्ञासा र सुझाब यो लिङ्क https://bit.ly/2GJxXSv मा गएर पठाउन सक्नुहुनेछ।)