रामकृष्ण पराजुली/
बृहत् यौनिकता शिक्षाको अवधारणामा शुरु मै उल्लेख गरिएको छ कि यो पाठ्यक्रममा आधारित शिक्षा हो । यो निकै लामो समयसम्मको अध्ययन र तथ्य तथ्याङ्कमा आधारित भएर बनाइएको अवधारणा हो । त्यसैले यस विषयमा शिक्षकहरूको शिक्षण क्षमतामा विकास गर्न विशेष किसिमको तालिम तथा अन्य माध्यमहरू छनौट गरि कार्यान्वयन गर्नु यसको मुख्य कामको प्राथमिकतामा पर्छ ।
बृहत् यौनिकता शिक्षालाई मुख्यगरी किशोरकिशोरीहरूको संज्ञानात्मक (Cognitive) संवेग, शारीरिक र सामाजिक गरी चारवटा पक्षहरूमा समेटिएको छ । यौनिकता शिक्षाको मूल उद्देश्य नै किशोरकिशोरीहरूले आफ्नो स्वास्थ्य अवस्थाको महसुस गर्नसक्नु, ती अवस्थाहरूको व्यवस्थापन बारेमा जानकारी पाएर सहज उपचार तथा अन्य सेवाहरू पाउनु र उनीहरूको वयस्क सरह व्यक्तित्व बढाउन सहयोग पुग्ने ज्ञान, सीप र व्यवहारमा सशक्तिकरण गराउनु हो । यो उद्देश्य प्राप्तिसँगै किशोरकिशोरीहरूको आत्मा सम्मान, सामाजिक तथा सुरक्षित यौनिक जीवन अपनाउनका लागि आफूलाई उचित लागेको कुराहरूको छनौट गर्न सक्ने हुनेछन् । यसका साथै अरूको भनाइ वा प्रस्तुती प्रति पनि सकारात्मक भएर सोच्ने र सकारात्मक धारमा जीवन पर्यन्त मानव अधिकारको संरक्षण गर्न सक्षम बनाउनु सकिने माथि उल्लेखित उद्देश्यहरूबाट अपेक्षा राखेको छ ।
किन अभिभावकको लागि बृहत् यौनिकता शिक्षा ?
बृहत् यौनिकता शिक्षा पाठ्यक्रममा आधारित भनिए तापनि यसलाई अनौपचारिक क्षेत्रमा पनि अपनाउन सकिने यसको प्रावधानमा उल्लेख छ । यस कारण अनौपचारिक क्षेत्रहरूमा विद्यालय बाहिर बाल समूहहरू, युवा क्लबहरू जस्तै अभिभावक शिक्षामा पनि यौनिकता शिक्षा समाहित गराउन आवश्यक छ र सम्भव पनि छ । किनकी आफ्ना छोराछोरीहरूमा अपनाइने बृहत् यौनिकता शिक्षा कस्तो हुनु आवश्यक छ भनी अभिभावकले पनि बुझ्न जरुरी छ ।
बालबालिकाहरू विद्यालयमा भन्दा धेरै समय घरमा र त्यसभन्दा कम छरछिमेक (समाज) मा हुन्छन् र त्यस भन्दा कम विद्यालयमा हुन्छन् । बालबालिकाहरूको जीवन भरीमा धेरैले बुझ्दा विद्यालयबाट ज्ञान पाउँछन् भन्ने छ तर समग्र जीवनकाल र सामाजिक, धार्मिक, आर्थिक, सांस्कृतिकका साथै पारिवारिक वातावरणको कारणले नै बालबालिकाको मनोसामाजिक र बौद्धिक विकास हुन्छ । त्यही अनुसार जीवनोपयोगी सीपको विकास हुँदैगरेको हुन्छ । त्यसैले बालबालिकाले विद्यालय शिक्षा र शिक्षकहरूबाट भन्दा अभिभावकबाट अप्रत्यक्ष रूपमा धेरै नै सिकिरहेका हुन्छन् । त्यही हुनाले शिक्षकलाई जत्तिकै अभिभावकहरूका लागि पनि किशीरकिशोरीहरूको उमेरमा अनुसार जीवनोपयोगी सीप तथा यौनिकता शिक्षामा अभिमुखीकरण गर्न आवश्यक छ । जीवनोपयोगी सीपमा आधारित यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका साथै संस्कारका नाममा गलत तथा हानी पुर्याउने सोच र व्यवहार परिवर्तनका मुद्दाहरू अभिभावक शिक्षाका मुख्य विषय बनाउनु पर्छ । किनकी, विद्यालयमा सिकाइने यस विषयका ज्ञान तथा सीप र घरमा अभिभावकको सोच तथा व्यवहारमा फरक हुँदा बालबालिकाहरू अलमलमा पर्छन् । अलमलले सिकाइमा प्रतिकूल असर पर्नजान्छ ।
कसले गर्न सक्छ ?
बृहत् यौनिकता शिक्षा सम्बन्धी सूचना तथा व्यवहार परिवर्तनका लागि नीतिगत योजना बनाउन सके मात्र दिगो र संस्थागत हुनसक्छ । यस कार्यमा बालबालिकासँग प्रत्यक्ष रूपमा सम्बन्ध हुने व्यक्ति/सरोकारवाला तथा निकायहरू संलग्न हुनु अनिवार्य हुन्छ ।
स्थानीय सरकारः बालबालिका तथा किशोरकिशोरीहरूको लागि प्रस्तावित बृहत् यौनिकता शिक्षा संघीय सरकारको शिक्षा मन्त्रालय मार्फत प्रस्तुत भएको भएतापनि यसको पहिलो आधिकारिक निकाय स्थानीय सरकार नै हुन्छ । किनकी जनताको प्रत्यक्ष सम्बन्ध स्थानीय सरकारका प्रतिनिधिहरू तथा विभिन्न सेवा निकायहरूसँग हुन्छ । स्थानीय सरकारको सेवा निकायहरूमा पनि प्रमुख सम्बन्ध शिक्षा, महिला तथा बालबालिका, न्याय तथा सुरक्षा र स्वास्थ्य पर्दछन् । योजना बनाउन, अनुगमन गर्न र स्रोत व्यवस्थापनमा यी निकायहरूको मुख्य भूमिका रहन्छ । यसको लागि स्थानीय सरकारले नीतिगत अनुकूल हुने गरि कार्यान्वयन गर्नका लागि संरचना/संगठन बनाइ कार्यविधि तय गर्न पनि सक्छन् जस अनुसार सम्बन्धित विद्यालय मार्फत अभिभावकहरूको सशक्तिकरण प्रत्यक्ष रूपमा गर्न सक्छन् । त्यस्ता कार्यविधिहरूमा विद्यालयलाई स्रोत केन्द्र बनाएर अभिभावकहरूको लागि बृहत् यौनिकता शिक्षाको बारेमा अभिमुखीकरण गर्ने पनि एउटा मुख्य विषय हुनसक्छ । कक्षा अनुसारका विद्यार्थीहरूका अभिभावकहरूलाई पढाइका जानकारीहरूको साथै उमेर समूह अनुसार परिवारले बालबालिकालाई दिइने यौनिकता शिक्षाका ज्ञान र अपनाउने व्यवहार सम्बन्धी स्थानीय सरकारले सन्दर्भ सामाग्री निर्माण गर्ने र अभिमुखीकरण गर्ने निर्देशिका निर्धारण गर्न सक्छ र त्यसको अनुगमन गर्न सक्छ । स्थानीय सरकारले नै बनाउने यस्ता कार्यविधि तथा निर्देशिका अनुसार आफ्नो नीति तथा कार्यक्रममा नियमित समावेश भइरहने छ । यो नै दिगो हुनसक्छ ।
विद्यालयः हाम्रा सार्वजनिक तथा सामुदायिक विद्यालयहरूमा अभिभावकको उपस्थिति विद्यालयले गरेको निमन्त्रणा भन्दा बाहेक अन्य समयमा प्राय हुँदैन । विद्यालय भनेको विद्यार्थी र शिक्षक/तथा कर्मचारीहरूको मात्र हो भन्ने आम बुझाइ हुनाले यस्तो भएको कुराहरू शिक्षकहरूले पनि बताएका छन् । धनगढी स्थित पञ्चोदय माध्यमिक विद्यालयका शिक्षक हृदय पुजारा पनि यस कुरामा सहमति जनाउँदै भन्नुहुन्छ “ विद्यार्थीको शैक्षिक विकास र विद्यालयलाई बालमैत्री बनाउने जिम्मेवारी शिक्षक र विद्यालय व्यवस्थापन समितिको मात्रै हो भन्ने बुझाइ भएको हुँदा समितिमा भएका भन्दा बाहेक अधिकांश अभिभावकहरू विद्यालय भेटघाटमा आउने गरेको पाइँदैन । आफ्ना बच्चाहरूका शैक्षिक तथा व्यवहारिक ज्ञान तथा सीप विकासका बारेमा सोधखोज गर्ने र लेखाजोखा गर्ने अभिभावक निकै कम छन् ।”
यस्तै सोचाइका कारणले आफ्नो छोराछोरीले कुन कक्षामा के के पढेका हुन्छन् र कस्तो पढेका छन् सो जानकारी पाएका हुँदैनन् जब की यस्तो जानकारी अभिभावकलाई हुन अति आवश्यक छ । शिक्षक, अभिभावक र विद्यार्थी बीचको सम्बन्ध कार्यमूलक र नजिक बनाउने र समन्वय गराउने काम अभिभावक शिक्षक संघको हुनेछ । यस कार्यले विद्यार्थीको शैक्षिक तथा अन्य जीवनोपयोगी सीपको विकासमा अभिभावकहरू प्रति पनि दायित्व बाँडिन्छ ।
अभिभावक शिक्षक संघले बालबालिका तथा किशोरकिशोरीहरूको शैक्षिक विकासका कामका साथै उनीहरूको सुरक्षित तथा बृहत् यौनिकताको बारेमा पनि छलफल चलाउन सहज हुन्छ । यौनिकताको बारेमा हाम्रो समाजमा सकारात्मक धारणा छैन । त्यसैले अभिभावकहरू आफ्ना छोराछोरीको यौनिकताको सम्बन्धमा त अझै बढि संवेदनशील हुनेगर्छन् । छोरी बिग्रने आशंकाले अनावश्यक नियन्त्रण गरिरहेका हुन्छन् । छोराछोरीको यौनिकताको बारेमा सही बुझाइ अभिभावकमा नभएसम्म विद्यालयको एकल प्रयत्नले मात्र बृहत् यौनिकता शिक्षा प्रभावकारी नहुने हुनाले अभिभावकलाई पनि बालबालिकाको यौनिकता शिक्षामा सहभागी गराउन आवश्यक छ । विद्यालयले
अभिभावकका लागि वृहत् यौनिकता शिक्षा सम्बन्धी सूचना तथा जानकारीहरू दिन र व्यवहार परिवर्तनका लागि परिवार भित्र सिकाउने र वातावरण बनाउने कार्यहरू तथा विधिहरूमा बारेमा विद्यालयहरूमा अभिभावक शिक्षक संघले सहजीकरण गर्न सक्छ । त्यसको प्रभाव र लाभ अन्ततः विद्यालयलाई पनि हो ।
परिवारमा व्यवस्थापनः यौनिकताको सम्बन्धमा बालबालिका प्रति अभिभावकको र अभिभावक प्रति बालबालिकाको अपेक्षाहरू हुन्छन् र ती अपेक्षाहरू एक आपसमा अस्वीकृत किसिमका हुन्छन् । खास गरी ती असमान तथा अस्वीकृत अपेक्षाहरू भनेको छोराछोरीको स्वतन्त्रता सम्बन्धी हुन्छ जसमा यौनिकताका मुद्दाहरू हुन्छन् । त्यसकारण अभिभावक र बालबालिका बीचको अपेक्षा बुझ्न र बुझाउन अभिभावक शिक्षामा बालबालिकाको यौनिकताको बारेमा स्पष्ट जानकारी हुनु आवश्यक छ तब मात्र अपेक्षाहरूको विपक्षमा कम मतभेद हुनसक्छ ।
अभिभावकहरूले बालबालिकाहरूलाई घरमा नै यौनिकता र सुरक्षित यौन जीवनको शिक्षा दिन सक्षम बनाउन अभिभावक शिक्षक संघले नै अभिमुखीकरण गराउन आवश्यक हुन्छ । किनकी हाम्रो समाजमा छोराछोरीको यौनिकताको व्यवस्थापन र व्यवहारका कारण सही जानकारी नहुनाले र यौन सम्बन्धी गलत धारणाको प्रचार व्यापक हुनेहुनाले उमेर अनुसारको बालबालिकाको यौनिकताको बारेमा अभिभावकहरूलाई पहिला जानकारी हुनुपर्छ किनकी बालबालिकामा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा घरका परिवारको प्रभाव परेको हुन्छ र विशेषगरी अधिकांश परिवारमा छोरालाई बाको र छोरीलाई आमाको प्रभाव परेको हुन्छ । सुरक्षित यौनिकताको लागि उनीहरूको जीवनोपयोगी सीपको विकास गर्न छोराछोरीहरू प्रतिको अभिभावकको व्यवहार परिवर्तन गर्नु आवश्यक छ । यसको लागि विद्यालयको अभिभावक शिक्षक संघले नै अभिमुखीकरणको व्यवस्था र समन्वय गर्नुपर्छ र यो आधिकारिक निकाय हो ।
(तपाइलाई लागेको यौन जिज्ञासा र सुझाब यो लिङ्क https://bit.ly/2GJxXSv मा गएर पठाउन सक्नुहुनेछ।)