• २०८१ बैशाख १३, बिहिबार
  • |
  • Thursday 25th April 2024
  • किन गर्भवती जाँच?

    ८ आश्विन २०७७, बिहीबार १०:१४

    -यौनिक डेष्क /

    सम्भावित मृत्युबाट आमा र बच्चालाई बचाउन गर्भवती महिलाले आफ्नो गर्भको ४ पटक स्वास्थ्य जाँच गराउनुपर्दछ । संसारभरी नै यहि गरिन्छ । यसका लागि सबै देशका सरकारहरूले एकै किसिमको नीति निर्धारण गरेर एकै किसिमको सेवा दिनेगरेको छ ।

    पहिलो पटकको जाँच – गर्भ रहेदेखि ४ महिना भित्रमा,

    दोस्रो पटकको जाँच – ४ देखि ६ महिनाभित्रमा,

    तेस्रो पटकको जाँच –  ६ देखि ८ महिनाभित्रमा

    चौथो पटकको चाँच – ८ देखि ९ महिनाभित्रमा

    किन यो नीति लागु गरिएको ?

    सुक्षित मातृत्वको लागि हो । विशेष गरी कम विकासित देशहरूका जनताहरुमा स्वास्थ्य चेतना धेरै कम भएको कारण विभिन्न स्वास्थ्य समस्याहरूमा परेका मध्ये शिशु तथा मातृमृत्यु पनि एक ठूलो समस्या भएको हुँदा यसलाई न्युनिकरण गर्नका लागि एकै किसिमको नीति ल्याइएको हो । यस नीति ल्याएपछि मातृ तथा शिशु मृत्युमा न्युनिकरण हुदै आएको छ तर जति अपेक्षा गरिएको हो त्यो अझै पनि हुन सकेको छैन । नेपालमा गत सालको नेपाल सरकारको स्वास्थ्य प्रतिवेदको  तथ्याङ्क हेर्दा ३१ प्रतिशत गर्भवतीहरू कोहि जचाउँनै गएनन र कोहि छुटेको देखिन्छ । उनीहरू जोखिममा हुने सम्भावना छ । जचाउँन आउनेहरू मध्येपनि १ सयमा ८४ जनाले मात्र चार पटक नै बोलाएको ठीक ठीक समयमा जचाँउन स्वाथ्य संस्थामा गएको देखिन्छ । बाँकि ती १६ जनाले लापार्वाही गरे । स्वास्थ्य संस्थामा सुत्केरी गराउन जानेहरू १ सय जनामा ८१ जनाको राम्रोसँग बच्चा जन्मिएको र ९ जनालाई डाक्टर र नर्सहरूले विशेष प्रयास गरेर जन्माउन परेको,  ९ जनाको गर्भ खेर गएको र १ जनाको गर्भमा नै मृत्यु भएको सोही प्रतिवेदनको तथ्याङ्कले बताएको पाइन्छ । यदि स्वास्थ्य संस्थामा बच्चा जन्माउन नगएको भए ती ९ जना गर्भवतीहरू बच्चा जन्माउन नसकेर सम्भवतः ज्यान जान पनि सक्थ्यो ।

    अस्पताल वा स्वास्थ्य संस्थामा गरिने पटके गर्भजाँचमा के के गरिन्छ त ?

    पहिलो पटक गर्भावस्थाको पहिलो पटकको स्वास्थ्य जाँचमा तौल लिने र रक्तचाप जाँच गरिन्छ ।  स्वास्थ्यकर्मीले शरिरको अरु किसिमको पनि आवश्यक स्वास्थ्य जाँच गर्दछन् । कुनै किसिमको स्वास्थ्यसम्बन्धी समस्या भए नभएको हेर्न गर्भवतीको रगतको नमुना र पिसावको नमूनाको पनि जाँच गरिन्छ । स्वास्थ्यकर्मीले आवश्यकता अनुसार उपचार गर्नुका साथै  फोलिक एसिड र आइरन चक्की दिएर पठाउँछन् । बढ्दो शिशुको वृद्धि र विकासमा विशेष रूपले महत्वपूर्ण हुनेहुनाले फोलिक एसिड, फलाम तत्व र क्याल्सियम जस्ता खनिज र उपयोगी तत्वहरू पनि दिन्छन । स्वास्थ्यकर्मीले आमा र शिशुलाई धनुष्टङ्कार हुनबाट बचाउन टिटानस टी.टी. खोप दिन्छन् । पहिलो पटको जाँचमा स्वास्थ्यकर्मीहरूले गर्भको बारेमा के कस्तो मनमा लागेको छ भनि सोध पुछ गर्छन । यदि गरेनन भनेपनि आफुलाई लागेको शंकालागेका, समस्या भएमा वा कुनै जिज्ञासा भएमा स्वास्थ्यकर्मीसँगको पहिलो भेटमा नै खुलेर कुरा गर्नुपर्छ । यसको लागि स्वास्थ्य संस्थामा जाँदाजाँदै के के कुरा सोध्ने भनेर मनमा त्यसको बारेमा सूची तयार गर्नु राम्रो हुन्छ ।

    दोस्रो पटक –  दोस्रो पटकमा पनि पहिलो पटकको जस्तै हुन्छ । यस पटक पनि गर्भवतीको तौल लिने र रक्तचाप जाँच गरिन्छ । स्वास्थ्यकर्मीले गर्भमा हुर्कँदै गरेको बच्चाको वृद्धिविकासबारे जानकारी लिने गर्दछन् ।

    स्वास्थ्यकर्मीहरूले यन्त्रको सहायताले बच्चाको मुटुको चाल अथवा धड्कन पनि जाँच्न सक्दछन् । साथै गर्भवतीको हात खुट्टा सुन्निएका छन् कि भनेर पनि हेर्छन् । स्वास्थ्यकर्मीले यस पटक पनि पिसाब जाँच गर्न सक्छन् । आफ्नो गर्भावस्था र गर्भमा हुर्कँदै गरेको शिशुका सम्बन्धमा कुनै जिज्ञासाहरू भएमा स्वास्थ्यकर्मीलाई सोध्नुपर्दछ । जसले गर्दा त्यसका बारेमा भरमहरू रहदैन । दोस्रो पटक पनि टी.टी. खोप लगाइदिन्छन् ।

    तेस्रो र चौथो पटक पहिलो र दोस्रोपटकमा जस्तै तेस्रो र चौथो पटक पनि गर्भवतीको तौल, रक्तचाप जाँच गर्छन् र शिशुको मुटुको धड्कन पनि सुन्छन् । उनीहरूले पाठेघरमा बच्चाको स्थिति, अवस्थिति र बच्चाको आकारको पनि जाँच गर्दछन् ।

    यस बाहेक तेस्रो वा चौथो पटकमा थप उपचार वा सेवाको आवश्यकता परेमा र गर्भ सम्बन्धी अन्य जटिल स्वास्थ्य समस्या देखा परेमा कुनैपनि बेला उपचार वा परामर्श सेवाको लागि विशेषज्ञ वा अन्य स्वास्थ्य कर्मीहरूसँग भेटी सेवा लिन सकिछ र त्यसको लागि परामर्श सहयोग गरिन्छ ।

    स्वास्थ्यकर्मीहरूसँग व्यथा लागेको लक्षण र चिन्हहरूको बारेमा सोध्ने बेला पनि यही हो र यसले आफू र आफ्नो परिवारलाई बच्चा जन्मने व्यथा कुन बेलामा सुरु हुँदै छ र कति बेला सुत्केरी भइन्छ भन्ने कुरा बुझ्न सजिलो हुन्छ । सुत्केरी हुने व्यथा लाग्नु भनेको पाठेघर खुम्चिने प्रक्रिया सुरु हुनु हो । चौथो पटकको जाँच गर्न जाँदा स्वास्थ्यकर्मीसँग जन्म तयारी छलफल गर्नुपर्दछ ।

    (तपाइलाई लागेको यौन जिज्ञासा र सुझाब यो लिङ्क https://bit.ly/2GJxXSv मा गएर पठाउन सक्नुहुनेछ।)

    तपाइको मत
  • भिडियो सामाग्री